राजीनामा दिनासाथ मन्त्रीज्यू टेम्पोमा सरर

राजीनामा दिनासाथ मन्त्रीज्यू टेम्पोमा सरर

निवर्तमान शिक्षा मन्त्री एवम् नेकपा (एमाले)की सांसद विद्या भट्टराई सार्वजनिक यातायात (टेम्पो)मा यात्रा गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । 

बताइएअनुसार उक्त फोटो शुक्रबार बैशाख १२ गते प्रतिनिधिसभा बैठक सकाएर भट्टराई निवास (चाबहिल) फर्किंदाको हो । वैशाख ८ गते शिक्षामन्त्रीबाट राजीनामा दिएर सोही दिन सरकारी क्वार्टर छाडेकी उनको यो तस्बिर बाहिर आएपछि ‘सादगी जीवन बाँचेको’ भन्दै धेरैले प्रशंसा गरिरहेका छन् । 

उनीनिकट एकजना एमाले सांसदका अनुसार निवर्तमान मन्त्री भट्टराईको आफ्नै निजी सवारी साधन छैन । त्यसकारण उनले सार्वजनिक यातायात नै प्रयोग गर्छिन् । ती सांसद भन्छिन्, ‘कहिलेकाहीँ हतार भयो भने चाहिँ पठाओ वा इन्ड्राइभ प्रयोग गर्नुहुन्छ, नत्र लोकल गाडीमै हो ।’ 

त्यसो त, १० महिने मन्त्रीकालमा भट्टराई विदेश भ्रमणमा पनि गइनन् । विभिन्न कार्यक्रमका लागि वैदेशिक भ्रमणको निम्तो आएको तर उनले त्यसलाई प्राथमिकतामा नराखेको बताइन्छ ।  

वर्तमान सरकार गठन भएपश्चात अहिलेसम्म बसेका प्रत्येकजसो मन्त्रिपरिषद् बैठकले कुनै न कुनै मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको देखिन्छ । प्रधानमन्त्री कार्यालयको वेभसाइटमा उल्लेखित क्याबिनेटका निर्णय हेर्दा अधिकांश मन्त्री दोहोर्याएर कतिपय तेह्याएर विदेश भ्रमणमा गएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले यसबीच अमेरिका, चीन र थाइल्याण्ड भ्रमण गर्नुभएको छ । तर भट्टराई मात्रै एक त्यस्तो मन्त्री थिइन्, जसले एउटा पनि विदेश भ्रमण गरिनन् । 

अहिलेसम्म मन्त्रिपरिषद्ले गरेका भ्रमण स्वीकृतको सूचीअनुसार मन्त्री सहभागी हुनुपर्ने विदेशका कतिपय कार्यक्रममा पनि उनले मन्त्रालयका महाशाखा प्रमुख, सहसचिव तथा सचिवलाई पठाएको बताइन्छ । 

भट्टराई निकटकी उनै सांसद भन्छिन्, ‘अरुलाई मन्त्री बन्नेबित्तिकै विदेश घुम्न जाने हतार हुन्छ । परराष्ट्रमन्त्रीबाहेक अरु मन्त्रीसमेत महिनैपिच्छे कुनै न कुनै कार्यक्रमको बहानामा विदेश गएको प्रमाण छन् । तर उहाँ (भट्टराई)लाई तामझामसहित जम्बो टोली लिएर विदेश जाने तथा घुम्ने खासै शोख छैन । यो मन्त्री हुँदा मात्रै होइन, पहिल्यैदेखि हो ।’

टिप्पणीहरू