पाङ्ग्रा जनकपुरमै छोडेर बुद्धको जहाज काठमाडौँ आएकोबारे संसदमा प्रश्न
बुद्ध एयरको जहाज पाङ्ग्राबिनै त्रिभूवन विमानस्थालमा अवतरण गरेको घटनालाई लिएर संसदमा कुरा उठेको छ । जनकपुरमै टायर छोडेर जहाज काठमाडौँ आएको विषय छानबिन गर्न सांसदहरुले माग गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले यसबारे जाँचबुझ आयोग गठन गर्नुपर्नेमा जोड दिए । ‘बुद्ध एअरको पाङ्ग्रा खसेको थियो । र, काठमाडौंमा एउटा पाङ्ग्रमा मात्रै ल्याण्ड गर्यो', उनले भने, 'यसको विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गरियोस् ।’
नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ लामु तामाङले एउटा पाङ्ग्रा जनकपुरमै छुटेर आयो भन्ने सुन्दा यात्रुको मनमा भुइँचालो नै आएको बताइन् । 'यो सुन्दा हजारौँ यात्रुको मनमा भुइँचालो गयो होला, मेरो पनि त्यस्तै भयो', उनले भनिन् ।
हिजो अपराह्न जनकपुरबाट काठमाडौँ आएको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै त्रिभूवन विमानस्थलमा अवतरण गरेको थियो । जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ ।
६२ जना यात्रु बोकेर उडेको जहाजमा यति ठूलो लापरवाही देखिएपछि प्रतिनिधि सभाको आजको बैठकमा सांसदद्वयले प्रश्न उठाएका हुन् ।
टिप्पणीहरू