ती सुन्दरी जसले देशलाई थर्कमान बनाइन्

ती सुन्दरी जसले देशलाई थर्कमान बनाइन् फोटोः रुख्साना र अमृता सिंह

साबुन निर्माताहरूले आफ्नो उत्पादन विश्वबजारमा खपत गर्न धेरै मीठामीठा कुरा गर्ने चलन हिजो पनि थियो, आजपर्यन्त छ । शुरुमा ‘महिलाहरूको लागि सेतो र शुद्ध साबुन’ र पछि सुन्दर महिलाका लागि साबुन’ जस्ता आकर्षक नारा दिएर बजारमा ल्याइएको यस्तै एउटा साबुन हो– क्यामे । यो अमेरिकन साबुन सन् १९६० र ७० को दशकमा महिलामाझ निकै लोकप्रिय बनेको थियो । अरु साबुनको तुलनामा महँगो यो साबुन कुनै बेला मैले पनि बेचेको थिएँ । त्यो बेला मेरो पसल काठमाडौंको मुटु मरुटोलस्थित काष्ठमण्डपको ठीक अगाडि थियो । सामान्य मानिसको पहुँचभन्दा परको यो साबुन किन्न घरानियाँ स्त्रीहरू नै आउँथे । ९९ वर्षअघि उत्पादन थालेको यो साबुन आजभोलि बेलायतको बहुराष्ट्रिय कम्पनी ‘युनिलिभर’ ले बनाउँछ । 

भारतीय बजारमा त्यो बेला विदेशी सामान सुलभ उपलब्ध हुन्नथ्यो । यस्तोमा क्यामे साबुन सजिलै पाइने कुरै भएन । त्यस्तो बेला पनि सोही साबुनले मात्र नुहाउने महिला थिइन्– रुख्साना सुल्तान । पञ्जाबको जालन्धरकी भएर पनि क्यामे साबुन किन्न हजारौं किलोमिटर टाढाको शहर मुम्बई पुग्थिन् । सो साबुन एकजना नामुद तस्करले अवैध तरिकाले ल्याएको हुन्थ्यो ।

एकदिन रुख्साना गाडीलाई एकस्थानमा पार्किङ गरेर हिंड्न थालिन् । टाढा पुगेपछि चोकभित्रको गल्ली र अर्को साँघुरो गल्ली हुँदै भूमिगत गोदाममा पुगिन् । त्यसबखत क्यामे साबुनको हाहाकार थियो । २–४ गोदाम चहार्दा पनि साबुन पाइनन् । अन्त्यमा, थकाइले चूर भएर खाली हात फर्किइन् । जब गाडी नजिक पुगिन्, देखिन् कि वरिपरि सयौं मानिस झुम्मिएर बसिराखेका छन् । मुटु ढुकढुक भयो । दौडेर गइन् । आँखा खुलेको खुल्यै भयो । किनभने पछिल्लो सिट र डिकी मात्र होइन, ड्राइभरसँगैको सिटसमेत क्यामे साबुनले भरिभराउ थियो । आश्चर्य मान्दै भीडलाई हेरिन्, यथार्थमा उनको गाडी हेर्न हैन, गाडीको ढोकामा उभिराखेको व्यक्तिलाई हेर्न त्यसरी घुइँचो लागेको रहेछ । घुमेर अर्कोतर्फको ढोकामा पुगिन् । त्यहाँ ६ फुट अग्लो व्यक्ति उभिरहेको थियो । उनले ध्यानपूर्वक ती व्यक्तिलाई हेरिन् र थाहा पाइन् कि ती अरु कोही नभएर मुम्बईका सबैभन्दा खतरनाक र खुंखार तस्कर हाजी मस्तान रहेछन् । 

