बालेनको रुप एक, रंग अनेक

बालेनको रुप एक, रंग अनेक

‘मैले न्यायका लागि लडिरहेँ, जितेँ तर अब हार्ने पालो तपाईंको !’ काठमाडौं महानगरका मेयर बालेन साह र उनका सहयोगीहरूको कार्यशैलीका कारण अनाहकमा बदनाम बनेका रामप्रसाद पौडेलले फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘यो मेरो मात्रै नमुना उदाहरण हो, अरू साथीलाई दिएको वेदना त आउन बाँकी नै छ । विस्तारै आउँछ ।’ पौडेल अगाडि लेख्छन्, ‘मैले पनि एक युवा मेयर सहयोग गर्नुपर्छ भन्ने सोचेकै हो तर तपाईंहरू त अहंकारी, नालायक, आफ्नो समूहमार्फत भ्रष्टाचार गर्ने र लोकप्रियताका लागि सामाजिक सञ्जालको आवरणभित्र अफवाह फैलाउने पात्र हुनुहुँदोरहेछ ।’ वसन्त अधिकारी प्रमुख प्रशासकीय अधिकृत हुँदा साहले हुर्मत लिएका चार जनामध्ये एक अधिकृत हुन् रामप्रसाद पौडेल ।

उनी त्यसबेला महानगर स्वास्थ्य सेवा विभागको प्रमुख थिए । अहिले कागेश्वरी मनहरामा कार्यरत छन् । पौडेल लेख्छन्, आफ्नो स्ट्याटसमा दाबी खुलाउँदै लेखेका छन्, ‘म स्वास्थ्यमा प्रमुख थिएँ, कानुनअनुसार काम गरेको थिएँ । तर, मेयर सा’बले आफ्नो लोकप्रियता मलगायत ४ जनालाई बलि दिनुभयो, समाजमा हाम्रो बदनाम गर्नुभयो । मैले त्यसै समयमा भनेको थिएँ, ‘न्याय र विवेकमाथि प्रहार गर्नुभयो । समय आउला, छिनोफानो होला ।’ अनि फेरि लेखँे, ‘नगरबासीको करबाट तलब, भत्ता र सुविधा खाने गरी कार्यालयको संरचनाभन्दा बाहिरका आसेपासे राखेर वार्षिक अर्बभन्दा बढी खर्च गर्नुभयो, यसको नागरिक तहबाट छानबिन हुनुपर्छ, यो लेख्दा मलाई साइबर क्राइममा मुद्दा लगाउनुभयो ।’ 

त्यसो त बालेनले एकल निर्णयको आधारमा पौडेलसहित चार जनालाई जागिरबाटै निलम्बन गरेका थिए । यसो गर्ने मनासिव कारण नभएको र कार्यपालिकाको समेत सहमति नलिइएको ठहरसहित चारै जना पुनर्बहाली भए भने शिक्षा शाखा सल्लाहकारमा नियुक्त सस्मित पोखरेलको नामबाट मेयर साहले पौडेलविरुद्ध साइबर क्राइमको मुद्दासमेत लगाए । 

मेयर हाजिर नहुने, उपमेयर विदेश जाने अवस्थामा वडाध्यक्ष कसैले पनि कार्यवाहकको  जिम्मेवारी पाएनन् । मेयरको हैसियतमा गर्नुपर्ने कामकाज र निर्णय पेन्डिङमा बसेपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । 

बालेनको पेलानमा परेका अर्का कर्मचारी हुन् नुरनिधि न्यौपाने । उनी मुद्दा जितेर बालेनकै सचिवालयको निमित्त प्रमुखका रुपमा कार्यरत छन् ।
त्यसैगरी ...........बिडारीलाई पनि बालेनले लोकप्रियताको आडमा धुलो चटाउन खोजेका थिए । तर, उनी पनि मुद्दा जितेर काठमाडौं महानगरपालिकामै काम गर्दै छिन् । त्यसो त तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई साहले कामकाज गर्न रोक लगाएका थिए । 

