अमेरिका गुमाउँदै, चीनमा उदाउँदै
दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका पछिल्ला कार्यकारी निर्देशनहरु कार्यान्वयन थालिएको एक महिना नपुग्दै अमेरिकी समाजमा विभिन्न किसिमका परिणाम र संकेत देखिन थालेका छन् ।युएसएड,एमसीसीलगायत विश्वका विभिन्न मुलुकमा दिँदै आइएका आर्थिक अनुदानका सबै कार्यक्रम रद्ध गरिएको छ ।
अमेरिकाभित्रै विभिन्न विश्वविद्यालयमा यसअघि दिइएका अनुदान र छात्रवृत्ति कोटामा ठूलो संख्याले कटौती गरिएको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । उता चीनले यही मौकामा अमेरिकामा अध्ययनरत रहेका तर अमेरिकाको पछिल्लो निर्णयपछि थप उच्च शिक्षा ग्रहण गर्न अप्ठेरोमा परेका चिनियाँहरुलाई पिएचडीको निम्ति आफ्ना विश्वविद्यालयमा स्वागत गरेको छ । बेइजिङबाट डेनी पेन्जिन लेख्छिन्, ‘अमेरिकाले पूर्ण छात्रवृत्तिमा रोक लगाएपछि उता अप्ठेरोमा परेकालाई चीनले सोझै पिएचडी प्रोग्राममा पूर्ण छात्रवृत्तिसहित भर्नाको अफर गरेको छ।’
चीनको पछिल्लो निर्णय अमेरिकामा रहेका शिक्षित नयाँ पुस्तालाई आफ्नो देशमा भित्र्याउने रणनीति भएको बुझ्न सकिन्छ । सोही क्रममा सांघाईस्थित फुदान विश्वविद्यालयले दुई वर्ष अघिदेखि नै विदेशमा रहेका चिनियाँ नयाँ पुस्तालाई यस्तो अवसर दिँदै आएको बताइन्छ ।
त्यसैगरी बेइजिङस्थित छिङह्वा विश्वविद्यालयले गत अगष्टदेखि विदेशमा रहेका चिनियाँ विद्यार्थीलाई पिएचडीको विशेष अफर ल्याएको छ । हाङचौस्थित वेस्टलेक विश्वविद्यालयले पनि चार वटा विषयमा पिएचडीको त्यस्तै कार्यक्रम अघि सारेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
उता अमेरिकाको प्रख्यात कोलम्बिया विश्वविद्यालयले फेब्रुअरी १ देखि यो वर्षका लागि पिएचडी प्रोग्राममा ६५ प्रतिशत कटौती गरेको जनाएको छ ।
टिप्पणीहरू