सबै सीमा क्षेत्रमा सुरक्षाकर्मीहरू सावधान
हालै भारत–पाकिस्तानबीच बढेको द्वन्द्वले नेपाललाई ठूलो सुरक्षा चिन्ता थपेको छ । भारतले पाकिस्तानी नागरिकलाई देश निकाला गरेपछि उनीहरू सजिलै नेपाल आउन, यहाँ लुकेर बस्न वा शरणार्थी बनेर क्यानाडा या तेस्रो मुलुक जान सजिलो हुने हुँदा खुला सिमानामा निगरानी बढाउनु परेको सुरक्षा प्रमुखहरूको भनाइ छ । पाकिस्तानमा आफ्नो जीविकोपार्जन सहज हुनसक्ने धनी व्यापारी त फर्केर जालान् तर त्यहाँसमेत सहज वातावरण बन्दैन भन्ठान्नेहरू खुला सीमाको लाभ उठाउँदै नेपाल छिर्ने सम्भावना बढेको हो ।
नेपालले सीमा क्षेत्रमा कडाइ गरिसकेको छ । तर भारतमा बसोबास गरिरहेका पाकिस्तानी मुस्लिमहरूसँग आधार कार्ड हुने र त्यस्तो देखाएर सजिलै छिर्न सक्ने अवस्थालाई नेपाली सुरक्षाकर्मीहरू नकार्दैनन् । भन्छन्, ‘भाषा, धर्म र लवजका हिसाबले को भारतीय, को पाकिस्तानी छुट्याउन सकिँदैन । त्यसैले ती यता छिर्दैनन् भन्न सकिन्न ।’ यसै सन्दर्भमा सशस्त्र प्रहरीका अपरेशन डिआईजी कमल गिरीले मेचीदेखि महाकालीसम्मका बिओपीहरूलाई पठाएको परिपत्रमा भनिएको छ– ‘जम्मु काश्मिरमा भएको घटनालाई मध्यनजर गर्दै नेपाल–भारतका सीमा नाकामा दैनिक आवतजावत गर्ने व्यक्तिहरूलाई सीमामा खटिएको ड्युटीले आवतजावत गर्ने व्यक्तिहरूको परिचय खुल्ने आइडी कार्ड चेक जाँच गरेको फोटो, भिडियो र चेक जाँच गरेको व्यक्तिको संख्या तुरुन्त १ घण्टाभित्र निम्न फम्र्याटमा यस बाहिनीको कार्य शाखामा खुलाई पठाउने । महिला सप्रकहरू नभएको स्थानमा महिला सप्रक खटाउने । यदि नखटाइएको अवस्थामा समेत तुरुन्त खटाउने । जुम मिटिङमा भएको आदेशको सही रूपमा पालना गर्ने ।’
अर्को सम्भावना के पनि बढेर गएको छ भने भारतीय नागरिक जो मुस्लिम धर्म मान्छन् र कश्मिरमा बस्दै आएका छन् उनीहरूसमेत उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई आकलन गर्दै नेपाल छिर्न सक्छन् । उनीहरूलाई नेपाल आउन कुनै समस्या छैन । किनकि भारतीय नागरिक नै हुन् । मात्र अप्ठ्यारो के भने त्यहाँ बस्ने मुस्लिमलाई अब अति हिन्दुवादीहरूले गर्ने व्यवहार निकै कडा र सकसपूर्ण हुन सक्छ ।
नेपाललाई अलिकति चिन्ता थपिएको अर्को विषय हो बंगलादेशी नागरिकको आगमन । शेख हसिनाको कार्यकालमा उच्चपदस्थ रहेका र उनीनिकट दलका धेरै कार्यकर्ता अहिले देश छोड्ने तयारीमा छन् । मुद्दा दर्ता हुने र पक्राउ परेर जेल बस्नुपर्ने सम्भावनालाई ध्यानमा राख्दै त्यस्ता मानिस यता छिर्ने सम्भावना देखिँदै छ । कतिपयले लामै समय नेपाल बस्ने र नेपाललाई ट्रान्जिट बनाएर अर्को मुलुकतिर जाने योजना बनाएको सूचनासमेत सुरक्षा निकायलाई प्राप्त भएका छन् । एक उच्च अधिकारीका अनुसार रोहिङ्गयाहरूको चिन्ता यथावत् रहेको अवस्थामा थप बंगलादेशी नागरिकसमेत भित्रिन सक्ने हुनाले त्यसलाई ध्यानमा राख्दै सजगता अपनाउन जरुरी छ । त्यस्ता ५ हजार बंगाली छोटे बडे नेता अहिले भारत सरकारको शरणमा छन् ।
टिप्पणीहरू