शत्रु सेनालाई रुवाउँदै सास छाड्ने शासक

शत्रु सेनालाई रुवाउँदै सास छाड्ने शासक

सन् २००३ डिसेम्बर । बग्दादभन्दा १ सय ४० किमि टाढा उत्तर–पश्चिमको शहर टिक्रिट । त्यहाँबाट २१ किमि नजिकको एउटा सानोनगर ‘अड दावर’ । कृषिमा निर्भर यहाँ विशेषतः चार जनजाति बस्छन् । त्यसबेलासम्म अमेरिकी सेनाले त्यहाँ ‘अपरेशन रेड डन’ चलाइसकेको थियो । अपरेशन कमाण्डर जर्नेल केविन ओलाण्ड र उनको टोली गोप्य सूचनाका आधारमा डिसेम्बर ७ को दिन त्यो नगर पुगे । डिसेम्बर १३ को राति साढे ८ बजे एउटा फार्म हाउसलाई ६ हजार सैनिकले घेरे । एक टुकडी भित्र पस्यो । फार्महाउसमा केही फेला पार्न सकेनन् । नजिकै एउटा छाप्रोबाहिर जुठो भाँडाकुँडा थियो । भित्र कोही थिएनन् । पछिल्तिर रूखका पातलाई बालुवाले छोपिराखेको देखे । नजिकै एउटा सानो पोलिथिनको पाइप जमिनबाट बाहिर निस्केको भेटियो । शंका लागेर बालुवा र पातहरू पन्छाउन थाले । पातमुनि इँटाको एक लेयर सोलिङ थियो । इँटा उप्काउँदै जाँदा भित्र एउटा खाल्डो भेटियो । 

खाल्डोमा सानो ग्रेनेड फ्याँक्दा भित्रबाट एउटा आवाज निस्कियो । भित्र लुकी बसेका व्यक्ति अरबी भाषा बोल्दै थिए । सानो प्वालमा सैनिक जवानले हात छिराउँदा टाउको भेटियो । झ्यापुल्ले कपाल पालेका एक जना वृद्ध ती व्यक्तिलाई कपाल समातेर बाहिरतर्फ ताने । ती अरु कोही नभएर इराकमा २३ वर्ष अनवरत शासन गरेका सद्दाम हुसैन थिए । अनुहार आधा छोपिने गरी दाह्री र जुँगा बढिसकेका उनको हातमा एउटा बन्दुक पनि थियो । बाहिर निकाल्नेबित्तिकै उनीसित भएको बन्दुक खोसियो । सद्दामले अमेरिकी सैनिकलाई भने– ‘म इराकी राष्ट्रपति सद्दाम हुसैन हुँ, अमेरिकासित वार्ता गर्न तयार छु ।’ सद्दामलाई यो स्थितिमा देखेका सैनिकहरू एकार्कालाई हेर्दै हाँसे अनि कमाण्डरले हाँस्दै भने, ‘हाम्रा राष्ट्रपति जर्ज बुसको अभिवादन स्विकार्नुस् ।’

आमविनाशकारी हतियार उत्पादक कारखाना रहेको आशंकाकै भरमा अमेरिकाले सैन्य आक्रमण गरी राजधानी बग्दादमाथि नियन्त्रण जमाएपछि सद्दाम त्यहाँबाट भागेका थिए । कहिले कता, कहिले कता लुक्दै हिँड्ने क्रममा अन्तिममा उक्त खाल्डोमा बस्न पुगेको २ सय ३५ दिनपछि बल्ल अमेरिकी सेनाको हातमा परेका थिए । सद्दामलाई शुरुमा टिक्रिट नजिकको अमेरिकी सेनाको क्याम्प र पछि बग्दाद विमानस्थलस्थित ब्यारेकमा लगियो । उनलाई कस्टडीभित्र ‘कोहीबा’ सिगार पिउन र डायरी लेख्न छुट थियो । सद्दाम त्यहाँ अमेरिकी गायिका मेरी जे. ब्लाइजाको गीत सुनी बस्थे । स्मरणीय छ, सद्दामले कोहीबा सिगार पिउन बानी क्युबाली कम्युनिष्ट नेता फिडेल क्यास्त्रोबाट सिकेका थिए । सद्दामले कैदी जीवन आनन्दपूर्वक बिताए । सुरक्षाकर्मीलाई साथी बनाए । एकदिन उनको सुरक्षार्थ तैनाथ एक जना सैनिकले आफ्नो दाजु मरेको खबर सुनाए । यो सुनेर सद्दामले अंगालो मार्दै भने ‘आजदेखि मलाई दाजु मान ।’ यति मात्र होइन उनले अर्को एक जना सैनिकलाई भने, ‘यदि मलाई मेरो धनसम्पत्ति चलाउने अनुमति दिइने हो भने म तिम्रो छोराको कलेजको सम्पूर्ण खर्च व्यहोर्न तयार हुने थिएँ ।’

