मैत्रीपूर्ण फुटबलमार्फत चिनियाँ नयाँ वर्ष मनाइँदै

मैत्रीपूर्ण फुटबलमार्फत चिनियाँ नयाँ वर्ष मनाइँदै

नेपाल र मित्रराष्ट्र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा फागुन ३ गते (फेब्रुअरी १५) दुई देशका युवा खेलाडीहरु मैदानमा उत्रिन लागेका हुन् । 

काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगिताको समन्वय राष्ट्रिय खेलकुद परिषद्ले गर्दै छ । प्रतियोगिताबारे जानकारी दिँदै काठमाडौंस्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सीनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन फुटबल आयोजना गरिएको बताए । 

युवाहरुलाई फुटबलप्रति आकर्षण गर्न चिनियाँ नयाँ वर्षको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । आजको पत्रकार सम्मेलनमा बोल्दै ‘चिनियाँहरु एथ्लेटिक्स  राम्रो खेल्छन् भन्ने धेरैलाई थाहा छ’, उनले भने, ‘तर पछिल्लो समय फुटबलप्रति पनि क्रेज बढिरहेको छ, अहिले करोडौं जनताले दैनिक फुटबल खेल हेरिरहेका हुन्छन् ।’

यस पटकको प्रतियोगितामा गत वर्षभन्दा राम्रा खेलाडीहरु नेपाल आउने बताइएको छ । अघिल्लो वर्ष हार व्यहोर्नुपरेको स्मरण गर्दै सीनले थपे, ‘हामीले ५–१ गोल अन्तरले हारेका थियौँ, तर अहिले त्यस्तो हुँदैन । युन्नान प्रान्तकै राम्रा खेलाडी छनोट गरेका छौँ ।’ 

एन्फाका प्रवक्ता सुरेश शाहले प्रतियोगिताबाट दुई देशको ऐतिहासिक सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरेका छन् । गत वर्ष आयोजित प्रतियोगिताले राम्रो प्रतिक्रिया पाएको बताउँदै उनले भने, ‘यस पटक थप व्यवस्थित ढंगले आयोजना हुँदैछ । प्रतियोगिताले खेलाडीलाई मात्रै जोड्दैन, दुई देशको आत्मीयतालाई अझै न्यानो बनाउनेछ ।’

प्रतियोगिताको प्राविधिक पक्ष एन्फाले हेर्ने र मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सांस्कृतिक कार्यक्रमलगायतका पक्ष चिनियाँ दूतावासले हेर्ने सहमति भएको प्रवक्ता शाहले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी ‘नामी’ कम्पनी मुख्य स्पोन्सर रहेको प्रतियोगिताको अनुमानित बजेट ३८ लाख ९० हजार छ । 

प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय टोली बन्द प्रशिक्षणमा रहेको जानकारी दिइएको छ ।  

गत वर्ष फेब्रुअरी ११ मा नेपाल–चीनबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो । २३ वर्षमुनिका खेलाडीहरु सहभागी प्रतियोगितामा चीन ५–१ गोलको अन्तरले पराजित भएको थियो । २३ वर्षपछि दशरथ रंगशालामा फर्किएको चिनियाँ फुटबल टोली र नेपाली टोलीबीचको खेललाई निकै महत्वका साथ हेरिएको छ ।

टिप्पणीहरू