भागेका साढे चार हजार कैदीबन्दी अझै फर्केनन्

भागेका साढे चार हजार कैदीबन्दी अझै फर्केनन् फाइल फोटो

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा कारागारबाट फरार भएका साढे चार हजार कैदीबन्दी अझै बाहिरै छन् । मुलुकभरका २८ वटा कारागारबाट फरार भएका चार हजार ६७१ जना अहिलेसम्म पनि नफर्किएको कारागार व्यवस्थापन विभागले जनाएको छ । 

सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नक्कली कागजात बनाएर जेलबाट निस्किएपछि अन्य कारागारमा तोडफोड र आगजनी भएको थियो । सो क्रममा साढे १३ हजार कैदीबन्दी भागेका थिए । 

कैदीबन्दी खोज्ने क्रम जारी रहेको विभागका सूचना अधिकारी शाखा अधिकृत बालकृष्ण कटवालले बताए । जनआस्थासँग उनले भने,‘उनीहरुलाई आफैं आउन भनेका छौं । खोज्ने क्रम पनि जारी नै छ ।’ देशभरको कारागारमा २९ हजार २२४ जना कैदीबन्दी रहेकोमा १३ हजार ५८९ जना भागेका थिए ।

झुम्का, सोलु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर कारागारबाट कैदीबन्दी फरार भएकोमा आठ हजार ९१९ जना फर्किसकेका छन् । 

सरकारले नफर्किएकाको पासपोर्ट कालोसूचीमा राखेको छ ।

 

टिप्पणीहरू