पहिचान र मौलिकताको निम्ति काष्ठकला संरक्षण जरुरी

सुन्नुहोस्

नेपाली काष्ठकलाको इतिहास निकै पुरानो छ । विशेषगरी काठमाडौं उपत्यकामा बनाइएका विभिन्न वास्तु संरचना र तिनको इतिहास खोतल्दा लिच्छवीकालसम्म पुग्न सकिन्छ । उपत्यकाका मठमन्दिर, घर, सत्तल, पाटी अधिकांश स्थलमा नेपाली काष्ठकलाको उपल्लो नमूना देखिन्छ । 

दुःखलाग्दो कुरा समयक्रमसँगै पछिल्लो समय काष्ठकला ओझेलमा परेको छ । अचेल हातले नै कुँदेर मठमन्दिर, घर, सत्तल पाटीका लागि झयाल, ढोकाजस्ता बनाउने काम बिस्तारै हराउन थालेको छ । 

तर, काष्ठकलाको संरक्षणका निम्ति यसका संरक्षकहरुले निरन्तर प्रयास गरेका छन् । नयाँ पिढीमा यसको महत्व र आवश्यकता बुझाउँदै यो पेशाबाट  पलायन नहुनको निम्ति काष्ठकला निर्माण सिकाइरहेको अवस्था छ ।  नेपाल काष्ठकला संघका अध्यक्ष रत्नमुनि ब्रह्मचर्य काष्ठकलासहित नेपाली कलाको संरक्षण गर्नु आजको आवश्यकता भएको बताउँछन् । 

राजधानीमा रत्न काष्ठ उद्योगसमेत सञ्चालन गर्दै आएका उनी भन्छन्, ‘काष्ठकला मानिसको जीवनमा नभई नहुने कला हो । यो सदियौं पुरानो कला हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । त्यसैले, हामीले नयाँ आउने पिढीलाई यसको संरक्षणका निम्ति तालिम दिइरहेका छौं ।’

उनका अनुसार मूर्ति, झयाल, ढोकालगायत सामग्री बनाउन आवश्यक पर्ने काठ तराईबाट ल्याउने गरिएको छ । त्यो काठको गुणस्तर चेकजाँच गरेर मात्र सामान बनाउने गरेको ब्रह्मचर्यको भनाइ छ । 

‘हामीले काठ ल्याएपछि गुणस्तर चेकजाँच गरेर एक वर्षसम्म यत्तिकै राख्छौं । त्यसपछि मात्र काम थाल्छौं,’ उनले भने । डिजाइनहरु निकै सोचविचार गरेर तयार पार्नुपर्ने र हातले मात्र बनाइने हुँदा पाँच जना मिलेरसमेत एउटा झयाल बनाउन झण्डै एक वर्ष समय लाग्ने उनी सुनाउँछन् । 

हालै आफूहरुले बनाएको मूर्ति देखाउँदै ब्रह्मचर्यले भने, ‘यो झण्डै आठ फिटको छ । यसलाई बज्रपानी लोकेश्वर भनिन्छ । हाम्रो एक सय ८ वटा लोकेश्वरहरुमा यो पनि एउटा हो । यो बनाउन हामीलाई डेढ वर्ष लाग्यो । अझै तयार भइसकेको छैन । यसका पछाडिका भागहरु बन्दै छन् ।’

यस्तै, ललितपुरको अमरापुर काठ कार्भिङका सञ्चालक दिपकराज तुलाधर काष्ठकलाको विभिन्न काम हुने बताउँछन् । उनका अनुसार शुरुमा के बनाउने ? कसरी बनाउने ? भन्ने डिजाइन तयार पारिन्छ । अर्थात्, त्यसलाई कागजमा कोरिन्छ । त्यसपछि सोहीअनुरुप काठमा बुट्टाहरु निकालिन्छ ।

पछिल्लो समय काष्ठकलाप्रतिको चासो हराउँदै गएकोमा दुःखेसो गर्दै उनले भने, ‘यसको संरक्षणका लागि हामीले धेरै प्रयास गरेका छौं । हाम्रै संरक्षणले गर्दा अहिले धेरैले काष्ठकलाको प्रयोग हुन थालेको छ । यसमा म निकै खुशी छु ।’

टिप्पणीहरू