बेपत्ता परिवारसँग कमरेडहरु भावुक

बेपत्ता परिवारसँग कमरेडहरु भावुक

सरकारमा रहँदा शहीद तथा वेपत्ता परिवारप्रति वास्ता नगरेको आरोप लागेका माओवादी केन्द्रका नेताहरुले पछिल्लो समय सुध्रिएको संकेत दिएका छन् । पार्टीले संचालन गरेको जागरण अभियानका क्रममा विभिन्न जिल्लामा पुगिरहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुले जनयुद्धका शहीद र वेपत्ता परिवारका सदस्यसँगको भेटघाटलाई विशेष महत्व दिएका हुन् ।  

हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानका क्रममा हिजो साँझ नवलपरासी पुग्नुभएका प्रचण्ड, उपाध्यक्ष कृष्णबहादुर महरा, अग्नि सापकोटा र नन्दकिशोर पुन पासाङ लगायतका नेताहरु जनभेटघाटमा रमाइरहेका छन् । 

अध्यक्ष प्रचण्ड गएराति जनयुद्धका बेला राज्य पक्षबाट वेपत्ता पारिएका राजाराम पौडेलको घरमा बास बस्नुभएको थियो । त्यसक्रममा उहाँले राजारामकी आमा दुर्गादेवी र भाई लेखनाथसँग उहाँले लामो संवाद गर्नुभयो । बेपत्ता परिवारका सदस्यसँगक कुराकानी हुँदा प्रचण्ड निकै भावुक बनेको बताइएको छ । 

आज बिहान पनि घरबाट निस्कदा उहाँसहित अन्य नेताहरु  पनि भावुक देखिएको अभियान टोलीका एक सदस्यले जनास्थालाई बताए । उनका अनुसार प्रचण्डले राजारामको त्याग र बलिदानलाई खेर जान दिन्नौँ भनेपछि गहभरी आँसु बनाउँदै सबैजना  भावुक भएका थिए । त्यसपछि नेताहरु त्रिवेणी धामको अवलोकनका लागि निस्कनुभएको बताइन्छ । 

तीनजना उपाध्यक्ष पनि विभिन्न शहीद परिवारको घरमा बास बस्नुभएको थियो । अभियानमा सहभागी उनै नेताका अनुसार तीनैजना उपाध्यक्षले बिहानदेखि फरक-फरक टोलमा गएर नागरिकसँग भेटघाट गरिरहेका छन् । 

पार्टीले आयोजना गर्ने खबरदारी सभामा भने अध्यक्ष, उपाध्यक्षहरु सँगै उपस्थित हुने कार्यक्रम छ ।

टिप्पणीहरू