प्रधानमन्त्रीज्यू, इतिहासले तपाईंलाई कसरी सम्झिने !

प्रधानमन्त्रीज्यू, इतिहासले तपाईंलाई कसरी सम्झिने !

तपाईं एमालेको अध्यक्ष मात्र नभई देशको कार्यकारी प्रमुख पनि भएकाले यो पत्र लेख्दै छु । नेपालमा प्रधानमन्त्री पद कहिल्यै स्थायित्व हुन सकेन । ००७ सालपछि कसैले पनि पाँच वर्षे कार्यकाल पूरा गर्न सकेनन् । अहिलेसम्म ४२ जना प्रधानमन्त्री भइसके । राणाशासनबाहेक अरूले सधैँ राजालाई दोष लगाउन पाए । हरेक विषय नारायणहिटी र सिंहदरबारको संयुक्त जिम्मा थियो । तर, गणतन्त्रपछिका प्रधानमन्त्रीहरूलाई त्यो सुविधा पनि रहेन । 

इतिहासले घाउ दिँदै यात्रा गर्‍यो, धेरै खत छाडेर । अंग्रेजहरूको प्रलोभनमा परी सुगौली सन्धि गर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्यायको देशघाती कृत्यले आज पनि पीडा दिइरहेको छ । १९७६ मा श्री ३ महाराज चन्द्रसमशेरले अंग्रेजहरूसँग गरेको शारदा सन्धि महाकाली हुँदै टिंकर–लिपुलेकसम्म पुगिसक्यो । संसदको दुर्ई तिहाइ बहुमतले ४ असोज २०५३ सालमा अनुमोदन गरेको महाकाली सन्धि इतिहासको अर्को नकारात्मक नजिर थियो । त्यो बेला को–को, कुन–कुन कित्तामा उभिए, म यहाँ मनमोहन कमरेडको कुरा गर्दै छैन, इतिहासले नै बताउला ।

तपाईंले पुस ३ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई साक्षी राखेर भन्नुभयो, ‘ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारका मुद्दाले दुवै दललाई अप्ठ्यारो बनाउने भएकाले नयाँ गठबन्धन बनेको हो ।’ सत्य बोल्नुभयो । हो, यसैमा तपाईंलाई इतिहासले सधैँ प्रश्न गरिरहनेछ– सबै गर्न त गर तर लोकतन्त्रका नाममा हैन, आफ्नै नाममा गर । सबै कुरा भ्यू टावरबाट छर्लंग देखिए । तुहिन चिच्याइरहेका छन्, शिलान्यास दौडिरहेको छ । काम फत्ते नहुँदै उद्घाटन हुँदै छन् । अयोध्यापुरीको रामजन्मस्थली, चुलाचुलामा ग्यास, रेल र पानीजहाजका कथा, कथाकारका मीठा रचना बनेकै छन् । जिन्सीमा घुस चले । चोरलाई चौतारी, साधुलाई आलोचक र सुझावदाता आफन्त पनि जोगिएनन् । जय गानका उर्दी चले । पाखुरा सुर्किएर हाकाहाकी भन्न थालियो– के नाप्न सक्छौ, नाप । अड्डा, अदालत, पुलिस प्रशासन हाम्रै हातमा छ । आऊ ....पौंठेजोरी खेल्न ! तिम्रालागि जेलका ढोका खुला छन् । लेख्न, बोल्न खोज्छौ, साइबर कानुन हाजिर छ ।’ 

हो, अहिले न्याय दोहोरो मापदण्डमा चलेको छ । भ्रष्टाचार संस्थागत भइसकेको छ । आफूलाई सत्य सावित गर्ने तर्क उत्पादन गर्न सकिए पनि इतिहासलाई छक्याउन सकिँदैन । देख्नु भा’कै छ एयरपोर्टको भीड, कालापहाड जानेको सीमामा लस्कर, बिना घुस केही काम हुँदैन भन्ने विश्वस्त मतदाता । पानी त सङ्लो र धमिलो मुहानबाटै देखिन्छ । मेरो देशको कार्यकारी प्रमुखले धेरै कुरा बिर्सन चाहनुभए पनि विशेष घटनाले भने तपाईंलाई छायाँझैँ पछ्याइरहनेछ । हो, सपना पक्कै देख्न पाइन्छ, तर दिउँसै कसैले देख्दैन । बहर नांगै भएको हेर्दा लाज नलागे पनि बच्चाले भनिदियो– कुरीकुरी....राजा त नांगै छ । सत्यप्रवक्ता कवि केन सारो बिबाको हत्या गरेर संसारकै महाभ्रष्ट पदबीबाट नाइजेरियन सानी आवाचाले तक्मा लगाएरै बित्यो ।