एकरात सबैले सैनिक जवान डासन नाप नमिलेको लुगा लगाएर घुमिराखेको देखे र उनलाई देखेर सबै हाँस्न थाले । पछि थाहा पाइयो कि उनलाई उक्त सुट सद्दामले उपहार दिएका रहेछन् । सबै सैनिकलाई कडा निर्देशन दिइएको थियो कि सद्दामसित हेलमेल नगर्नू । यसको बावजुद सैनिकहरू उनको मित्र बने । सद्दामविरुद्ध ६ महिनापछि मात्र मुद्दा दायर भयो । सद्दाम अपदस्थ भएपछि अमेरिकी योजनाअन्तर्गत बनेको अन्तरिम सरकारले मानवताविरोधी अपराध गरेको आरोपमा मुद्दा चलायो । एक सातापछि अन्य आरोप पनि थपियो । मुद्दा चलाइएपछि जेलमा राखियो । त्यहाँ पनि सुरक्षाकर्मीहरू उनको साथी बन्न लालायित भए । एकदिन उनीहरूले सद्दामलाई सरप्राइज दिने सोच बनाए । स्टोरबाट एउटा काठको पुरानो कुर्सी निकाले र त्यसमा इराकी झण्डा फहराए । उनीहरू चाहन्थे– सद्दामको कार्यालयजस्तो देखियोस् । सद्दामलाई उक्त कक्षमा ल्याइयो । कुर्सीमा धुलो जमेको थियो, अतः एकजना सैनिकले धुलो पुछेजस्तो गरे । सद्दामले उनको यो संकेतलाई मन पराए र कुर्सीमा बसी मस्तले हाँसे । त्यसपछिका दिनमा उनी एकछिन भए पनि दिनहुँ उक्त कुर्सीमा गई बस्थे । सैनिकहरू भने सामुन्नेको कुर्सीमा बस्थे । सेनाको उद्देश्य उनी प्रसन्न बनुन् भन्ने थियो, त्यसैले सबै जना हाँसोठट्टा गर्थे । सद्दाम पनि उनीहरूको परिवारबारे सोधिरहन्थे । सबैको खुशीको निम्ति अल्लाहसित प्रार्थना गर्थे । अदालतमा जतिपटक उपस्थित गराइयो, हरेकपटक अमेरिकाको विरोध गर्न छाडेनन् । 

र, २९ महिना लामो अदालती कारबाहीपश्चात् सन् २००६ को नोभेम्बरमा उनलाई दोषी ठह¥याई झुण्ड्याएर मार्ने सजायँ सुनाइयो । सद्दाम चाहन्थे कि गोली हानेर मारियोस् तर यो कुराको सुनुवाइ भएन र सन् २००६ डिसेम्बर ३० को बिहान साढे ३ बजे नै उठाएर फाँसी दिन लान लागिएको बताइयो । यो सुनेर सद्दाम प्रशन्न भए । चुपचाप नुहाए र फाँसीमा झुण्डिन तयार भएर सैनिकसँग चौरमा पुगे । फाँसीमा चढाउनुअगाडि सोधियो पश्चाताप र डर लागिरहेको छ कि छैन ? जवाफमा उनले भने– एकजना लडाकू हुँ, त्यसैले मलाई कुनै डर छैन । मैले सम्पूर्ण जीवन जिहादका लागि  आक्रमणकारीसित लडेर बिताएको छु । जसले यो मार्ग समाउँछ उसले कहिल्यै कोहीसँग डर मान्दैन । 

