भो नरोऊ एलिना, अब यहाँ रुने विषय अरु नै छन्

झापाली बहिनी एलिना चौहानले पतिविरुद्ध डिभोर्सको मुद्दा हालिन् । दिल्लीमा अरविन्द केजरिवालले चुनाव हारे ! यता, नेपालको संसद्मा शक्तिशाली सरकारका विधेयक अलपत्र छन् । प्रचण्डको देश दौडाहा चलिरहेकै छ । शंकर पोखरेलले वर्षमान पुनसँग सहयोग मागे रे ! शेखर कोइरालाको पार्टीभित्र असन्तुष्टि बढ्दै छ । उपेन्द्र यादवको मुख अझै खुलेको छैन। यता देशको खबर यस्तै छ । उता, अमेरिकी राष्ट्रपतिको घोषणाले विश्व नै त्रसित बन्दै छ । अमेरिकनहरु नै चिन्ता जाहेर गर्ने स्थितिमा पुग्दै छन् । कतै डोनाल्ड ट्रम्प राजा त बन्ने हैनन् भन्ने जिज्ञासा छ उनीहरूमा । जब मानिसमा शक्तिको उन्माद बढ्छ, परिणाम दुखद हुन सक्छ ।
त्यो उन्मादले उसलाई त कति फरक पार्ला तर जनस्तरमा धेरै असर पर्छ । झट्ट हेर्दा ताप्लेजुङमा केबलकार बन्ने कुरा विकास हो तर त्यसको दूरगामी र साँस्कृतिक असर छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एकछत्र शासन लम्बिंदो छ । दिल्लीमा भाजपाले २७ वर्षपछि झण्डा गाड्नुको अर्थ राजनीतिमा ठुलै हुन्छ । किनभने राजनीति लम्बा रेसको घोडा हो । आयाराम गयारामहरूका भरमा न पार्टी चल्छ, न संगठन ।
भर्खरै बालुवाटारको एउटा बैठकमा प्रधानमन्त्रीले आफ्नै छेउमा कांग्रेस सभापतिलाई राखेर दिएको सन्देशलाई द्वैध शासनको अभ्यास मान्नेहरू बढ्दै छन् । त्यसलाई प्रचण्डले पनि संसद्मा चिरफार गरेका छन् ! त्यसलगत्तै अध्यादेश फटट आएको छ । बलियो शासनले मात्र सुशासन आउँदैन । जस्तैः जर्मनीमा नाजी पार्टीका नेता एडोल्फ हिटलर शक्तिशाली र जनप्रिय थिए । पछि कसरी तानाशाह बने ?
अहिलेको विश्व राजनीति यही शैलीमा अगाडि बढेको आभाष भइरहेको छ । जसरी भारतमा मोदी सरकार चलेको छ । र, भर्खरै दिल्लीमा केजरीवालहरूले हार खानुपरेको छ । भारतका मुस्लिममाथि विभेदपूर्ण नीति लिइँदै छ । पूर्व क्षेत्रमा आदिवासीका चिहान खनिएका छन् । दमकको आदिवासी जनजाति रंगशाला मासेर मदन भण्डारीको नामकरण गर्दा उनीहरू रिसाएका छन् । पृथ्वीनारायण शाहले पनि लिम्बूवान लडेर जितेका थिएनन् । पञ्चायतमा सबै नेपाली पञ्च, सबै पञ्च नेपाली थिए । राणाहरूले देशैभरि भाइभारदारका नाममा बिर्ता राखे ।
अहिले बालुवाटार, गिरीबन्धु, बालमन्दिरका जग्गाले मात्र नपुगेर भूमि विधेयक ल्याइँदै छ । शंकर पोखरेलहरू दुईदलीय जनवादको वकालत गरिरहेका छन् । त्यही भएर त एमालेमै बसेर कर्ण थापाहरू स्टाटस लेखिरहेका छन् । भीम रावलको कथा अर्कै छ । अब शेखर कोइरालाहरूले यसैगरी सहेर बस्लान् ? कुनै दिन उनै शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाविरुद्ध धावा बालेका थिए । पार्टी नै फुटाएर प्रजातान्त्रिक कांग्रेस खोली कांग्रेस कब्जा गरेका थिए । के अब त्यो इतिहास दोहोरिएला ?
