नयाँ पञ्चायतका तोर्पे बुद्धिजीवी !

‘राजा आऊ, देश बचाऊ’ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन, कमल थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई दलबलसहित उनको घर पुर्याउन गएको दृश्य हेरिरहँदा सम्झनामा आयो, २०५८ जेठमा राजा वीरेन्द्रको वंशविनाश हुँदा पोखराबाट काठमाडौँ आउन नसकेकी गजुरीमै हेलिकोप्टरबाट टिपिएका अधिराजकुमार ज्ञानेन्द्र र अहिले उनैलाई घर पुर्याउन लागेका पूर्वपञ्चहरूको लावालस्कर ।
त्यसैगरी ०४० सालमा गोदावरीमा रिपोर्टिङ गर्न जाँदा निरंकुश पञ्चायती शासनका मण्डलेहरूको सुराकीअन्तर्गत झ्याइँकुटी पार्दै पहिले प्रहरी हिरासतमा यातना र त्यसपछि लगभग ६ महिना नख्खु जेलमा बिताएको घटना । गिरफ्तारीमा पर्दाको दुव्र्यवहार, यातना र जेल बसाइ मात्र होइन, प्रजातन्त्र पुनःस्थापनाको आवाज उठाउँदा जेल परेका नेतासँग भएको भेटघाट र संवाद सिनेमाको रिलझैँ मन मस्तिष्कमा एकतमासले घुमिरह्यो । रन्थनिएर मोबाइल बन्द गरेँ । केही समय लामो सास फेरेर आँखा चिम्लिँदै ध्यानमुद्रामा बसेँ ।
४१ र २३ वर्ष पहिलेका घटना दिमागमा रिंगिइरहँदा भित्रभित्रै भाउन्न भइरह्यो । एकछिन सुस्ताएपछि ०३६ को जनमत संग्रह, ०४२ को सत्याग्रह र बमकाण्ड, ०४५÷४६ को जनआन्दोलनमा गिरफ्तारी, ०६२÷६३ को दोस्रो जनआन्दोलन अनि ०७२ असोज ३ गते नेपाली जनताले निर्वाचित प्रतिनिधिमार्फत संविधानसभाबाट आफ्नो संविधान आफैँं जारी गरेको क्षण पनि सम्झना भइरह्यो ।
फागुन २५ गते आइतवार अपराह्न एयरपोर्ट, गौशाला, चाबहिल, नारायणगोपाल चोकसम्मको दृश्य हेरेपछि राजनीतिशास्त्रका एक प्राध्यापकसँग आफूले अनुभूति गरेको मनोभावको सचित्र वर्णन गरेँ । मेरो कुरा नटुंगिँदै उनले भने, ‘नयाँ पञ्चायतसँग जम्काभेट भएर यस्तो भएको हो !’ उनको कुराले म अल्मलिएँ । उनी घटनालाई पर्गेल्न थाले । भन्दै गए, ०४७ साल कात्तिकमा संविधान जारी भएको आज कति भयो ? तपाईंंलाई थाहा छ, निर्वाचित सरकार अपदस्थ गर्दै सेनाको आडमा चलाइएको पञ्चायती व्यवस्था ३० वर्ष टिकेको थियो । पञ्चायतका माननीयहरू गणतन्त्रको संसदमा पनि छन् । उनले सम्झाए, एक जना वयोवृद्ध पूर्वपञ्च जसले जन्मँदै जहानियाँ राणाशासनमा जर्नेलको पगरी गुथेका थिए, तिनैले गणतन्त्रवादी सांसदहरूलाई शपथ नै खुवाए । अनि भएन त नयाँ पञ्चायतसँग तपाईंंको जम्काभेट !