हाजी संगठित अपराधी समूहका नाइके थिए । जसले करिब २ दशक मुम्बई र आसपासका क्षेत्रमा अपराधिक गतिविधि चलाएर तहल्का मच्चाए । उनको निधन् सन् १९९४ मै भइसकेको छ । मानिसहरू सहयोगका निम्ति उनकोमा बिन्ती बिसाउन जान्थे तर उनै व्यक्ति आफैँ रुख्सानाको गाडीमा साबुन लाद्दै गरेको देख्दा कसैले विश्वास गर्न सकिरहेको थिएन । रुख्साना आफँै पनि बोल्न सकिरहेकी थिइनन्, उनको अवस्था देखेर हाजी आफँैले– ‘तपाईं अप्सराजत्तिकै राम्री हुनुहुन्छ, तपाईंजत्तिको सुन्दरीको सेवा गर्न पाउनु मेरालागि अहोभाग्य हो । तपाईं यही क्यामे साबुनको खोजीमा मुम्बईसम्म आइपुग्नुभएको खबर सुनेर म आफैँ साबुनसहित उपस्थित भएको छु’ भन्दै नमस्ते गरी बिदा माग्दै फर्के । रुख्साना अक्क न बक्क भइन् । हाजीलाई धन्यवादसम्म भन्ने आँट गर्न सकिनन् । रुख्साना कति राम्री थिइन् भन्ने यो ज्वलन्त उदाहरण हो । हुन पनि सबैतिर उनैको रूप, कपाल, आँखा, उनले लगाउने सारीको चर्चा हुन्थ्यो । रुख्साना हालै छुरा प्रहारबाट घाइते बनेका हिन्दी चलचित्र अभिनेता सैफ अलि खानकी पूर्व सासू, प्रथम पत्नी अभिनेत्री अमृता सिंहकी आमा र अभिनेत्री सारा अलि खान तथा अभिनेता इब्राहिम अलि खानकी हजुरआमा हुन् । 

कालान्तरमा यति राम्री महिला खुंखार पनि बन्न सक्छिन् भन्ने कुराको कल्पना सायद कसैले गरेका थिए होलान् । हो, प्रधानमन्त्री इन्दिरा गान्धीले लागू गरेको संकटकालको बेला रुख्सानाको नाउँ सुन्ने मात्र पनि डराउँथे । उनी आउँदै गरेको हल्ला फैलिएकै भरमा मानिस घरभित्र लुक्न पुग्थे । ढोका र झ्याल बन्द गर्थे । उनको गाडी जहाँजहाँ पुग्थ्यो त्यहाँ सबैले पसल बन्द गर्थे । त्यसबेला सबैभन्दा शक्तिशाली थिइन् प्रधानमन्त्री इन्दिरा गान्धी । तर, सबैको भनाइ एउटै हुन्थ्यो, उनीभन्दा खतरनाक त कान्छो छोरो सञ्जय गान्धी हुन् । उनै सञ्जयको दाहिने हात बनेपछि रुख्सानाको आतंक त्यसबेला हेर्नलायक बन्न पुगेको थियो । 

इन्दिराले विरोधी दबाउने योजनाअनुरूप सन् १९७५ को जुन २५ देखि भारतमा संकटकाल लागू गरेकी थिइन् भने १९७६ को सेप्टेम्बरमा जनसंख्या नियन्त्रणका नाउँमा नसबन्दी । जबर्जस्ती पुरुषलाई पक्रेर खसी बनाउने उक्त योजना साकार पार्ने जिम्मा भने छोरो सञ्जयको थियो । सञ्जयले यो जिम्मा रुख्सानालाई सुम्पेका थिए । त्यसपछि घरघरमा घुसेर, यात्रा गरिरहेकालाई बसबाट उतारेर र सडकमा हिँडिराखेका पुरुषलाई समात्दै बन्ध्याकरण गर्न लगाइएको थियो । यसरी १ वर्षभित्र देशभरि ६० लाखलाई जबर्जस्ती बन्ध्याकरण गर्न लगाइयो । नसबन्दी योजना त्यसै पनि आतंकपूर्ण त थियो नै, त्यसमाथि रुख्सानाको कदम झन् भयंकर थियो । नाम सुन्नेबित्तिकै डराउने स्थिति पैदा गरेकी थिइन् उनले । हुँदाहुँदा यति धेरै शक्तिशाली बन्न पुगिन् कि इन्दिराले समेत उनीसामु निरीह बन्ने अवस्था पैदा भयो । यो सबै सञ्जयलाई उत्तराधिकारी बनाउने इन्दिराको दुषित मनशायको परिणाम थियो । यहाँसम्म कि कंग्रेसका कतिपय वरिष्ठ नेतागण पनि उनलाई सलाम गर्न विवश थिए । 

