कारागारभित्रका विद्यालयमा लगानी बढाउन जोड

कारागारभित्रका विद्यालयमा लगानी बढाउन जोड
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले केन्द्रीय कारागारभित्रका विद्यालयहरुको अनुगमन गरेको छ । कारागारभित्रका विद्यालयमा सञ्चालन गरिएको आधारभूत तह अन्तिम परीक्षाको अनुगमनपछि शिक्षामा लगानी बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । 

महानगरको शिक्षा विभागले त्यहाँ सञ्चालित तीन वटा विद्यालयको अनुगमनपश्चात् कारागारमा रहेका व्यक्तिहरुको सामाजिक पुनःस्थापनाका लागि उक्त निश्कर्ष निकालेको बताइन्छ । जगन्नाथ माध्यमिक विद्यालय कक्षा १२ सम्म सञ्चालित छ भने बन्दी विकास आधारभूत विद्यालयमा कक्षा ८ र महिला बन्दी आधारभूत विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुन्छ । 

विभागले तीन वटै विद्यालयको भौतिक अवस्था, उपलब्ध सुविधा, पठन प्रक्रियासँगै आधारभूत तह अन्तिम परीक्षाको अनुगमन गरेको छ । विद्यालयमा बालिग परीक्षार्थी छन् । महानगरका शिक्षा अधिकृत इन्द्र दाहालले कारागारभित्र परीक्षा सञ्चालनका मापदण्ड पूरा भएको र विद्यार्थीहरुमा आत्मविश्वास देखिएको बताए । 

महानगरका लागि कारागारभित्र वा बाहिर जहाँका भएपनि सबै विद्यार्थी समान रहेको उल्लेख गर्दै उनले भने, ‘ज्ञान, सिप र योग्यता विकासका अवसरहरु समान रुपमा प्रदान गर्ने छौँ । कारागारभित्रका विद्यालयमा पनि सुन्दर विद्यालय र हरित विद्यालय कार्यक्रम सञ्चालन भएको छ । विद्यालयको पूर्वाधारका लागि सहयोग गरेका छौँ ।’

त्यस्तै, शहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले कारागार सुधार गृह रहेको र यहाँ रहनेको निश्चित समय हुने जनाउँदै भने, ‘यहाँबाट फर्किने व्यक्तिको ज्ञान, सिप, क्षमता र शैक्षिक योग्यता वृद्धि गर्न सकियो भने भोलि समाज रुपान्तरणका लागि सकारात्मक योगदान गर्ने नागरिक बन्नुहुने छ ।’

केन्द्रीय कारागारभित्र भएका तीन विद्यालयमध्ये जगन्नाथ माविमा ३९६ जना विद्यार्थी छन् । यसमध्ये कक्षा ९ मा २४ जना, कक्षा ११ मा ६१ जना र कक्षा १२ मा ४९ जना अध्ययनरत छन् । यहाँ १८ वर्षदेखि माथि ५५ वर्षसम्मका विद्यार्थी अध्ययन गर्छन् । 

महानगरबाट प्रदान गरिएको सहयोगबाट विद्यालयले कार्यालय कक्ष मर्मत गरेको छ । अर्को बन्दी विकास आधारभूत विद्यालयमा १७२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको कक्षा १ मा अध्ययन गर्ने ८१ वर्षीय पुरुष सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको महानगरले जनाएको छ । महिला बन्दी आधारभूत विद्यालयमा भने १० जना विद्यार्थी छन् ।

टिप्पणीहरू