बालेनले हालेको र काठमाडौं जिल्ला अदालतमा चलिरहेको साइबर अपराधसम्बन्धी मुद्दामा उनको जीत भएको छ । उनले सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै आफ्नो जीत भएको र बालेनको हार्ने पालो आएको प्रतिक्रिया दिएका छन् । 

महानगरको २३ औं नगर कार्यपालिका बैठकले पाँच जनालाई स्वास्थ्य करार सेवामा राख्ने निर्णय गरेको थियो । बोर्डले पाँच भनेकोमा ६ जनाको नाम सिफारिस भयो । थपिएका एक जना त्यतिबेला मेयरको सचिवालयमा कार्यरत भगवती बिडारीकी छोरी हुन् । एकल महिला उनले छोरीको नाम राखिदिन आग्रह गरेकी थिइन् । एउटै सवारीमा आउन जान मिल्ने र केही आम्दानी पनि हुने भनी अनुरोध गरेपछि प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार अधिकारीले उनको नाम हाल्न लगाए । कर्मचारीले मौखिक आदेशअनुसार नाम थपिदिए । तर, वसन्तले आफूले त्यसो गरेको भन्न नसक्दा कर्मचारी फसेको स्रोत बताउँछ । 

सो कुरा थाहा पाएपछि बालेनले आफैँले सजायँ दिनेजसरी वसन्तलाई कार्यालय आउन रोक लगाए । पौडेलसहित दशौं तहका अधिकृत नुरनिधि न्यौपानेलगायतलाई निलम्बन गरे । उनीहरु बालेनको सो कारबाहीविरुद्ध उच्च अदालत, पाटन पुगे । उच्चले पक्षमा फैसला गरिदिएपछि उनीहरु कार्यालय फर्किए । त्यसको एकाध महिनामै पौडेलको सरुवा भयो । नुरनिधि र भगवती अहिले पनि महानगरपालिकामै छन् । पौडेलविरुद्ध तीन वटा निकायमा महानगरले उजुर हालेको थियो । अदालत, प्रदेश लोकसेवा आयोग र अख्तियार । अख्तियारमा अनियमितता, लोकसेवामा बर्खास्ती र अदालतमा दायर भएको मुद्दामध्ये दुई वटामा उनले जितिसकेका छन् । एउटा निकायबाट भने टुंगिने क्रममा छ । 

२२ का वडाध्यक्ष चिनकाजी महर्जनका अनुसार वडा नम्बर १९ स्थित एक क्लिनिक फ्रेञ्च दातृ संस्थाको सहयोगमा चलिरहेको थियो । अवधि सकिएपछि महानगरले ‘टेकओभर’ गर्‍यो । सो क्लिनिक चलाउन कर्मचारी आवश्यक परेपछि करारमा लिने निर्णय भयो । पाँच जना भनिएकोमा ६ जना सिफारिस भएको विषयमा प्रशासकीय कारबाहीको साटो मिडियाबाजी गरेको उनको आरोप छ । भन्छन्, ‘म आफैँ शिक्षा र स्वास्थ्य समितिको संयोजक थिएँ । उक्त क्लिनिक रारमा पाँच जना कर्मचारी राख्ने निर्णय भयो । तर, भगवतीको आग्रहपछि छोरीको नाम थपिएछ । मेयरले त्यो विषयमा हंगामा गर्नुभयो । फेरि सिफारिस मात्र भएको, जागिरमा जोडिएको थिएन ।’ बालेनले बढी नै मिडियाबाजी गर्दा छोरी डिप्रेशनमा समेत पुगेको बताउँछन् । उनले भने, ‘श्रीमान् एक्सिडेण्टमा बित्नुभएको हो । उहाँले जागिरका लागि आग्रह गरेको विषयलाई मेयरले आफू चर्चामा आउने माध्यम बनाउनुभयो । छोरी डिप्रेशनमा गइन् । 

काठमाडौँ लफडामा, बालेन र सुनिता घुमघाममा

महानगर अस्तव्यस्त, प्रमुख र उपप्रमुख घुमघाममा मस्त ! संघीय राजधानी काठमाडौंको एक प्रमुख स्थानीय पालिका काठमाडौं महानगरपालिकाको माहोल तातिएको छ । प्रमुख प्रशासकीय अधिकृतको विषयले महानगरमा लफडा भइरहँदा प्रमुख बालेन्द्र (बालेन) साह र उपप्रमुख सुनिता डंगोललाई घुमेरै भ्याइनभ्याइ छ । बालेन देशभित्रै घुमघाममा रमाइरहेका छन् भने सुनिता महानगरलाई भद्रगोल अवस्थामा छोडेर कार्यक्रमका लागि विदेश पुगेकी छन् ।

