व्यक्तिगत एकतामा इन्ट्रेस्ट, वाम एकतामा एलर्जी

व्यक्तिगत एकतामा इन्ट्रेस्ट, वाम एकतामा एलर्जी
सुन्नुहोस्

२०७४ सालमा अकस्मात नेकपा (एमाले) र तत्कालीन माओवादी केन्द्रबीच आपसी सहकार्य भई संसदीय निर्वाचनमा साझा उम्मेदवार बनाएको र पछि पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी–नेकपा गठन गरेको घटनापछिका दृश्यहरू स्पष्टै छ । नेकपाकालीन पार्टी पूर्ण रुपमा एकता नहुँदै अदालतले समेत एमाले र माओवादीलाई फरक फरक बाटोमा जान बाध्य बनाएको घटनाले त आगामी दिनमा कम्युनिष्ट एकताको कुरा नै उठाउनु पर्दैन कि भन्नेसम्मका अविश्वास पैदा भएका छन् । अदालतको आदेशले माओवादी र एमालेलाई मात्र अलग गरेन, त्यसैको रापतापले एमालेलाई समेत फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी बन्ने स्थिति सिर्जना गरायो ।

त्यसयता कम्युनिष्ट पार्टी, घटकहरू मिलेका बिरलै घटना छन् । यद्यपि, अर्ध भूमिगत नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको पार्टी पनि अब संसदीय राजनीतिलाई उपयोग गर्ने भन्दै चुनावतिर लम्केको छ । बिप्लवलाई मूलधारमा ल्याएर अर्धभूमिगत जीवनबाट बाहिर ल्याउनमा प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वदायी भूमिका नभएको होइन ।

कम्युनिष्ट एकता अभियान नाम दिएर खुलेको बामदेव गौतम नेतृत्वको घटक एमालेतिर जाने कि नेकपा एकीकृत समाजवादीतिर जाने भन्ने कुरा बीच बाटामै हराएको छ । समाजवादीतिर जाने अन्तिम तयारी भइरहँदा ओलीले एमालेतिरको बाटो खोलेकाले दोधार भएका गौतम अहिले फेरि दुबै पार्टीसँग उतिसारो सन्तुष्ट छैनन् । एकताको भजन गाइरहँदा बामदेव एमालेमा गए पनि, समाजवादीमा गएपनि खासै अर्थ छैन भन्नेहरू नभएका होइनन् । संगठन निर्माणको लामो अनुभव बोकेका उनको क्षमता अहिलेको एआई दुनियाँमा खासै काममा आउनेखाले छैनन् भन्ने बिश्लेषण छ ।

उता अर्काेतर्फ माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकता हुने हल्ला पनि बेला बेला आउँछ । जसरी आउँछ त्यसैगरी सेलाउँछ पनि । यदि माओवादी र समाजवादी एकता भएमा समाजवादीतर्फका ७० प्रतिशत नेता, कार्यकर्ता एमालेमै फर्कनेछन् भन्ने विश्वास गरिन्छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्रीलगायत समाजवादी छाड्न तयार रहेको भन्ने समाचार सार्बजनिक भएको पनि निकै लामो भैसक्यो । एमालेका नेताहरू खासगरी अध्यक्ष केपी शर्मा ओलीको एउटै बोली छ–यो पार्टीमा माधव नेपालबाहेक सबैलाई स्वागत गर्न सकिन्छ ।

कुनैबेला मित्रवत् व्यवहार गरेर एकै गुट बनाएका नेपाल र ओलीको यो हदको तिक्तताले पनि कम्युनिष्ट एकतालाई अल्झाएको छ । त्यसो त जोडबल लगाउँदै काँग्रेस र माओवादीले फुटाएर बनाएको समाजवादीलाई प्रधानमन्त्री पद प्राप्त हुनासाथ छाडिदिने पुरानै बानी माओवादी अध्यक्ष प्रचण्डले दोहोर्‍याउन छाडेका छैनन् । यतिखेर सत्ताबाट निकै पर पुगेका प्रचण्डलाई फेरि शक्ति आर्जन गर्नका लागि माधव नेपाल साथमै नराखी भएको पनि छैन ।

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको दोस्रो अधिवेशनमा प्रमुख वक्ता थिए एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल । चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा बोल्न आएका पोखरेलको भनाई थियो–बाम एकता भनेर भावनामा कोही पनि नबगौं । दक्षिणपन्थी शक्तिसँग मिलेर वामशक्तिलाई सत्ताच्युत गर्नेहरूलाई वामपन्थी पनि भन्ने कि नभन्ने ? उनीहरूसँग कुरा गर्न कि नगर्ने ? अथवा संस्थागत रुपमा उनीहरूसँग विगतमा माओवादीसँग गरे झैँ एकता गर्ने कि नगर्ने ? यस्ता कुरामा एमाले अल्झन नचाहेको पोखरेलको स्पष्टोक्ति थियो । यसको मतलव व्यक्तिगत रुपमा आउने जोकोहीसँग एकता हुन्छ, तर पार्टी र समूहगत रुपमा एकता गरेर वामशक्ति बनाउन अहिले नै एमाले तयार छैन । अघिल्लो दिन त्यस्तो मन्तब्य दिएका पोखरेलले सोमबार मकवानपुरको हेटौँडामा पुगेर एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य शिवहरि बर्ताैलासहित २ दर्जनलाई खादा लगाई स्वागत गरेका छन् ।

– शिवकुमार काशी

टिप्पणीहरू