उनलाई खादिमियास्थित सैन्य आधार इलाका क्याम्प जस्टिसमा फाँसी दिइयो, त्यसदिन मुस्लिमको पर्व इद अल अदाको पहिलो दिन थियो । सद्दामलाई फाँसीमा झुन्ड्याउँदा १ दर्जन अमेरिकी सैनिक रोएका थिए । ती सैनिक जो हरसमय उनको सुरक्षार्थ तैनाथ थिए । तिनीहरूमध्येका एडम रोजेसनले आफ्ना कमाण्डर बिल बार्डेनवर्परलाई भनेलगत्तै हामीले उनीप्रति गद्दारी ग¥यौँ । हामी उनका हत्यारा हौँ । हामीले यस्तो व्यक्तिलाई मा¥यौँ जो हाम्रो निकट थिए । अर्को एक जना सैनिक स्टिभवैजन्सनले त सैनिक जीवन नै त्यागे । उनी सद्दामको शव बाहिर लाँदा भेला भएका जनसमूहले लाशमाथि थुकेर दुव्र्यवहार गर्न खोज्दा तिनीहरूमाथि हात हाल्न तम्सिएका थिए । 

सद्दामलाई फाँसी दिनुअगावै उनका दुई छोरा उदय र कुसय एकैदिन मारिइसकेका थिए । उता, जेठी छोरी राघद हुसैन र माइली राना हुसैन भने भागेर जोर्डनमा राजनीतिक शरण लिन पुगेका थिए । राघदले सैनिक अधिकृत हुसैन कमाल अलमजिद र रानाले सद्दाम कमालसँग बिहे गरेका थिए । हुसैन कमाल र सद्दाम कमाल दुबै दाजुभाइ थिए र सद्दाम हुसैनका नजिकका भाइहरू । राघद र रानालाई इराकी सरकारसमक्ष सुपुर्दगी गर्न जोर्डन सरकारले त्यो बेलादेखि नै अस्वीकार गर्दै आइरहेको छ । सद्दामकी जेठी पत्नी साजिदा तलफ जो दुई छोरा उदय, कुसय, तीन छोरी राघद, राना र हालाको आमा हुन् उनी पनि भागेर जोर्डन नै गइन् । उनी त्यहाँ कान्छी छोरी हालासँग बसिरहेको अनुमान छ । सन् २०१५ मा उनी मरेको खबर फैलिएको थियो तर पछि खण्डन गरियो । यतिखेर राघद ५७, राना ५६ र हाला ५३ वर्षका छन् । सद्दामकी दोश्री पत्नी समिरा शाहबन्दर लेबनानको राजधानी बेरुतमा छिन् । सद्दामको उनी तर्फबाट एक छोरा छन्– अलि सद्दाम हुसैन । उनको अवस्था अज्ञात छ । सद्दामका साजिदा, समिराबाहेक पनि अरु पत्नी छन्– निदाल ए हाम्दानी र वफा मुल्लाह हुवायिस । उनीहरू पनि छिमेकी मुलुकतिरै भागेका थिए तर कहाँ छन् कसैलाई थाहा छैन । सद्दामका छोरी राघद र राना दुबैले सिएनएनसितको अन्तर्वार्तामा सद्दाम एक असल पिता, मायालु र नरम हृदयको भएको बताएका थिए । 

अमेरिकाले इराकमाथि आमबिनाशकारी हतियारको भण्डार भएको बहानामा आक्रमण गरेको थियो तर यो आरोप कहिल्यै पुष्टि गर्न सकेन । यथार्थमा शिक्षण पेशामा लाग्दालाग्दै राजनीति र पछि राष्ट्रपतिसम्म बन्न पुगेका सद्दामले अमेरिकाको नाकमा बस्न पुगेको झिंगाको भूमिका खेल्न पुगेका थिए । अमेरिकाको कट्टर आलोचक र तत्कालीन सोभियतसंघसँग निकटताकै कारण इराक र त्यहाँका राष्ट्रपति उसको निशानामा परेको थियो ।

 

टिप्पणीहरू