बल्लतल्ल धपाइएका पुरानै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई ‘फेस’ गर्नुपर्ने भएपछि कसैलाई सुइँको नदिईकन दोलखा पुगेका बालेन आधी घण्टा झुलुक्क देखापर्नेबाहेक कार्यालयमा उपस्थित भएका छैनन् । यता, गुरागाईँको ‘इन्ट्री’ हुँदा कार्यालयमै भएकी सुनिता विवाद नसल्टाइकन बेल्जियम उडेकी छन् । हाल महानगर नेतृत्वविहीन छ । नेतृत्वकर्ता नै महानगरलाई अलपत्र अवस्थामा छोडेर हिँडेपछि अन्य जनप्रतिनिधि रुष्ट बनेका छन् । नेतृत्वकर्तामा जिम्मेवारीबोध नभएको र जवाफदेहिता सकिँदै गएको वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जन बताउँछन् ।

उनले भने, ‘प्रमुखको कुरा गरेर साध्य छैन, जवाफदेहिता भनेको के हो ? उहाँलाई थाहा छैन । मनलाग्दी गर्नुहुन्छ । कहाँ जानुहुन्छ, के गर्नुहुन्छ ? कसैलाई थाहा हुँदैन । तर, उपप्रमुखले त बुझ्नुपर्ने हो । महानगरमा यस्तो गर्मागरम माहोल छ । यस्तो अवस्थामा यहाँको विवाद सुल्झाउने कि विदेश भ्रमणमा जाने ? विदेश भ्रमणमा गएर के उपलब्धि हासिल हुने ? जनताले तिरेको कर उडाउने काम मात्र भइरहेको छ । उपप्रमुख विदेशबाट आएपछि यो विषयमा प्रश्न गर्छौं ।’ पूर्वमेयर विद्यासुन्दर शाक्यका पालामा यति धेरै वैदेशिक भ्रमण हुँदैन्थ्यो । जनप्रतिनिधिहरू आक्कलझुक्कल मात्र विदेश जान्थे । अहिले त बालेनका आसेपासे, वडाध्यक्षदेखि कर्मचारीसम्म विदेश जान थालेका छन्, त्यो पनि महानगरबासीले तिरेको करमा । यतिसम्म कि बालेनको सचिवालयमा रहेका फोटोग्राफर विनय शाक्य पनि पटक–पटक विदेश पुगिसकेका छन् ।

ट्राभल हिस्ट्री हेर्दा बालेनभन्दा सुनिता बढी विदेश गएको देखिन्छ । प्रमुखले आफूलाई आउने निम्तोमा उपप्रमुखलाई पठाएर विरोधको आवाज थुन्न खोजेको हुन सक्छ । बालेन हत्तपत्त विदेश जान नचाहनुको प्रमुख कारण ‘जडीबुटी’ भएको स्रोत बताउँछ । छिनछिनमा ‘जडीबुटी’ चाखिरहनुपर्ने मेयर युरोपियन मुलुकमा कडा नियम रहेको र यताबाट पनि लैजान नमिल्ने भएकाले सितिमिती जान चासो देखाउँदैनन् । स्रोत भन्छ, ‘भारततिर त जडीबुटी पाइन्छ तर युरोपियन मुलुकमा के गर्ने ? लैजान पनि मिलेन । त्यसैले आउने अफर जम्मै सुनितालाई दिन्छन् । त्यति गरेपछि सुनिता मख्ख !’ महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीका अनुसार वैदेशिक कार्यक्रममा प्रायःजसो प्रमुखका लागि निमन्त्रणा आउने गरेको छ । प्रमुखले नभ्याउने अवस्थामा उपप्रमुखलाई पठाउने गरिएको उनी बताउँछन् ।

