बलात्कृत बालिकाको हत्यारा समात्ने एसपी सम्मानित

बलात्कृत बालिकाको हत्यारा समात्ने एसपी सम्मानित

मोरङको लेटाङ नगरपालिका–२, बुधबारेकी १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रहरी अधिकृत सम्मानित भएका छन् । नगरपालिकाले ‘ब्लाईण्ड क्राइम इन्भेष्टिकेशन’ सञ्चालन गरेर दोषीलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाललाई प्रशंसापत्रसहित सम्मान गरेको हो । 

मोरङ प्रहरीले कुनै सुराकबिना दुई महिनासम्म अनुसन्धान गरेर दोषीलाई कानुनी कठघरामा उभ्याएको थियो । उक्त अनुसन्धानको नेतृत्व गर्ने कटुवाललाई गत शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो । असोज २१ गते साथीहरुसँग खेल्न निस्किएकी अंशुको शव कात्तिक ७ गते घरदेखि चार किलोमिटर पर रहेको झाडीमा सडिसकेको अवस्थामा फेला परेको थियो । 

कुनै सुराक नभएकाले प्रहरीलाई उनको हत्यारा खोज्न चुनौती भएको थियो । प्रहरीले दुई महिनाको अवधिमा तीन सय जनाभन्दा बढीसँग सोधपुछ गरेको थियो । त्यसैगरी, ५० जनाभन्दा बढीलाई कागज गराइएको थियो । तर, केही पत्ता नलागेकाले घटना झनै जटिल बन्दै गएको थियो । 

स्थानीयको निरन्तर सहयोगले प्रहरीले दोषी पत्ता लगाएरै छोडेको छ । घटना भएको दिनदेखि अंशुको छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारी गाउँमा तास खेल्न आउन छोडेका थिए । स्थानीयले प्रहरीलाई उनीबारे जानकारी दिए । रोजगारीको नाममा भारतको आसाम पुगिसकेका उनलाई प्रहरीले नगरपालिका र परिवारको सहयोगमा नेपाल फर्कायो । 

घर फर्किनेबित्तिकै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले आफूले घाँस काट्न भन्दै साइकलमा राखेर अंशुलाई जंगल पुर्याएको र बलात्कारपछि हँसियाले घाँटी रेटेर हत्या गरेको स्वीकारिसकेका छन् । 

संवेदनशील घटनामा प्रहरीले देखाएको पेशागत क्षमता, धैर्यता र गहन अनुसन्धानलाई सम्मान गर्दै प्रशंसापत्र प्रदान गरिएको नगरपालिका प्रमुख भुपेन्द्र लावतीले बताए । ‘सुराकबिनाको अति नै संवेदनशील घटनामा प्रहरीले देखाएको पेशागत क्षमता, धैर्यता र गहन अनुसन्धानको हामीले उच्च मूल्यांकनसहित यो प्रशंसापत्र प्रदान गरेका हौं’,उनले भने ।

टिप्पणीहरू