तस्करहरुको मोटरसाइकल गुडेपछि स्थानीय त्रसित, सुरक्षा निकाय मौन
रुपन्देहीमा चोरी तस्करी बढ्न थालेको छ । सुरक्षा अधिकारीहरुको फेरबदलसँगै जिल्लामा चोरी तस्करीमा संलग्नहरु सलबलाउन थालेको पाइएको छ । उनीहरुको कारोबार पछिल्लो समय दिन दुगुना, रात चौगुना हुन थालेको धेरैको बुभाई छ ।
नेपाल भारत खुल्ला सीमानाको फाइदा उठाउँदै चोरी तस्करीमा संलग्न व्यवसायीहरुले अवैध धन्दालाई प्रश्रय दिएका हुन् । रुपन्देहीका सशस्त्र प्रहरी बल नेपालका जिल्ला प्रमुख आनन्द थापाको सरुवा भएको छ । उक्त सरुवासँगै सशस्त्र प्रहरीका बोर्डर छेउमा तैनाथ बिओपी प्रमुखहरुको अर्कै धन्दा मौलाएको बताइन्छ । सीमा सुरक्षाको विशेष जिम्मेवारी पाएकाहरुको अवैध कारोबारीसँगको हिमचिमले आशंकालाई बल मिलेको हो ।
जिल्लाको पूर्वी क्षेत्र बुचि बरेबामा रहेको सशस्त्र प्रहरीको कार्यालय अगाडिबाट खुलेआम चोरी तस्करी हुँदा अपनाइएको मौनताले पनि उक्त आशंकालाई पुष्टि गरेको छ । सो क्षेत्रको धकधईमा गल्ला भन्डारका सञ्चालक राजु अग्रहरीको टिमले चोरी तस्करीलाई मलजल गरेको आरोप छ । अग्रहरी उनै हुन् जसको गोदाममा केही महिना पहिले राजस्व अनुसन्धानले छापा हानेको थियो ।
धकधईमा राजुको अवैध कारोबारको दबदबा चलिरहँदा मर्चवार क्षेत्रमा भने तौलनहरुको टिम सक्रिय देखिन्छ । उक्त टिमले मर्यादपुर, मझगाव र बेथरीका प्रहरी इन्चार्जहरुलाई ‘मासिक’ बुझाउने गरेको स्रोतको दाबी छ । तौलनले कपडाको अवैध कारोबार गर्छन् । सुभाष मौर्या, रमेश र तौलनले कपडाको कारोबार गर्छन् । लल्लनले चिनीको, दिनेशले ब्रानको, राजकुमारले किराना सामान ओसारपसार गर्दै आएका छन् ।
तस्कर समूह मर्यादपुर, शिवपुर गोनाहा हुदै तिनाउको झोलुंगे पुल तरेर रमवापुर निस्कने गरेको पाइएको छ । सर्वसाधारणको निम्ति बाटोघाटोको सुविधा भन्दै बनाइएको बाटो र पुलले पछिल्लो सयम तस्करहरुलाई सहज बनाइदिएको छ । अवैध सामान बोकेका मोटरसाइकल स्पीड निकै डरलाग्दो हुने गरेको स्थानीय बताउँछन् ।
मार्गमा नयाँ अनुहार देखेपछि त्यसता समान बोकेका मोटरसाइकलको गति तीब्र हुने गरेको छ । मर्चवार क्षेत्रमा तस्करहरुका मोटरसाइकलहरु देखेपछि स्थानीय छेउ लाग्ने गरेका छन् ।
टिप्पणीहरू