सर्वोच्चमा अख्तियारको पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट फैसला भएका मुद्दामध्ये दुई वटामा चित्त नबुझेपछि आयोगले आज सर्वोच्चमा पुनरावेदन दर्ता गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार भ्रष्टाचारसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको छ । खानेपानी योजनामा साढे दुई लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै बाग्लुङको काठेखोला गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय खिमबहादुर विकसहित छ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतको गत वर्ष माघ २५ गतेको फैसलाबाट उनीहरुले सफाई पाएका हुन् । यस्तै, मोहियानी हकको नक्कली लगत खडा गरेर मोही बाँडफाँडको निर्णय गरी भ्रष्टाचार गरेको भन्दै भूमि सुधार कार्यालय पर्साका तत्कालिन भूमिसुधार अधिकारी गमबहादुर विकसहित तीन जनाउपर मुद्दा हालिएको थियो ।
विशेष अदालतले गत वर्ष माघ २४ गते उनीहरुलाई तीन महिनाको कैदको सजाय सुनाएको हो । कसुर पुष्टि भएपनि तीन महिना मात्रै कैद र जरिवानाको हकमा केही नबोलिएको भन्दै अख्तियारले सर्वोच्च गुहारेको हो । अख्तियारले दुवै फैसला त्रुटिपूर्ण रहेकाले बदर हुनुपर्ने माग गरेको छ ।
टिप्पणीहरू