रवि समातिएपछि सुस्ताएको रास्वपाको महाधिवेशन पर सर्‍यो

रवि समातिएपछि सुस्ताएको रास्वपाको महाधिवेशन पर सर्‍यो

सभापति रवि लामिछाने सहकारी घोटालामा जेल परेपछि सुस्ताएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति सारेको छ । 

पछिल्लो ६ महिना सभापति पक्राउविरुद्ध सडक संघर्षमा व्यस्त हुनुपरेपछि तल्लो तहमा कमिटी गठन गर्न नसकेको रास्वपाले महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका सच्याएको हो । आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुनको पहिलो साता महाधिवेशन गर्ने निर्णय गरेको छ । 

यसअघि गत असोजमा बसेको राष्ट्रिय भेलाले बैशाख २५, २६ र २७ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सहायक प्रवक्ता मनिष झाका अनुसार अब २०८२ फागुन ७ ८ र ९ गते चितवनमा महाधिवेशन हुनेछ । 

त्यसअघि वडा, पालिका हुँदै प्रदेश अधिवेशन सम्पन्न गर्ने बताइएको छ । निर्णयअनुसार असोजसम्ममा वडा अधिवेशन सकेर कात्तिकमा पालिकाको गरिनेछ । मङ्सिरमा जिल्ला अधिवेशन गर्दै माघ १५ सम्ममा प्रदेश अधिवेशन सक्ने निर्णय पार्टीले गरेको झाले बताएका छन् । 

हालसम्म पार्टीको १९ सय ७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटामा अधिवेशन सम्पन्न भएको रास्वपाले जनाएको छ । ७५३ मध्ये ४५८ पालिकामा समिति गठन भएको र ७० जिल्लामा भेला आयोजना भैकन समिति गठन गरेको जानकारी गराइएको छ ।

टिप्पणीहरू