उनले भने, ‘कुनै पनि कार्यक्रममा फस्र्ट प्रायोरिटी प्रमुख नै हुन्छन् । तर, प्रमुख नभ्याउने भएपछि उपप्रमुखलाई पठाउने हो । उपप्रमुख पनि नभ्याउने अवस्था भएमा बल्ल वडाध्यक्षहरू जान मिल्छ ।’ हाल उपप्रमुख डंगोल स्थानीय तहसम्बन्धी कार्यक्रममा भाग लिन बेल्जियम गएको त्रिपाठीले जानकारी दिए । महानगरबाट जानेमा उनी एकल हुन् ।

छिमेकतिर आफैँ, युरोपमा उपप्रमुख 

छिमेकी मुलुक भारततिर कार्यक्रम रहेमा बालेन आफैं जाने गर्छन् । तर, युरोपतिर गएको कमै देखिन्छ । उनीसँग पिए००८११९६ र डिए००००७२३ नम्बरको पासपोर्ट छ । साधारण पासपोर्टको भ्यालिडिटी सन् २०३२ जुलाई १० र कूटनीतिक पासपोर्टको सन् २०२८ मार्च ४ सम्म छ ।

कूटनीतिक पासपोर्टबाट उनी बेलायत, फ्रान्स र ब्राजिल गएको देखिन्छ । सन् २०२३ मार्च १४ मा युके उडेका उनी चार दिनपछि फर्किएका थिए । सन् २०२४ को मे १४ मा फ्रान्सतिर उडे । ६ दिनको बसाइपछि आएर एक महिनामा ब्राजिल गए । जुन १७ मा ब्राजिल उडे र २२ मा फर्किए । यता, साधारण राहदानीबाट एक पटक इण्डोनेसिया, तीनपटक भारत र एकपटक थाइल्याण्ड यात्रा गरेका छन् । उपप्रमुख डंगोलले भने बालेनभन्दा धेरैचोटि कूटनीतिक पासपोर्ट प्रयोग गरेकी छन् । डिए००००८५० नम्बर भएको उनको राहदानीको अवधि सन् २०२८ मे ६ सम्म छ । सोही पासपोर्ट बोकेर उनी पछिल्लोपटक बेल्जियम पुगेकी छन् ।

उपप्रमुखमा निर्वाचित भएपछि उनको पहिलो यात्रा अष्ट्रेलिया भयो । सन् २०२३ नोभेम्बर २४ मा यहाँबाट प्रस्थान गरेकी उनको डिसेम्बर ६ मा आगमन भएको छ । लगत्तै थाइल्याण्डतिर लागिन् । सन् २०२४ को फ्रेबुअरी १८ मा उडेकी उनी २१ मा फर्किएको ट्राभल हिस्ट्रीले देखाउँछ । अर्को डेस्टिनेशन कतार हो । मे २२ मा कतार उडेकी उनी जुन २ मा बेलायतबाट नेपाल फर्किएकी थिइन् । सेप्टेम्बरमा अमेरिका गएकी उनी त्यहाँबाट आएर थाइल्याण्ड गइन् । त्यसपछि इजिप्ट पुगेकी उनी नोभेम्बर ९ मा फर्किइन् । सन् २०३४ डिसेम्बर २४ सम्म भ्यालिडिटी भएको पिए३६०८००६ नम्बरको साधारण पासपोर्टबाट उनले भारतको मात्रै यात्रा गरेकी छन् । उनी अघिल्लो महिना भारत गएकी थिइन् । 

नेतृत्वकर्ताको मनोमानी, वडाध्यक्षहरूको मौनता 

काठमाडौँ महानगरमा ३२ वटा वडा छ । अघिल्लो महिनासम्म बालेनले जे भने पनि, गरे पनि उनीहरू टाउको मात्रै हल्लाउँथे । कारण हो–करोडौँ बजेट । विद्यासुन्दरको पालामा अढाई करोडदेखि पाँच करोडसम्म बजेट चलाउने अधिकार वडाध्यक्षहरूलाई थियो । तर, बालेनले निर्वाचित हुनेबित्तिकै बढाएर १७ देखि २० करोडसम्म पुर्‍याइदिए । सो पैसाबाट तिनले कहिले ब्लकको फुटपाथ बनाए, कहिले ग्रेनाइटको । ‘बालेन बाठो, जनप्रतिनिधिहरू के गर्दा चुप लाग्छन् भन्ने पत्ता लगाए । अनेकौँ सुविधा दिए । त्यति पाएपछि किन विरोध गर्थें ?’ प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन महिनादेखिको तलब रोकिएपछि मात्र वडाध्यक्षहरू बालेनविरुद्ध बोल्न थालेको स्रोतको दाबी छ ।

