सुमनाले त्यागिन् घण्टीको उच्च पद, यस्ताे छ कारण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पाँच बुँदे व्याख्यात्मक टिप्पणी सार्वजनिक गर्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् ।
कार्यवाहक सभापति डिपी अर्यालसमक्ष पेश गरेको राजीनामा पत्रमा पार्टीको नेतृत्वले सही मार्ग पहिल्याउन नसकेको उल्लेख छ । पद छोड्नुको पहिलो कारणका रुपमा सुमनाले ‘एक व्यक्ति, एक पद’को अवधारणालाई प्रस्तुत गरेकी छन् ।
‘पदको लालसा पुराना पार्टी र अझै भन्नुपर्दा नेपाली समाजमै गढेको एक प्रथा हो',उनले भनेकी छन्, 'अरु पार्टीभन्दा हामी भिन्न हौँ भन्ने,तर रवैया उस्तै हुन मेरोलागि स्वीकार्य छैन ।’
पूर्व शिक्षामन्त्री समेत रहेकी उनले रास्वपाप्रति जनताको ठूलो आशा रहेको,तर डेलिभरी दिने क्षमता शून्य देखिएको भेद पनि खुलाएकी छन् । पार्टी कर्मकाण्डी बन्दै गएकोले पनि पदमा बस्न मन नलागेको उनको भनाई छ ।
‘बैठकमा बस्ने क्रम,बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिनेभन्दा बढी महत्व दिइन्छ’,राजीनामा पत्रमा उल्लेख छ, ‘यस्तो संस्कारले इनोभेसन र काम गर्ने जाँगरलाई हतोत्साहित बनाउँदो रहेछ ।’
त्यस्तै, नेतृत्वले पदाधिकारीसँग छलफल र परामर्श नगरेर ठूला निर्णय गरेको सुमनाको आरोप छ । ‘पदाधिकारी हुँदा पनि पार्टीसम्बन्धी महत्वपूर्ण विषय र निर्णय आधिकारिक स्रोतबाट नभई अरुबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले पद लिएर पनि कुनै वजन नभएको महसुस गरेँ’,डिपीलाई बुझेको पत्रमा भनिएको छ ।
सुमनाले राजीनामापछि पार्टीभित्र उठ्ने सम्भावित प्रश्नको दुई बुँदेमा अग्रिम उत्तरसमेत दिएकी छन् । रास्वपाप्रतिको प्रतिबद्धता हेरफेर नहुने र सांसद रहेसम्म पार्टीमा केन्द्रीय सदस्यको अलावा अरु पदमा दावी नगर्ने उनको प्रष्टोक्ति छ । अब सहमहामन्त्री पद पार्टीभित्रकै एक सक्षम महिलालाई दिन पनि उनले आग्रह गरेकी छन् ।
रवि लामिछाने जेल जानुअघि उनलाई नै संबोधन गरेर चैत १८ गतेको मितिमा लेखिएको राजीनामा स्वीकृत हुन भने बाँकी छ । उनले पार्टीमा राजीनामा बुझाउन लागेकोबारे आज बिहानै जनआस्थाले समाचार लेखेको थियो ।
टिप्पणीहरू