बैंककबाटै प्रधानमन्त्रीलाई देउवाको फोन

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार फेरबदलको सम्भवना इन्कार गर्नुभएको छ ।
कांग्रेस-एमाले सहकार्य संकटमा परेको र ओली नेतृत्वको सरकार ढल्न लागेको चर्चा भैरहँदा थाइल्याण्ड भ्रमणबाट फर्किएका देउवाले एयरपोर्टबाटै खण्डन गर्नुभएको हो । उहाँले सरकार हेरफेरबारे चेलेको चर्चालाई हल्लामात्रै हो भन्नुभयो।
आइतबार पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणासहित देउवा 'उपचार' का लागि बैंकक जानुभएको थियो । उहाँ देशबाहिर रहेकै बेला शिक्षामन्त्री र गभर्नर सिफारिस समितिका सदस्यले राजीनामा दिएका थिए भने उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तीमा परे ।
अर्कोतिर, हिजो बिहान प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गिर्न लागेको बताउँदै देउवा फर्किएपछि भेटेर छलफल गर्ने बताउनुभएको थियो । दिउँसो कांग्रेस महामन्त्री गगन थापाले पनि सरकार छोड्न लागेको आसय झल्किने अभिव्यक्ति दिनुभएको थियो ।
यो पृष्ठभूमिमा देउवाको पछिल्लो प्रतिक्रिया आएको हो । यता, आरजुले पनि सरकार नढल्ने जिकिर गर्नुभएको छ ।
त्रिभुवन विमानस्थालमा पत्रकारको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘यसमा कुनै सत्यता छैन, अलिअलि इन्टरनेटमेन्टका लागि पनि यस्ता न्युजहरु आउने गर्छ ।’
सरकारको विषयमा हिजो बेलुका देउवा र प्रधानमन्त्री ओलीबीच फोनमा भएको आरजुले जानकारी दिनुभयो ।
'हिजो प्रधानमन्त्री र उहाँ(देउवा)बीच फोनमा कुरा भएको थियो । प्रधानमन्त्रीज्यूले सरकार परिवर्तनको हल्लाबारे केहो भनेर सोध्नु भएको थियो,' फोनवार्ता सुनाउँदै आरजुले भन्नुभयो, 'उहाँले के हो के हो भन्नुभयो ।'
टिप्पणीहरू