पत्रकार महासंघ मकवानपुरद्वारा आठ बुँदे घोषणा पत्र जारी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरले पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि आठ बुँदे घोषणा पत्र जारी गरेको छ ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ सिमलाङमा हिजो र आज बसेको जिल्ला समिति बैठकले पत्रकार र प्रेस स्वतन्त्रताका लागि सशक्त आवाज उठाउने निर्णय गरेको हो । समितिले प्रेस तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्ने अठोट लिएको छ ।
त्यसैगरी, पत्रकार आचारसंहिताको पालना गर्दै पेशालाई जिम्मेवार र मर्यादित बनाउन अपिल गरेको छ । नियुक्ति गर्दा तोकिएअनुसारको तलब र सेवासुविधा दिन महासंघले मिडिया हाउसहरुको ध्यानाकर्षण पनि गराएको छ ।
स्थानीय र साना लगानीका सञ्चार माध्यमहरुको संरक्षण र संवर्द्धनका लागि समानुपातिक विज्ञापन नीति लागू गर्नुपर्नेमा महासंघ जिल्ला शाखाको जोड रहेको छ । स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउने बाध्यकारी व्यवस्था लागू गर्न सरकारसमक्ष माग गरिएको छ ।
त्यस्तै, पत्रकारिता विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहनेलाई छात्रवृत्तिको व्यवस्था र पत्रकारिता क्षेत्रको प्रवर्द्धनका निम्ति बजेटको प्रबन्ध मिलाउन स्थानीय सरकारसँग माग गरिएको छ ।
टिप्पणीहरू