३० वर्षदेखि महान् क्रान्तिकारी पार्टीका अध्यक्ष एकै जना छन् । ३० वर्षपछि पनि एक जना वयोवृद्ध प्रजातन्त्रवादी छैटौँ पटक प्रधानमन्त्री बन्न प्रतीक्षामा छन्् । विधानसम्मत ज्येष्ठ पंक्तिमा पुगेका प्रधानमन्त्री २०८० देखि नै मिसन चौरासीको रटानमा छन् । बारम्बार सपरिवार, उही अनुहार के यो नयाँ पञ्चायत होइन ? त्यसैका लागि तपाईंं जेल बस्नुभएको थियो ? भौतिक र मानसिक यातना सहनुभएको हो ? राज्यसत्तामा बारम्बार उही अनुहार, एउटै परिवारलाई ल्याउन २०४६को जनआन्दोलन भएको हो ? माओवादीले २०५२ सालमा शुरु गरेको सशस्त्र विद्रोह त्यसैका लागि थियो ? कि ०६२÷६३को जनआन्दोलन, संविधानसभाको दुई–दुई पटकको निर्वाचन र त्यसैबाट चुनिएका प्रतिनिधिद्वारा ०७२ सालको संविधान घोषणा त्यसैका लागि भएको हो ? अब तपार्इं नै भन्नुहोस्, ०६२÷६३ को आन्दोलनका जोदाहा मानिएका कांग्रेस महामन्त्रीहरूको राष्ट्रपतिलाई एक कार्यकाल, प्रधानमन्त्रीको दुई कार्यकाल, मन्त्रीको तीन कार्यकाल र सांसदको चार कार्यकाल भन्ने कुरा किन संविधानमा लेखिएन ? र, अहिले पनि संविधान संशोधनको एजेण्डा बनिरहेको छैन ? किनकि अहिलेको नेतृत्वमा पञ्चायतविरुद्ध जेलनेल भोगेका, क्रान्ति गरेका, त्याग, तपस्या र निष्ठा बोकेको गणतन्त्र नायकहरू नयाँ पञ्चजस्ता देखिँदैनन् ? तीसौँ वर्षदेखि उनै छन् होइन ? सत्ताको केन्द्रीय भागमा ? एक पटक होइन, पटक–पटक !
प्राध्यापक बम्किइरहे, हेर्नुस् निरंकुश पञ्चायतकालका कर्मचारी, पेशाकर्मी र विज्ञ भनाउँदाहरू नै सबै संरचनामा गजधम्म छन् । उनकै हालीमुहाली छ । गणतन्त्रका नायकहरूको सल्लाहकार तिनै छन् । अनि यो पञ्चायतको नयाँ संस्करण भएन त ? कहाँ छ मध्यपुस्ता, जसले सबै क्षेत्रमा नेतृत्व गर्नुपर्ने हो ? त्यो राजकाजकै द्वारे, बैठके, ढोके, चिलिमे, आठपहरियाभन्दा भिन्न हुन सकेको छ ? किङ्गमेकरहरू चिन्नुभएको छ ? कोटरीका भारदारभन्दा फरक छन् ती ? अनि आइतबारको जुलुसमा समेल पात्रहरूलाई चिन्नुहुन्छ ? तिनलाई नियाल्नुभएको छ ?
राजाको निरंकुश शासनकालमा अकुत कमाएका, उद्योगधन्दा र ठेक्कापट्टा चलाएका, एकलौटी ब्यापार गरेका र अकुत सम्पत्ति जोडेकाहरूकै नेतृत्वमा असन्तुष्ट झुण्ड बग्रेल्ती देखिए ! के यो असन्तुष्टि नयाँ पुस्ताले छुट्याउन सक्छ ? निरंकुशता, लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रता नदेखेका, नभोगेका र नजन्मिएकाका लागि पञ्चायत र अहिलेको नयाँ पञ्चायतमा कुनै भिन्नता छ ? सूचना प्रविधि क्षेत्रमा भएको यत्रो विकास, इन्फरमेसन फड्को सँगसँगै संसार नियालिरहेको नयाँ पुस्ताले नयाँ पञ्चायतलाई स्वीकार्छ ? सहन्छ ? किमार्थ स्विकार्दैन ।
तपाईंलाई सम्झना छ ? उनले फेरि दोहोर्याए, २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको संबोधनमा, उनको देश दौडाहामा सामेल मान्छे र हिजोका मान्छेमा भिन्नता पाउनुभयो ? तपाईंलाई फेरि पनि भन्छु कृष्णमुरारीजी, हिजो पञ्चायतकालमा हालिमुहाली गरेको तप्का विभिन्न बहानामा कांग्रेस, एमाले, माओवादीमै पस्यो । हिजो मल्लिक र रायमाझी आयोगले दोषी ठहर गरेकाहरू, ०६२÷६३को आन्दोलनले कारबाही गर्नुपर्छ भनेकाहरूलाई मुक्ति दिए । त्यसैले जो सत्तामा पुग्यो ती उसैका भए । राजाले संकटकाल लगाएर ०६१ सालमा शासनसत्ता हातमा लिएपछि टिके मेयर, टिके सभापति, टिके मन्त्री, क्षेत्रीय प्रशासक, अञ्चलाधीश सबै यिनै बने । तिनै फेरि कुन–कुन दलमा पसे ? फेरि कसको पछुवा भए ?
