विधि–विधान उल्लंघनमा अमेरिकामा बस्दै आएका नेपालीहरु अगाडि

विधि–विधान उल्लंघनमा अमेरिकामा बस्दै आएका नेपालीहरु अगाडि

अमेरिकाको सान फ्रान्सिस्कोस्थित नर्दन क्यालिफोर्नियामा रहेको नेपाली जनसम्पर्क समितिमा मनोनयन दर्ता प्रक्रियालाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ ।

संस्थाको विधानमा स्पष्ट रूपमा कुनै पनि आपराधिक गतिविधि तथा गम्भीर अपराधमा संलग्न भई देशको कानुन उल्लङ्घन गर्ने व्यक्ति सदस्य तथा उम्मेदवार हुन अयोग्य हुने व्यवस्था छ । तर त्यस्ता आरोप लागेका केही व्यक्तिको उम्मेदवारी स्वीकृत गरिएपछि विवाद उत्कर्षमा पुगेको छ ।

विधानमा संगठनको उद्देश्यविपरीत कार्य गर्ने, विधान तथा सिद्धान्तको उल्लङ्घन गर्ने, साथै आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई सदस्यता र उम्मेदवारी दिन नपाइने स्पष्ट प्रावधान छ। तर ती प्रावधानलाई बेवास्ता गर्दै निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएपछि ाधारण सदस्यहरूबीच असन्तोष बढ्दै गएको बताइन्छ । 

निर्वाचन समिति विधि र विधानको पालना गराउने प्रमुख निकाय भए पनि व्यवहारमा भने समिति केवल ‘नाममै सीमित’ को अवस्था उत्पन्न भएको छ । विधानविपरीत उम्मेदवारी दर्ता गराएपछि निर्वाचन प्रक्रियाको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्नचिन्ह खडा गर्ने उनीहरूको तर्क छ ।

यसैबीच, सहसचिव पदमा मनोनयन दर्ता गरेका एक सदस्यले औपचारिक असहमति जनाएका छन्। उनले सहसचिव पदबाट आफ्नो नाम उम्मेदवारको सूचीबाट हटाउन निर्वाचन समितिलाई स्पष्ट अनुरोध गरिसेका छन् । उनका अनुसार निर्वाचन समितिले विधानमै नभएको पद सिर्जना गरी गरिएका कार्यहरू आपत्तिजनक तथा संगठनात्मक मर्यादाविपरीत हो ।

कुनै पनि सूचना सार्वजनिक गर्नुअघि पर्याप्त अध्ययन र तथ्यको पुष्टि गर्न निर्वाचन समिति तथा सम्बन्धित निकायलाई उनले आग्रहसमेत गरेका छन्।

पछिल्लो असहमति र विवादबीच च्याप्टर अधिवेशन स्थानीय शनिबार बिहान १० बजे सुरु हुँदैछ। नन्दप्रसाद न्यौपानेलाई साक्षी राखेर सदस्यहरूले यस विषयमा यथाशीघ्र छानबिन गरी विधानअनुसार उम्मेदवारी खारेज गर्नुपर्ने माग गरेको अवस्था छ । निर्वाचन समितिले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन नगरे संस्थाको आन्तरिक लोकतन्त्र, विश्वसनीयता र साखमा दीर्घकालीन असर पर्ने चिन्ता सदस्यहरूले व्यक्त गरेका छन्।

टिप्पणीहरू