अब के पर्ला नेपाललाई असर ?

अब के पर्ला नेपाललाई असर ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नीति स्थायी नहुने देखिएको छ । त्यहाँका जनताबीच त्यसको लगातार आलोचना भइरहेको छ । अमेरिकाले निर्यात मात्र गर्ने नभई ऊसँग धेरै वस्तुको आत्मनिर्भरता नभएकाले भन्सार दर बढाउने निर्णयले अन्ततः उल्टो प्रभाव पार्ने सम्भावना छ । त्यसैले त्यो छिट्टै हटाइनेछ भन्ने विश्वासमा धेरै मुलुक रहेको देखिन्छ । उनको नयाँ नीतिले नेपाललाई कस्तो असर पार्ला ! यतातिर जानु भन्दा पहिला यसबाट साना राष्ट्रले के पाठ सिक्ने भन्ने कुरा महत्वपूर्ण रहेको नेपालका अर्थशास्त्रीहरू बताउँछन् । 

डोनाल्ड ट्रम्पले प्रारम्भ गरेको ‘ट्यारिफ वार’ले विश्वव्यापी आर्थिक परिदृश्यलाई नराम्रोसँग हल्लाइरहेको छ । यस युद्धअन्तर्गत ‘अमेरिका फष्र्ट’ भन्ने अमेरिकी सिद्धान्तअन्तर्गत चीन, युरोप र अन्य देशका उत्पादनमाथि लागेको उच्च भन्सार दरले विश्व व्यापार प्रणालीमा अस्थिरता ल्याएको छ । ट्रम्पका यी निर्णय अस्थायी हुने अनुमान गरिए पनि अमेरिकी जनताले समेत तीव्र रूपमा आलोचना गर्नुको कारणचाहिँ त्यहाँका उपभोक्तालाई वस्तुको मूल्य महँगो हुने भएरै हो । उच्च दैनिक खर्चका कारण त्यहाँ व्यापक असन्तुष्टि प्रकट भएको छ । 

उता, अन्तर्राष्ट्रिय रूपमा यस्तो निर्णयको सबैभन्दा सीधा निशानामा अमेरिकाको सर्वाधिक ठूलो व्यापारिक साझेदार चीन रहेको देखिन्छ । चीनले ट्रम्पको यस नीतिलाई दीर्घकालीन रणनीतिक पुनःसमायोजनको रूपमा पनि प्रत्युत्तर दिएको अवस्था छ । व्यापार सम्बन्धमा स्थिरता र बहुपक्षीय सहकार्यतिर ध्यान दिँदै उसले युरोपलगायत अन्य अन्तर्राष्ट्रिय साझेदारतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत चीनले पूर्वाधार विकास र आर्थिक सहकार्यलाई तीव्रता दिँदै आएको थियो । तर, अब भने वासिंगटनले नसोचेको नीति अंगीकार गर्दै उसले युरोप र अन्य सम्भावित व्यापारिक साझेदारसँग सम्बन्ध विकासलाई केन्द्रमा राख्न थालेको देखिँदै छ । हालै स्पेन र भियतनामसँग उदार बनेर सम्बन्धको प्रगाढतामा चीनले जोड दिएको छ ।

क्षेत्रीयस्तरमा पनि चीनले भारत र भियतनामजस्ता देशसँग व्यापार र साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउने रणनीति अपनाउन थालेको छ । यद्यपि, भारतसँग राजनीतिक तनाव रहँदा रहँदै पनि चीनले भारतीय पर्यटकलाई आकर्षित गरेर सौहार्द्रपूर्ण सम्बन्ध विकास गर्न खोजिरहेको छ । भियतनामसँग आर्थिक सहकार्यमा जोड दिएर क्षेत्रीय स्थिरता र प्रतिस्पर्धात्मकतालाई पनि समेट्ने रणनीति देखाएको छ ।

नेपाली दृष्टिकोणबाट हेर्दा यस्तो सुक्ष्म अन्तर्राष्ट्रिय खेलले साना राष्ट्रमा पनि प्रभाव पार्छ । नेपालजस्तो भौगोलिक रूपमा भारत र चीनको बीचमा अवस्थित राष्ट्रले यी आर्थिक तथा कूटनीतिक घटनाक्रमलाई ध्यानपूर्वक अवलोकन गर्दै आफ्ना नीति निर्धारण गर्नु आवश्यक छ । ट्रम्पको नीति प्रत्यक्ष रूपमा नेपालका लागि लक्ष्यित नभए पनि यी घटनाक्रमको प्रभाव व्यापार, लगानी र अन्य क्षेत्रमा देखिने पक्का छ ।

त्यसो त युएसएआइडीबाट हुँदै आएको सहयोग रोकिँदा नेपालमा झण्डै एक खर्ब रूपैयाँ बराबरका परियोजना अलपत्र परेका छन् । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा अमेरिकी सहयोग रोकिँदा नकारात्मक असर पर्न थालिसकेको छ । गरिबी नियन्त्रण, सामाजिक विकास, साना तथा घरेलु उद्योग स्थापनामा भइरहेको सहयोग घटेको छ । त्यसबाहेक अहिले भइरहेको करको दरका कारण आपूर्ति श्रृंखलामा प्रभाव पर्ने नै हुन्छ । टिफाअन्तर्गत नेपालले पाइरहेको ७७ वटा वस्तुको ब्यापार त रोकिएको छैन तर जब माग नै कम हुने अवस्था आयो भने आपूर्तिमा कमी आउने निश्चित हुन्छ । यसरी हेर्दा नेपालसमेत ट्रम्पको नयाँ नीतिको शिकार बन्दै छ ।

 

टिप्पणीहरू