गत आमचुनावमा देख्नुभयो होइन ? पञ्चायतका महामण्डले कमल थापाले सूर्य चिह्न पाएर लडे । धन्न, जनताले हराइदिए नत्र यिनै मण्डले उपप्रधानमन्त्री तथा मन्त्री बनेर यही क्याबिनेटमा झण्डा हल्लाइरहने थिए । राप्रपाका राजेन्द्र लिङदेनले झापामा तालमेलमै चुनाव जिते । कांग्रेसी मतले माओवादी प्रचण्डले चुनाव जिते । उनकी छोरीले मेयर उछिट्याइन् । प्रचण्डकै भाइ नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष छन् । उनलाई अध्यक्ष बनाउनै प्रचण्डले समीकरण फेरे । बिर्सनुभयो ? अनि तपाईं नै भन्नुहोस्, यो नयाँ पञ्चायत होइन ? महापञ्च सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई कांग्रेस र एमालेले प्रधानमन्त्री बनाएका होइनन् ? नयाँ पञ्चायती कुकृत्य अझ सम्झँदै जानुहोस्...
मदन भण्डारीको बहुदलीय जनवाद थाहा छ होइन ? प्राध्यापकले फेरि प्रश्न तेस्र्याए, ‘तपाईं वामपन्थी पृष्ठभूमिको व्यक्ति । आफूलाई वामपन्थी विश्लेषक ठान्नुहुन्छ होइन ? के मदन भण्डारीको बहुदलीय जनवाद यस्तै नयाँ पञ्चायत हो ? बिपीको प्रजातान्त्रिक समाजवाद के अहिलेको ३४ वर्षको नयाँ पञ्चायती विकास हो ? माओवादीको सशस्त्र विद्रोह नयाँ पञ्चायत प्राप्तिका लागि थियो ? नयाँ पञ्चायतको छनक बुझेर झापाबाट पुहातु चौधरी, पद्मरत्न तुलाधर, रूपचन्द्र बिष्ट, जागृत भेटवाल, भीमबहादुर श्रेष्ठ, द्रोणाचार्य क्षेत्री, नोबल केभी राई, सोमनाथ अधिकारी प्यासीहरूलाई जनताले राष्ट्रिय पञ्चायतमा जिताएका थिए ? नेपाली मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन साह, हर्क साङपाङलाई जिताइदिएन ? अनि भन्नुहोस्, यो पञ्चायतको विकल्पमा खडा गरिएको नयाँ पञ्चायत होइन ?
