फोहोर संकलन शुल्कमा निजी कम्पनीको मनोमानी, महानगरलाई छैन् जानकारी
फोहोर संकलन शुल्क अचाक्ली बढाएपछि चितवनको भरतपुर महानगरपालिकाका स्थानीय आक्रोशित बनेका छन् । प्रतिफ्ल्याट १६० रुपैयाँ लिँदै आएकोमा एकैचोटि बढाएर ५६५ रुपैयाँ पुर्याइएपछि स्थानीयले चर्को आपत्ति जनाएका हुन् । महानगरले फोहोरमैला संकलन र व्यवस्थापनका लागि गत मंसिर १ गते ‘एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालि’ सँग सम्झौता गरेको थियो ।
वडा नम्बर ४ स्थित कार्यालय रहेको निजी सेवाप्रदायक कम्पनीलाई भ्याटबाहेक सात करोड ६२ लाख रुपैयाँमा तीन वर्षका लागि ठेक्का दिइएको महानगरले जनाएको छ । फोहोरबाट आम्दानी गर्ने र विगतभन्दा बेग्लै तरिकाले फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यले महानगरले सो कम्पनीलाई फोहोर उठाउने जिम्मा दिएको हो । तर, सम्झौताको केही महिना नबित्दै कम्पनीले आफूखुशी फोहोरको शुल्क वृद्धि गरेको छ ।
सो कम्पनीले महानगरको २९ वटै वडाको फोहोर संकलन गर्दै आएको छ । महानगरका अनुसार कम्पनीले १२ किस्तामा रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । सम्झौता गर्ने बेला नै महानगरले फोहोर संकलन शुल्क तोकिदिएको थियो । जसअनुसार आवास र डेराको मासिक शुल्क १६०, खुद्रा पसलको तीन सय, थोक पसलको चार सय, बैंक, कार्यालय, विद्यालय, कलेजको पाँच सय, मासु तथा माछा पसल, वर्कसपको दुई हजार सात सय, पार्टी प्यालेस, डिपार्टमेण्टल स्टोरको दुई हजार पाँच सय, तरकारी तथा फलफूल पसलको नौं सय, सैलुन–सौन्दर्य पार्लर, घरेलु उद्योगको पाँच सय रुपैयाँ तय भएको छ ।
मलहरुको हकमा मासिक शुल्क २५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले नगरसभाबाट पारित भएको शुल्क मात्र लिन पाउँछ । यद्यपि, कम्पनीले महानगरलाई जानकारी नगराईकन अघिल्लो महिनादेखि शुल्क बढाएको हो । एकैचोटि चार सय रुपैयाँभन्दा माथि बढाइएपछि स्थानीयले विरोध जनाएका छन् । भरतपुरमा एउटा अफिस सञ्चालन गरेर बसेका माधव न्यौपानेले नयाँ कम्पनीले फोहोर संकलनमा बढाएको शुल्क फिर्ता लिनुपर्ने बताए । केही दिनअघि मात्र बढाएको शुल्कबारे जानकारी पाएको उनको भनाइ छ ।
प्रत्येक फ्ल्याटको फोहोरको शुल्क ५६५ पुर्याएको उल्लेख गर्दै उनले बढाएको शुल्क कतैबाट पनि जायज नभएको गुनासो गरे । ‘फोहोरको पैसा एकैचोटि त्यत्रो बढाएछन् । के कारणले बढाएको भन्ने जानकारी पनि गराइएको छैन् । एकाएक शुल्क बढाएको रहेछ । मैले त विवाद नै गरे । अलिअलि बढेको भएपनि एउटा कुरा । त्यसमा पनि अफिसको फोहोर धैरै हुँदैन् । महिनामा एकचोटि फोहोर फाले पुग्छ । कागजपत्र लगेर उनीहरुले उल्टै आम्दानी गरिरहेका छन् । तैपनि यत्रो पैसा बढाएका छन् । यो सरासर लुट नै हो’,उनले भने ।
त्यसैगरी, अन्य स्थानीयले पनि बढेको शुल्कमा गम्भीर विमत्ति जनाएका छन् । उनीहरु अस्वाभाविक रुपमा बढेको शुल्क नतिर्ने अडानमा छन् । मनलाग्दी शुल्क बढाउने कम्पनीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । एक स्थानीयले जनआस्थासँग भने,‘योचाँहि अति नै भयो । फोहोरको शुल्क के आधारमा बढाइयो ? महानगरले पहिल्यै नै दररेट तय गरिसकेको थियो । अहिले फेरि बढाउनुपर्ने कारण के हो ? आएको दुई महिनामै ठग्न थालिसकेको छ । महानगर पनि यसविषयमा मौन छ ।’
महानगरले भने शुल्क बढाएको विषयमा केही जानकारी नभएको दाबी गरेको छ । महानगरको वातावरण तथा विपद् व्यवस्थापन विभागका प्रमुख विशुराम कुँवरले आफूलाई बढाएको शुल्कबारे कुनै जानकारी नभएको बताए । उनका अनुसार कम्पनीले स्वःखुशी शुल्क बढाउन मिल्दैन् ।
जनआस्थासँग उनले भने,‘यो विषयमा महानगरलाई केही जानकारी छैन् । महानगरले त नगरसभाबाट नै दररेट तोकिदिएको छ । कम्पनी आफैंले शुल्क बढाउन मिल्दैन् ।’ उनका अनुसार प्रत्येक फ्ल्याटको अधिकत्तम शुल्क १६० रुपैयाँ हो । घरमा एक परिवार मात्र बसेमा मासिक ५० रुपैयाँ तिरे पुग्ने उनको भनाइ छ ।
साताको दुई दिन फोहोर उठाएमा ८० र साताको ६ दिन फोहोर उठाएमा १६० रुपैयाँ तिर्नुपर्ने उनले जानकारी दिए । उनले शुल्क बढाएको विषयमा बुझ्ने प्रतिबद्धता जनाए । भन्छन्,‘बढेको शुल्कबारे के रहेछ, म बुझ्छु ।’
टिप्पणीहरू