टुँडिखेलमा मनाइयो ७५ औं प्रजातन्त्र दिवस, पूर्वराजा र नेताहरुले के भने ?

टुँडिखेलमा मनाइयो ७५ औं प्रजातन्त्र दिवस, पूर्वराजा र नेताहरुले के भने ?

१०४ वर्षे लामो निरकुंश जहाँनीया राणा शासन अन्त्य भएर प्रजातन्त्र आएको प्राप्त भएको ७५ वर्ष पुगेको छ । नता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते मुलुकभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने गरिन्छ । 

७५ औं प्रजातन्त्र दिवस आज काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो । 

समारोहमा नेपाली सेनाले २०८१ व्यानर अंकित हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानमा शान्तिको प्रतिकको रुपमा परेवा उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, नेपालबाट मार्च पास समेत गराइएको थियो । राष्ट्रप्रेमले भरिएको राष्ट्रिय धुन पनि सो अवसरमा प्रस्तुत पनि गरियो ।

 प्रजातन्त्र दिवसको अवसरमा सरकार र राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिनलाई ‘रैतीबाट जनता बनेको’ क्षणको रुपमा सम्झिनुभएको छ । बलिदानपूर्ण संघर्षबाट प्रजातन्त्र आएको आजको दिनले मुलुक र देशवासीको जीवनमा महत्वपूर्ण अर्थ राख्ने उहाँको भनाई छ । 

जहाँनीया शाषणविरुद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायतप्रति सम्मान व्यक्त गर्दै भन्नुभएको छ, ‘आज आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो, गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनको प्रमुख आधार प्रजातन्त्र भएको टिप्पणी गर्नुभएको छ । जनताको त्याग, तपस्या र बलिदानबाट प्रजातन्त्र आएको बताउँदै शुभकामना सन्देशमा लेख्नुभएको छ, ‘प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको छ ।’

आजका समस्त उपलब्धि २००७ सालयताका विभिन्न आन्दोलनको प्रतिफल रहेको प्रचण्डको भनाई छ । ‘००७ सालको आन्दोलन, ०४६ सालको आन्दोलन, महान् जनयुद्ध, ०६२०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको ....’ उहाँले बताउनुभयो । 

आजको दिनलाई सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डामार्फत् बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्न प्रेरणाको रुपमा लिनुपर्ने प्रचण्डले बताउनुभएकाे छ । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्रकै जगमा मुलुकले आज संघीय लोकतान्त्रिक गणतन्त्र पाएको बताउनुभएको छ । प्रजातन्त्र स्थापनाको लागि ज्यान गुमाउने शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ,  ‘नेपालको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर सङ्घर्षरत रहन सबै राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय र हामी सबै नेपालीलाई मिल्ने छ भन्ने मैले विश्वास लिएकी छु ।’

सभामुख देवराज घिमिरेले निरकुंशताको अन्धकारबाट मुक्त भई स्वतन्त्रताको उज्यालो पाएको दिनको रुपमा स्मरण गर्नुभएको छ । हरेक वर्ष मनाईने प्रजातन्त्र दिवसले नागरिकलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिइरहेको उहाँको अनुभव छ ।

‘शहीदहरूको बलिदानले प्रजातन्त्र तथा नागरिक स्वतन्त्रतासँगै देशले गणतन्त्रको यात्रा तय गरेको छ’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘यो उपलब्धि नेपाली जनताको साहसिक सङ्घर्ष र सहिदहरूको त्यागकै कारण सम्भव भएको हो ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले भने प्रजातन्त्रको सौन्दर्य हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । प्रजातन्त्रलाई वादविवाद, द्वन्द्व, विग्रह, विरोध, प्रतिरोधको अर्थले मात्र हेरिएकोमा उहाँको दु:खेसो छ ।

‘प्रजातन्त्र आजको युगको उत्तम शासन पद्धति हुनुपर्थ्यो, आमजनताको मन, मगज र मतका आधारमा देशको विधि, व्यवस्था तथा मान्यताअनुसार राज्य सञ्चालन गर्ने सर्वमान्य आदर्श पनि हुनुपर्थ्यो’, ज्ञानेन्द्रको चिन्ता छ, ‘समूह वा व्यक्तिको हक-अधिकारको संरक्षण गर्दै प्रतिष्ठा तथा प्रगति अघि बढाउने प्रजातन्त्र सबैको प्रिय व्यवस्था हुनुपर्थ्यो, तर यी सबको अभाव महशुस भइरहेको छ ।’ 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा तानाशाही शासन व्यवस्था अन्त्य भई लोकतान्त्रिक व्यवस्थाको शुभारम्भ भएको दिनको रुपमा फागुन ७ लाई लिनुपर्ने बताउनुभएको छ । अब लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर भई लोकतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको छ’, अध्यक्ष नेपालको शुभकामना सन्देशमा भनिएको छ,  ‘जनताको सङ्घर्षबाट प्रजातन्त्रकै जगमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेका छौँ ।’
 

टिप्पणीहरू