अब अलिकति मध्यपुस्ताको चर्चा गरौँ । पञ्चायतमा जन्मे हुर्किएको, संसार देखे–बुझेको, संघर्ष पनि गरेको पुस्ता हो मध्यपुस्ता । तर, आश, त्रास र दासताबाट यो मुुक्त हुन सकेन । न यो पुस्ताले विद्रोह, न नेतृत्वलाई हस्तक्षेप गर्न सक्यो न त नेतृत्वको दाबी नै ग¥यो । यो पुस्ता मात्र निजामती कर्मचारीजस्तो देखियो । पार्टीहरूको हेडक्वार्टर जानुहोस् जर्नेली ठाँटमा दंग र मस्त छ यो पुस्ता ! बिचौलिया, माफिया, डन, अपराधी, तस्कर, ठेकेदार, भ्रष्ट नटबरलालहरूसँग साझेदारी गरेर कमाउन र दलहरू कब्जा गर्न लिप्त छ यो पुस्ता । न यसले भुइँ मान्छेको कुरा गर्छ न त जेन्युइन सिर्जनशील मान्छेलाई नेतृत्वसम्म पुग्न पहुँच दिन्छ । न नेतृत्वले नै यो कुरा बुझेको छ र यो पुस्तालाई यथोचित गर्न सक्छ । मध्यपुस्ता गाउँ÷नगरपालिकाका वडादेखि सिंहदरबारसम्म, नियुक्तिदेखि सरुवा–बढुवासम्म सेटिङ र लाभमा मात्रै लिप्त छ ।
कृष्णमुरारीजी, पञ्चायतकालमा भूमिगत गिरोह भन्ने शब्द कुख्यात थियो नि हो, अहिलेको पार्टीका मध्यपुस्ताले त्यही काम गरेको छ अनि यसलाई नयाँ पञ्चायत भन्न मिल्दैन ? अब रह्यो बुद्धिजीवीका कुरा । कहाँ छन् बुद्धिजीवी ? कहाँ जालास् मछली, मेरै ढडिया ! यी पार्टीका नेताको थैलोथैलोमा छन् । दैलोदैलोमा छन् । न यिनीहरू सत्यतथ्य कुरा बोल्न सक्छन् न त जनताका कुरा लेख्न, बताउनै सक्छन् । यिनीहरू आफ्नो स्वार्थका लागि, सुविधाका लागि, लाभ र फाइदाका लागि जे बोल्दा हुन्छ त्यही बोल्छन् । तब न यिनलाई ‘तोर्पे बुद्धिजीवी’ भनिएको हो ।
बाँकी रह्यो, युवा पुस्ता ! २०४० सालपछि जन्मिएको ६० प्रतिशत युवा देशमा छैन । जो सामाजिक सञ्जालमा सक्रिय छ । तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरिरहन्छ । त्यसको फाइदा लुटेरा, ठग, नटबरलाल र पञ्चायतका मण्डलेहरूले लिने नै भए । देख्नु नै भएको छ, हिजो अधिराजकुमारहरूले गर्ने व्यापार, तस्करी, नीतिगत भ्रष्टाचार गणतन्त्रका युवराज÷युवराज्ञीले गरिरहेका छन्् । ठुल्ठूला ठेक्का, आयोजना परियोजना, तस्करी, खरखजाना, कमिशन, म्यानपावर, रिसोर्ट, निजी अस्पताल, हाइड्रो, कलेज र सुन तस्करीसम्म सबैमा यिनको साझेदारी छ । अनि होइन त यो नयाँ पञ्चायत ?!
प्राध्यापकका कुरा सुनेपछि, यो आलेख लेख्दालेख्दै फेरि घोत्लिएँ के उज्यालो कहीँ–कतै छँदै छैन त ? के नेपालमा सकारात्मक हुनै सकिँदैन त ? उनी एकछिन चुप लागे र फेरि बोले, सकारात्मक हुन सकिन्छ तर यसका लागि आफैँंविरुद्ध निर्मम हुन सक्नुपर्छ । सबै घटना, पात्र र प्रवृत्तिको खरो समीक्षा गर्दै त्यसलाई पर्घेल्नुपर्छ । पुरानो नेतृत्वले जिम्मेवारी छाड्नुपर्छ । क्षमतावान, काविल, जोदाहा नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ । यस्तो नयाँ पुस्तालाई नेतृत्व सुम्पिएर अगाडि बढ्न सक्नुपर्छ । जसको योजना, अवधारणा र नीति कार्यक्रम समाज रूपान्तरण गर्ने लोकतान्त्रिक आचरणसहितका योग्य काविल र जोदाहा नै यसको हकदार हुनुपर्छ । यसमा किन्तु, परन्तु, तर, केही पनि हुन सक्दैन । न त आ, उ, अनि, पनि नै ’ यो नै अहिलेको निर्विकल्प र अचुक समाधान हो । यसका लागि तपाईं तयार हुनुहुन्छ ? उनी जंगिए र आँखा ट्वाल्ल पारेर मलाई हेरिरहे ।
टिप्पणीहरू