वामदेवले एमालेमा जान उचालेको खुट्टा भुइँमा छैन । बालेन, हर्कहरू उत्तिकै पपुलर बन्दै छन् । रविलाई जेलमै भए पनि भोट हाल्छौँ भनिरहेकै छन् । सरकार विधेयक ल्याएर दुईतिहाइको शासन गरिरहेको छ । बाहरूको शासन छ, बोल्न पाइँदैन । बालेन साहको गीत ट्रेण्डिङमा छ– बोल्न दे सरकार !
कुनै समय मधेशमा ठूलै आगो बलेको थियो । अधिकार पाएपछि मन शान्ति हुँदो रहेछ । मधेशले आफ्नो नाम पायो तर पूर्वले पाएन । अहिलेको आक्रोश त्यो पनि हो । पाथीभरामा केबलकार बन्ने विषय एउटा मुद्दा हो तर त्यसभित्र अरु नै कारण बढी छ । सरकार गोली हानेरै भए पनि केबलकार बनाउने पक्षमा देखियो । तर, जनताको प्रश्न छ, के केबलकार सरकारी प्रोजेक्ट हो ? भारतीय लेखक उदयप्रकाशको एउटा उपन्यास छ, पीली छतरीवाली लड्की । त्यसमा एक समयको भारतीय कथा छ, जहाँ पुँजीवादले कसरी बजार र समाजलाई जकड्छ भन्ने प्रष्ट पारिएको छ । कसरी पुँजीवादले शिक्षा, स्वास्थ्य, ब्यापारलगायत क्षेत्रमा कब्जा जमाउँछ भन्ने चित्रण गरिएको छ ।
अहिले नेपालको अवस्था ठ्याक्कै यस्तै हो भन्ने लाग्छ । जब देशमा शक्तिशाली सरकार बन्छ, त्यसपछि ब्यापारीको राज शुरु हुन्छ । बालुवाटारदेखि सुकेटारसम्म उनीहरूकै निर्णय लागू हुन्छ । अब बजार मूल्यको कुनै सिद्धान्त चाहिँदैन । जति पनि पैसा लिन पाइयो । त्यसपछि अर्थमन्त्री भन्नुहुन्छ, अर्थतन्त्र लयमा फर्कंदै छ । त्यसको केही घण्टापछि ब्यापारीको विज्ञप्ति आउँछ, सरकार ब्यापारीमैत्री छ । खासमा कांग्रेस–एमाले मिल्नु नै पर्ने थियो किनभने ८४ को चुनावअघि नै यहाँ बिशेष केही हुन सक्थ्यो ।
त्यसअघि नै स्थानीय तहको उपनिर्वाचनमा देखियो, त्यस्तो दृश्य । अब ८४ मा आमचुनाव हुन्छ कि त्यसअघि स्थानीय चुनाव ? त्यो थाहा छैन तर पुनःसंरचना आयोगले स्थानीय तहको संख्या घटुवा गर्न प्रतिवेदन दिइसक्यो तर त्यो लुकाइएको छ । त्यो बाहिर आएपछि यहाँ फेरि हलचल हुनेवाला छ । त्यही भएर शेरबहादुर ओलीलाई बोक्ने पक्षमा छन् । कांग्रेसको महाधिवेशन अघि या पछि अब ओलीले नै निर्णय गर्दिनेछन् । यही गति रहेमा शेखरहरूको अवस्था कस्तो हुने हो ?
भो...एलिना । अब नरोऊ । यहाँ रुनुपर्ने अरु धेरै विषय छन् । तिमी त डिभोर्स मागेर रुँदै छौ तर यहाँ देशको पीडाले मान्छेहरू रुने ठाउँमा पुगेका छन् । शक्तिशाली सरकारले ल्याएका अध्यादेश पास गर्न नसकेर माथिल्लो सदनमा अल्पमतमा पर्नुपर्दा वरिष्ठहरुको मन कति दुखेको होला ? तिमी त आफ्नै बुद्धिले त्यहाँ पुग्यौ तर यहाँ शासकहरू अर्काको बुद्धिले त्यहाँ पुगेका छन् । यसको एउटै कारण हो, आफ्नो र बिरानो छुट्याउन नसक्नु ।
बाहरूले आफ्ना सन्तानप्रति विश्वास गर्न नसक्दा अति नै दुःख पाउँछन् । बल र वर्गतको तुजुक सधैँ रहँदैन । हेर्दै जाऊ, अब के–के हुन्छ । एक पटक संसार जित्ने उनै हिटलरले पनि अन्तिममा भाग्ने ठाउँ नपाएर बंकरमै आत्महत्या गर्नुपरेको उदाहरण छ । किन धेरै चिन्ता लिनू ?
टिप्पणीहरू