श्रीमानलाई दोहोरो सुविधा दिलाएको अध्यक्षमाथि आरोप, कानुनसम्मत रहेको पालिकाको दाबी
नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डेमाथि श्रीमानलाई दोहोरो सुविधा दिएको आरोप लागेको छ । अध्यक्षले श्रीमान लालचन लामिछानेलाई स्रोत शिक्षकको रूपमा नियुक्त गर्दै हुप्सेकोट प्राविधिक शिक्षालयको प्रमुखकोसमेत सुविधा दिएको भनिएको छ ।
अध्यक्ष पाण्डेमाथि श्रीमानलाई स्रोत शिक्षकको तलबसहित प्रमुखको अतिरिक्त सुविधा दिलाएको आरोप लागेको हो । उक्त प्रकरणपछि गाउँपालिकामा चर्को विवाद उत्पन्न भएको छ । स्थानीय र सरोकारवालाहरूले अध्यक्षको उक्त कार्यलाई नैतिकता र पारदर्शिताको ठाडो उल्लंघन भएको बताएका छन् । यस विषयमा छानबिन गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा आग्रह गरिएको छ ।
अध्यक्ष पाण्डे गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्षसमेत हुन् । यस विषयमा अध्यक्ष पाण्डेसँग सम्पर्कका लागि गरिएको प्रयास सफल नभएपछि प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले नियमानुसार प्रक्रियासम्मत ढंगले लामिछाने स्रोत शिक्षकको रुपमा नियुक्त भएको बताए । उनले भने, ‘पालिकाले विद्यमान कानुन, नियमको अधिनमा रहेर नियुक्त गरेको स्रोत शिक्षकलाई काजमा पठाइएको हो । शिक्षालयमा शिक्षकहरुलाई दिइएको जिम्मेवारी र गरिएको खर्च उतैको हुने भएकाले पालिकासँग कुनै सरोकार हुँदैन । रिक्त शिक्षकको दरबन्दी पूर्तिका लागि पालिकाले काजमा खटाएको हो ।’
एकथरीले अध्यक्ष पाण्डे महासंघको अध्यक्षसमेत रहेकाले महासंघको तर्फबाट यसबारे स्पष्ट धारणा स्पष्ट सार्वजनिक हुनुपर्ने तर्क गरेका छन् ।
टिप्पणीहरू