फेरि दिल्ली शहरलाई सुन्दर बनाउने सपनाअन्तर्गत सञ्जयले भएभरका सुकुम्बासीको छाप्रो हटाएर वृक्षरोपण गर्ने योजना बनाए । दिल्लीमा यतिधेरै छाप्रा थिए कि एउटा आदेशले हटाउन असम्भव थियो, त्यसमाथि सुकुम्बासीहरु हट्न कदापि तयार थिएनन् । यस्तो स्थितिमा सञ्जयले यो जिम्मा पनि उनै रुख्सानालाई दिए । आदेश पाएपछि के चाहियो ? उनी डोजरको लस्कर लगाएर बस्ती भत्काउन पुगिन् । जनता छाप्रो छाडेर जान तयार नभएपछि प्रहरीलाई लाठीचार्ज गर्न आदेश दिइन् । लाठीचार्जले पनि नसकेपछि गोली चलाउन आदेश दिइन् । नतिजा, दर्जनौं मान्छे मारिए । त्यो दिन त्यत्तिकै भयो । भोलिपल्ट रुख्साना फेरि डोजर लिएर तुर्कमान गेट पुगिन् । अघिल्लो दिन आफ्नै अगाडि परिवारका सदस्य मारिएको कारुणिक दृश्य देखिसकेका जनता त्यो दिन प्रहरीसित मुठभेड गर्न अघि सरेनन् । उनीहरू रुक्ख्सानाको खुट्टा ढोगेर बस्ती खाली नगर्न बिन्ती बिसाउन थाले । स्थानीयको सोचविपरीत रुख्साना उनीहरूको आग्रह मान्न तयार भइन् तर शर्त राखिन् कि हरेक हप्ता त्यस बस्तीका ३ सय पुरुष नसबन्दी गर्न अस्पतालमा उपस्थित हुनु पर्नेछ । स्थानीय यो शर्त मान्न तयार नभएपछि रुख्सानाले एक रातमै लाखौंको घर भत्काइदिइन् । 

रुख्सानाको अत्याचारले सीमा नाघ्दै गएको र सर्वत्र विरोधको खबर सञ्जयले थाहा नपाएका पनि होइनन् तर दिल र दिमागमा रुख्सानाको यस्तो जादु चलिसकेको थियो कि उनी मौन बस्थे । उनी र रुख्सानाको सम्बन्धलाई लिएर पत्नी मेनकाले चर्को विरोध गरिन् तैपनि सञ्जयले कुनै कदम चालेनन् । रुख्सानाकै कारण सञ्जयका नातेदार, सत्तारुढ पार्टीका राजनीतिज्ञ, उनीप्रति बफादार र समर्थक सबै टाढिन थाले । सञ्जयले चालै पाएनन् कि रुख्सानाकै कारण उनी कमजोर बनिसकेका छन्, नतिजा, आमा इन्दिरा र उनको बीचमै कलह शुरु भयो । कतिपयले त यहाँसम्म भन्ने गरेका छन् कि सञ्जयको निधनमा स्वयं इन्दिराको हात थियो । स्मरणीय छ, सञ्जय गान्धीको निधन विमान दुर्घटनामा भएको थियो, सन् १९८० जुन २३ को दिन । त्यसबेला उनी ३३ वर्षका थिए । उनको मृत्युपश्चात् मात्र इन्दिराले जेठो छोरा राजीवलाई राजनीतिमा ल्याएकी हुन् । 

 

टिप्पणीहरू