प्रहरीबाट फुत्किएका राप्रपा नेता भन्छन्: गोली खान तयार छौँ

प्रहरीबाट फुत्किएका राप्रपा नेता भन्छन्: गोली खान तयार छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा संघीय सांसद दीपकबहादुर सिंहले आफूहरु राजसंस्थाका लागि गोली खान तयार रहेको बताएका छन् ।

सिंहदरबारमा प्रहरीबाट फुत्किएर प्रदर्शनका लागि बानेश्वर पुगेका उनले राप्रपाका नेताहरु जेल जानमात्र नभएर गोली खान पनि तयार भएको दाबी गरेका हुन् । अध्यक्ष राजेन्द्र लिङ्गदेनसहितका नेतालाई पक्रेर सरकारले आफूहरुको आन्दोलन भाँड्न खोजेको सिंहको आरोप छ । 

'राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत साथीहरूलाई प्रहरीले पक्राउ गर्‍यो त्यसमा म पनि थिए', उनले भने, 'हामीले पहिले नै भनेको निषेधित क्षेत्र तोड्ने आज तोडेर देखायौँ । राष्ट्र जनताको लागि जेल जान त परैजाओस् गोली थाप्न पनि हामी तयार छौँ ।'

राप्रपाका अध्यक्ष लिङदेनसहितका नेता सिंहदरबारबाट प्रहरी नियन्त्रणमा आउँदा सिंह पनि त्यहीँ थिए । तर, उनी प्रहरीबाट फुत्किएर प्रदर्शनस्थल पुगे । 

लिङ्देनसहितका नेता भ्यानभित्र छिर्दै गर्दा सिंहले प्रहरीको आँखा छलेर जोगिएका थिए । पक्राउ पर्नबाट जोगिन पत्रकारको भीडमा छिरेका उनलाई केही पत्रकारले  ‘तपाई कता ?’ भनेर सोधेकोमा ‘म लुकेकाे हैन, यता मात्रै आएको’ भनेका थिए । उनको हाउभार भने निकै आत्तिएको देखिन्थ्यो ।

पत्रकारको घेरामै सिंहदरबार गेटबाहिर निस्किएका सिंहलाई पत्रकारले फेरि सोधेका थिए, ‘तपाईका अध्यक्षहरु त पक्राउ परे नि...!’ जवाफमा ‘यही हो नि गणतन्त्र’ भन्दै उनी प्रहरीको नजरबाट टाढा परे । 

त्यसपछि बिजुलीबजार पुल पुगेर उनले सञ्चारकर्मीको भेला गर्दै गोली खान तयार रहेको बताएका हुन् । ‘हामी अब गोली खान तयार छौं, हिम्मत छ भने गोली हानोस्’, आक्रमक बन्दै भनेका थिए, ‘यो देशलाई बचाउनका लागि दुई चार गोली खान हामी तयार छौँ ।’

पक्राउ परेका राप्रपाका नेताहरुलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । यता, नेताहरु समातिएपछि हत्तपत्त प्रदर्शन सकेर केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने जनाइएको छ।

टिप्पणीहरू