चितवनमै यति मज्जाको छ  जानैपर्ने ठाउँ

चितवनमै यति मज्जाको छ  जानैपर्ने ठाउँ

चितवनको कालिका नगर उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । केही समय यता यहाँ  पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । 

नगरका पर्यटकीय गन्तव्यहरु सिन्ती झरनादेखि कालिका भगवती माईसम्म, शक्तिखोरदेखि सिद्धिको पहाडी पदमार्गसम्म पर्यटकहरुको चहलपहल देखिएको छ । नगर प्रमुख विनोद रेग्मी कालिकाका पयर्टकीय गन्तव्यमा पर्यटकको चहलपहल बढिरहेको बताउँछन् । 

पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको उल्लेख गर्दै उनले यहाँका मौलिक विषयवस्तुले पनि पर्यटकलाई लोभ्याइरहेको बताए । उनले भने, ‘चेपाङ समुदायको आर्थिक अवस्थालाई बढाउन चिउरी, चमेरो र चेपाङ कार्यक्रम अगाडि बढाएका छौँ, यहाँका चिउरीलेसमेत पर्यटक लोभ्याइरहेका छन् ।’

कालिकाको शक्तिखोर बजार पनि पर्यटकीय गन्तव्य रहेको र यो बजार सौराहापछिको अर्को प्रमुख पर्यटकीय क्षेत्र बन्नसक्ने मेयर रेग्मीको विश्वास छ । हालै मात्र कालिका भगवतीमाई नवनिर्मित मन्दिरको समुद्घाटन गरिएको जानकारी दिँदै उनले भने ‘यही मन्दिरको नामबाट नगरपालिकाको नामकरण भएको हो । मन्दिरमा दिनहुँ हजारौंको संख्यामा भीड लाग्ने गरेको छ । मन्दिरको आकर्षणले पनि कालिकामा पर्यटक लोभ्याउने आशा गरेका छौं ।’

यस्तै, शक्तिखोरस्थित पहाडी क्षेत्र पनि पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण रहेको जनाउँदै मेयर रेग्मीले यहाँको प्राकृतिक छटाले जो कोहीलाई मनमोहित र आकर्षित बनाउने बताए । ‘विगतमा पूर्वाधारको अभाव र प्रचारप्रसार कम हुँदा शक्तिखोरको पहाडी क्षेत्र ओझेलमा परेको थियो’, उनले भने, ‘तर,अहिले यहाँ सडकदेखि अन्य भौतिक पूर्वाधारसम्मको निर्माण भइसकेको छ ।’

खानेपानी, बिजुलीको समस्या थियो । तर, अहिले सबै ठाउँमा सडक पुगेका छन्, खानेपानी र बिजुली लगभग सबै भेगमा छ । तीन तारेसम्मका होटल, लजहरु खुलेका छन्’,

शक्तिखोरलाई केन्द्र मानी यस वरपर झण्डै दश करोड बजेट खर्चिएर भौतिक पूर्वाधार निर्माण गरेको उनको भनाइ छ । नगरपालिकाले शक्तिखोरलाई आसपासका पर्यटकीय क्षेत्रसँग जोडेर विदेशी पर्यटक भित्र्याउने र सौराहापछिको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजनासमेत बनाएको छ ।

नगरभित्र पर्ने पहाडी क्षेत्र सिद्धि,शक्तिखोरलाई इच्छाकामनाको उपरदाङगढी र सिराइचुली, रत्ननगरको सौराहा र कृष्ण प्रणामी मन्दिरलाईसमेत जोडेर पर्यटन विकास गरिँदैछ । विगतमा सडक, यातायात,खानेपानी, बिजुलीलगायत पूर्वाधारको विकास हुन नसकेकाले यी क्षेत्र छायाँमा परेको गुनासो गर्दै उनले अहिले यहाँ तीन तारेसम्मका होटल,रेस्टुरेष्ट समेत खुलिसकेकाले पर्यटन विकासमा टेवा पुग्ने बताए । 

‘विगतमा कालिकाका पर्यटकीय गन्तव्यमा पुग्न सडक पूर्वाधारको अभाव थियो । खानेपानी, बिजुलीको समस्या थियो । तर, अहिले सबै ठाउँमा सडक पुगेका छन्, खानेपानी र बिजुली लगभग सबै भेगमा छ । तीन तारेसम्मका होटल, लजहरु खुलेका छन्’, उनले भने, ‘नगरका पर्यटकीय क्षेत्र देउजर,पाइमाराङ, मझवाङ,दौत्य,गामिङदुङ, छेरवाङ तथा लोतौतीमा पर्यटन सडक निर्माण भएका छन् ।’ 

कालिका नगर नै पर्यटकीय गन्तव्य रहेकाले योजना बनाएर नमुना विकासको मोडेललाई अघि सारेको जानकारी गराउँदै मेयर रेग्मीले नगरको चेपाङ संस्कृतिलाई पनि पर्यटनसँग जोड्ने कोशिस गरिरहेको बताए । पहाडी क्षेत्रमा रहेका चेपाङको रहनसहन, रीतिरिवाज र संस्कृतिले पनि पर्यटकलाई लोभ्याउन सक्ने विश्वास लिइएको छ । 

नगर प्रमुख रेग्मीका अनुसार अहिले पहाडमा फुलेका चिउरीबाट मह निकाल्न कालिकाको सिद्धिस्थित प्रत्येक घरमा देशभरका किसान आउने गरेका छन् । यहाँको चेपाङ समुदायको विकास गर्न सकेमा स्थानीय जनजीवनसँगै पर्यटन क्षेत्रमासमेत सहयोग पुग्ने उनको भनाइ छ । 

यता, नगरका भीमवली बाबा,नागदह,चमेरे गुफा, उदयपुर फनपार्क, चित्राम झरना, सिन्ती झरना, सम्फर्याङका प्राकृतिक छटाहरुले पनि पयर्टकलाई लोभ्याउने गरेको छ । यसबाहेक कालिकाको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।  

कालिका–९, मा रहेको उक्त झरना जिल्ला सदरमुकाम भरतपुरबाट झन्डै २४ किलोमिटर पूर्वमा पर्छ । गर्मी मौसम लागेसँगै झरनामा रमाउन आउने आन्तरिक पर्यटकको घुइँचो नै लाग्छ । यस्तै, वडा नम्बर ११, रहेको वाङ्थलामा पछिल्लो समय पदमार्ग बनेको छ । यहाँ पहाडी रहनसहन हेर्दै वाङ्थला पुग्दाको क्षण अत्यन्तै रमाइलो छ ।

टिप्पणीहरू