रविमाथि ज्यादती भयो भन्दै रास्वपाको हारगुहार

रविमाथि ज्यादती भयो भन्दै रास्वपाको हारगुहार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले सभापति रवि लामिछानेलाई जेल हालेकोबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी हालेको छ ।

सहकारी ठगी र संगठित अपराधको मुद्दामा अदालतको आदेशले कारागार चलान भएका रविलाई गैरकानूनी ढंगले पकाउ गरिएको र उक्त कार्य मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै रास्वपाको तर्फबाट आज आयोगमा निवेदन दर्ता भएको हो । निवेदन दर्ता गराउन प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत नेताहरूले पुल्चोकस्थित आयोगको कार्यालय पुगेका थिए । 

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना सभापतिको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको आरोप लगाए । बिना अनुमति हातहतियारसहित प्रहरीको फौज शयन कक्षसम्म पुग्नु असभ्यताको पराकाष्ठा भएको रास्वपाको दावी छ । 

रविले आफैँ गिरफ्तारी दिने बताए पनि प्रहरीले धरपकड र जबरजस्ती बल प्रयोग गरेको बुर्लाकोटीले बताए । मृत्युदण्डको समयमा जस्तो अन्तिम इच्छा के छ ? भनेर प्रश्न गरिएकोमा आपत्ति जनाएको रास्वपाले यसलाई अस्वभाविक भनेको छ । प्रहरीले आततयी रुपले पक्राउ गरेको भन्दै नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक र वैयक्तिक गोपनीयताको हनन भएको आरोप पनि लगाइएको छ ।

सुप्रिम सहकारी घोटालामा शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै रविलाई थुनामा पठाउने आदेश गरेको थियो । अदालतको आदेश पालना गराउन प्रहरी टोली तत्कालै बुढानीलकण्ठस्थित लामिछाने निवास पुगेको थियो । उक्त घटनालाई रास्वपाले अस्वाभाविक भन्दै आएको छ ।

टिप्पणीहरू