यसबीच, काठमाडौंका विद्यालयमा वितरण गर्ने भनिएको डिजिटल बोर्ड खरिदमा सिण्डिकेट कायम गरिएको, कार्यक्रम अवधिको म्याद थप नगरी खरिद गरिएको र अहिले भुक्तानी प्रक्रिया अघि बढाउने प्रयास भएको बताइन्छ । त्यसो त एम्बुलेन्स खरिदमा मेयर साहको सचिवालयले सरकारी लेटरप्याड नै प्रयोग गरेको, खरिद आदेशमा हस्ताक्षर नभए पनि छाप लगाएको प्रष्ट छ । यस विषयमा बालेन साह र उनका स्वकीय भूपदेव साहविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

सरोज गुरागाइँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुन थालेपछि मेयर साह एक दिन आधीघण्टा छिरेबाहेक कार्यालमा देखा परेका छैनन् । उपमेयर सुनिता डंगोल बेल्जियम गएकी छन् । गुरागाइँले भने यसबीच सूचना प्रविधि शाखाको बैठकसमेत राख्न भ्याएका छन् । तीन महिनादेखि बाँकी रहेको तलब वितरणलगायत नियमित प्रारम्भ भइसकेको छ । मेयर हाजिर नहुने, उपमेयर विदेश जाने अवस्थामा वडाध्यक्ष कसैले पनि कार्यवाहकको जिम्मेवारी पाएनन् । मेयरको हैसियतमा गर्नुपर्ने कामकाज र निर्णय पेन्डिङमा बसेपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । त्यसो त डंगोललाई शुरुमा बालेनले तपाईं नै आउँदो मेयर भनेर फुक्र्याएका थिए । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो मेयर तिमी नै हो, तयारी गर भनेपछि उनी हौसिएर टक्कर लिन अघि सरेकी छन् । अजय क्रान्ति र अञ्जान शाक्यको जोडीमाथि यसअघिका मेयर विद्यासुन्दर शाक्यलाई बेकामे बनाउन भूमिका खेलेको र उपमेयर डंगोललाई काखी च्यापेको आरोप पनि लाग्दै आएको छ । 

शाक्यहरूले टिकट वितरणको बेला सुनितालाई स्वतन्त्र उम्मेदवारका रुपमा अघि सारेका थिए । त्यसपछि अध्यक्ष ओलीसँग भेट गराएर उपमेयरको टिकट दिई थुम्थुम्याए । भनिन्छ, हरिप्रभा खड्गी उपमेयर भएको भए बालेनको दाह्री तानेर साइजमा ल्याइसक्ने थिइन् । तर डंगोलले भने त्यस्तो कदम चाल्न सकेकी छैनन् । डंगोलले बोलेको सरोज गुरागाइँ फिर्ती प्रकरणका दिन मात्रै सुन्न पाइएको  कार्यपालिकाका सदस्यहरूले बताए । त्यो दिन वडाध्यक्ष र कर्मचारी एकढिक्का भएपछि उनको बोली फुटेको भन्नेहरू बागदरबारमा थुप्रै छन् । मेयर नै हुने हो भने डंगोलले अनावश्यक विदेश भ्रमण छोडेर कडिकडाउसाथ भिड्दै जनताको काम गर्न अघि सर्नुपर्ने अवस्था छ । वडाध्यक्षहरूले पनि बजेटको लोभमा फस्नुभन्दा जनतामाझ भिज्ने, उनीहरूको दुःख सुख बुझेर सोहीअनुसार काम गर्न थाल्नुपर्ने अवस्था आइसकेको छ ।
 

टिप्पणीहरू