झडपपछि केबलकार विरोधीहरुलाई सरकारी निम्तो
ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा केबलकार निर्माणविरुद्ध आन्दोलन गरिरहेको समूहलाई सरकारले पुनःवार्तामा बोलाएको छ । गृह मन्त्रालयका सहसचिव एवम् वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् ।
‘नो केबलकार समूह’ र पहिचानवादी समूहले पुनः पाथीभरामा केबलकार निर्माणको विरोध थालेका छन् । उनीहरुले गत माघ १५ गतेदेखि ताप्लेजुङमा यातायातसमेत ठप्प पारेका थिए । माघ २२ गते वार्ता समिति र आन्दोलनरत समूहद्धारा गठित अम्बर तुम्याहाङ संयोजक रहेको वार्ता समन्वय समितिबीच छ बुँदे सहमतिपछि मत्थर भएको आन्दोलन पुनः चर्केको छ ।
वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई बिनाशर्त छोड्ने सहमति भएको बताइन्छ । तर, सहमतिविपरीत धरौटीमा छाडेपछि उनीहरुले पुनः आन्दोलन थालेका हुन् । यसैबीच, ताप्लेजुङमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच हिजो झडप भएपछि गृहले आज विज्ञप्तिमार्फत् वार्तामा बोलाएको हो ।
‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवम् संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू