निःशुल्क स्वास्थ्य शिविरबाट हजारौं लाभान्वित

मनिष गुप्ता
कृष्णनगर नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय शिवराज अस्पताल, बहादुरगञ्जमा सञ्चालित दुई दिने निःशुल्क मुटु तथा मिर्गौला स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी सेवाग्राहीले विशेषज्ञ सेवा लिएका छन् ।
इन्स्टिच्युट अफ मेडिसिनकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहित चिकित्सकहरुको टोलीले बिरामीहरूको परीक्षण गरेका थिए । टोलीमा मुटु सर्जन डा. अनिल भट्टराई तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन घिमिरे पनि सहभागी थिए ।
शिविरबारे कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले भने, ‘स्वास्थ्य सेवा सबै नागरिकको अधिकार हो । आगामी दिनमा यस्ता विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गरिने छ ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले कार्यक्रमको समग्र अनुगमन स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन पाउँदा गर्व लागेको बताए । शिविरमा सबै उमेरका स्थानीयको उल्लेखनीय सहभागिता थियो ।
शिविरका फोकल पर्सन तथा समन्वयकर्ता डा. दुर्गेशलाल चौधरीले सम्पूर्ण व्यवस्थापन तथा चिकित्सक टिमसँगको सहकार्यमा शिविर सफल भएको बताए । डा. चौधरीले भने, ‘विशेषज्ञ सेवा गाउँघरमै ल्याउने हाम्रो लक्ष्य हो । बिरामीको चाप र सहभागिताले यस्ता कार्यक्रमको आवश्यकता पुष्टि गरेको छ ।’
शिविरमा सेवा ग्रहिलाई इसिजी, इको, युएसजी, रक्त परीक्षण, एक्स–रे लगायतका विभिन्न सेवा निःशुल्क रूपमा प्रदान गरिएको लेखा अधिकृत मनिष पाण्डेले जानकारी गराए । कतिपय औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।
शिवराज अस्पतालका हेल्थ असिस्टेन्ट तथा मेडिकल रेकर्डर रुपेश झाका अनुसार, पहिलो दिन हिजो ८३४ जनाले सेवा लिएका थिए । तीमध्ये भर्ना गरिएका बिरामी आठ र आकस्मिक १० (पुरुष ४, महिला ६) थिए ।
दोस्रो दिन आज एक हजारभन्दा बढीको उपचार गरिएको छ । गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाएकोमा उनीहरुले नगरपालिकालाई धन्यवाद दिएका छन् ।
टिप्पणीहरू