संवैधानिक इजलास छाडेर प्रधानन्यायाधीश किन सर्लाही ?
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत चैत २० गते एकाएक सर्लाही जानुभयो । जिल्ला अदालत निरीक्षण भन्दै उहाँ त्यता लागेपछि यता सर्वोच्च अदालतमा सोही दिन राखिएको संवैधानिक इजलास स्थगित भयो । सामान्यतयाः प्रधानन्यायाधीश उच्च अदालतबाहेक जिल्ला अदालतको निरीक्षणमा जाने घटना दुर्लभ हो ।
स्रोत भन्छ, ‘जिल्ला अदालतको निरीक्षण सामान्यतयाः उच्चका मुख्य न्यायाधीशबाट हुन्छ । हुनुपर्ने पनि त्यस्तै हो । सर्वोच्चबाट जिल्लाको सट्टा उच्चको निरीक्षण गरिँदा मात्रै न्यायिक क्षेत्रमा पनि चेन अफ कमाण्डको प्रभावकारिता हुन्छ । ’
त्यो दिनको संवैधानिक इजलासमा रहेको एउटा मुद्दा पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पेन्सन (निवृत्तिभरण) निर्णय सम्बन्धी थियो । प्रधानन्यायाधीशले पहिलेका आफूजस्तै प्रधानन्यायाधीशको पेन्सनबारे निर्णय गर्न आनाकानी गर्दै सर्लाही भ्रमणको चाँजोपाँजो मिलाएपछि पेशीमा चढेका अरु मुद्दासमेत त्यो दिन बेवारिस भएका थिए ।
यस्तै यस्तै सिद्धान्तका कारण केपी शर्मा ओलीको अघिल्लो सरकारले विभिन्न संवैधानिक निकायमा नियुक्त गरेका ५२ भाइको पेसी उनीहरुको कार्यकालको अन्तिमतिर आइपुगेको छ । आगामी बैशाख ३ गते तोकिएको ५२ भाइको नियुक्तीसम्बन्धी पेसी पनि एउटा निहुँमा नसर्ला भन्न सकिने अवस्था छैन ।
प्रधानन्यायाधीश राउत हाल भारत भ्रमणमा हुनुहुन्छ । आइतबार नयाँ दिल्ली जानुभएका उहाँ भोलि स्वदेश फर्कने कार्यक्रम छ । टोलीमा न्यायाधीश हरिप्रसाद फुयाँल,मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल,रजिष्ट्रार विमल पौडेल, उपरजिष्ट्रार नवीनकुमार यादव रहेको सर्वोच्चले जनाएको छ ।
टिप्पणीहरू