खल्ती रित्तिँदै,हाकिम लखेटिँदै

खल्ती रित्तिँदै,हाकिम लखेटिँदै

अछामको साँफेबगर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत वीचको विवाद सतहमा आएको छ । पछिल्लो समय अनुकूलको काम गर्न नपाएको झोँकमा कार्यालय प्रमुखमाथि प्रहार गर्न थालेका नगरप्रमुख राजेन्द्र कुँवरले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्न लागेका छन् ।

उनले लक्ष्मीप्रसाद शर्मालाई कार्यालय प्रमुखको जिम्मेवारीबाट बाहिर ल्याउनकै लागि बिहिबारको कार्यपालिका बैठकलाई प्रयोग गरेका थिए । मेयरले निमित्त अधिकृत कार्यालयको सम्पर्कमै नरहेको भन्दै ७२ घण्टाभित्र हाजिर हुन निर्देशनसहितको निर्णय गराएका छन् ।

विगतमा जनप्रतिनिधिले भने भनेअनुसार काम गर्दा पालिकामा बेरुजु बढी आएको भन्दै अब जनप्रतिनिधिको निर्देशनका आधारमा हुने भुक्तानी रोक्ने बताउँदै आएका छन् ।

अधिकृत शर्माले भने, आफू उपचारमा रहेको बेला यस्तोसम्मको निर्णय आउनु दुखद रहेको बताए । शर्मा माघ १८ गतेदेखि उपचारमा छन् । मुटुको बिरामी रहेका उनी माघ १८ गते एक्कासी रिँगटा लागेर स्थानीय बयल्पाटा अस्पतालमा भर्ना भएका थिए । उनको मुटुमा चाल तेज रहेको भन्दै अस्पतालले अन्यत्र जान सुझाएको थियो ।

थप उपचारका लागि भारतको मेदान्त अस्पतालमा उपचार गराएका शर्मा नेपाल फर्किएका छन् । मेदान्त अस्पतालका डाक्टरको सल्लाहअनुसार उनलाई नियमित काममा फर्किन अझै एक हप्ता आराम गर्नुपर्ने हुन्छ । अधिकृत शर्माले आफू १७ गते कार्यालयमा हाजिर हुने बताएका छन् । उनले आफू कार्यालयको सम्पर्कमै रहेको दाबी पनि गरेका छन् । शर्माले आफूलाई लखेट्न जनप्रतिनिधिले अनेकन आरोप लगाउन थालेको बताए । विगतमा जनप्रतिनिधिले भने भनेअनुसार काम गर्दा पालिकामा बेरुजु बढी आएको भन्दै अब जनप्रतिनिधिको निर्देशनका आधारमा हुने भुक्तानी रोक्ने बताउँदै आएका छन् । नीतिभन्दा बाहिर गएर भुक्तानी गर्न जनप्रतिनिधिले प्रेसर गराइरहेको बताउँदै उनले बिहिबारको निर्णय पनि यसैबाट प्रेरित भएर आएको आरोप लगाए ।

शर्माले केही जनप्रतिनिधिका खल्ती रित्तो हुँदै गएका कारण यस्तो निर्णय भएको बताए । उनले भने-केही जनप्रतिनिधिका खल्ती रित्तो हुने भएकोले यस्तो निर्णय भएको हो । मलाई हाकिम पद चाहिँदैन । मेरो आफ्नै पद र काम छँदैछ ।’ शर्मा साँफेबगर नगरपालिकाका लेखा अधिकृत हुन् । उनलाई नगरप्रमुख कुँवरले नै निमित्तको जिम्मेवारी दिएका थिए ।


 

टिप्पणीहरू