पदबहालीपछि वार्ता आह्वान
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाउनुभएको छ । शिक्षक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले वार्तामा आउन शिक्षक महासंघलाई आह्वान गर्नुभएको छ ।
मन्त्री पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरुसँग विगतमाझैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु ।’
विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवद्र्धनका लागि उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रत्यनशील रहेको उल्लेख गर्दै उहाँले थप्नुभएको छ, ‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवं कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ ।’
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनका कारण कक्षा १२ को परीक्षा प्रभावित हुनुका साथै एसईईको उत्तरपुस्तिका परीक्षण, विद्यार्थी भर्ना प्रक्रिया रोकिएको छ ।
शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले असहयोग गरेपछि तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले गत सोमबार राजीनामा दिनुभएको थियो । यद्यपि, उहाँले राजीनामा पत्रमा स्वास्थ्यलाई कारण देखाउनुभएको छ । भट्टराईको राजीनामापछि बुधबार पन्त शिक्षामन्त्रीमा नियुक्त भएपछि हिजो शपथ ग्रहण तथा पदबहाली भएको थियो ।
यसअघि वार्ताका लागि लेखिएको विज्ञप्तिमा मन्त्रालयका सहसचिव/सचिवको दस्तखत हुन्थ्यो । तर, यसपटक भने मन्त्री पन्त स्वंयमको हस्ताक्षर छ ।

टिप्पणीहरू