तुहिन चिच्याइरहेका छन्, शिलान्यास दौडिरहेको छ । काम फत्ते नहुँदै उद्घाटन हुँदै छन् । अयोध्यापुरीको रामजन्मस्थली, चुलाचुलामा ग्यास, रेल र पानीजहाजका कथा, कथाकारका मीठा रचना बनेकै छन् ।

इतिहासको कठघरामा सबैले उभिनुपर्छ । तपाईंभन्दा अगाडिका ४१ जना प्रधानमन्त्रीमध्ये कति जनाबारे आमजनतालाई सम्झना छ ? इतिहासका विद्यार्थीले समेत कति जनालाई स्मरण गर्छन् ? जसले आफैंलाई न्याय गर्न सक्दैन, इतिहासले उसलाई दण्ड दिन्छ । नायक र खलनायक दुवैको इतिहास हुन्छ । तर, दागेस्तानी कवि अबुतालिब भन्छन्, ‘जसले वर्तमानलाई पेस्तोलले आक्रमण गर्छ, उसको भविष्य बमले छियाछिया पार्छ ।’

सबैले आ–आफ्ना इतिहास सम्झिन्छन् । बिर्सनेलाई इतिहासले नै सम्झाउँछ । मृत्युले जीवनको समीक्षा गर्छ । इतिहास जिउँदामा लेखिँदैन, अझ शक्तिमा रहँदा त भजन मात्रै गाउने रागदरवारी भेटिन्छन् । असल मित्र भक्त बन्दैन । तर, तपाईं त सहयोद्धा र सहयात्रीलाई सहज नमान्ने भएकाले आलोचक हुनु भनेको जोखिम उठाउनु हो । सत्ता बज्रन्छ भन्ने नजिर कायम भइसक्यो । तर, कबिर भन्छन्, ‘निंदक नियरे राखिए, आँगन कुटी छवाय, बिन पानी, साबुन बिना, निर्मल करे सुभाय ।’ तर, सम्माननीय प्रधानमन्त्रीज्यू, एक जना पोखरेल थरी पूर्वेली ‘प्राध्यापक एवं डाक्टर’ को ‘अतुलनीय नेतृत्व’ सरकारी प्रवक्ता गोरखापत्रमा लेखेझैँ प्राज्ञिक भीड बनोस् भन्ने चाहनुहुन्छ ।

अहंकारको भय

रोम जल्दा बाँसुरी बजाइरहने निरो होस् या नाजी हिटलरको होलोकाष्ट, इतिहासले नकारात्मक पाटो पनि सुरक्षित राख्छ । शासकहरू सधैँ शक्ति प्रदर्शन गर्छन् तर वास्तवमा उनीहरूभित्र असुरक्षा र भय लुकेको हुन्छ । शक्ति हात परेपछि गुम्ने डरले झन् भयग्रस्त बनाउँछ । धन र शक्ति नै सफलता र प्रतिष्ठाको मापन बनेपछि मानिस सत्तामा टिकिरहन जुनसुकै कदम चाल्न तयार हुन्छ । असुरक्षाको भावना र भविष्यको अनिश्चितताले गर्दा सत्तामै टिकिरहन बढी सम्पत्ति जम्मा गर्न चाहनु भनेको शक्तिहीन भएपछि समाजले वास्ता गर्दैन भन्ने डरले तिकडम गर्न थाल्नु हो । निर्णय थलोमा पुग्ने मौका पाउनेबित्तिकै शक्तिले अरूलाई नियन्त्रण गर्न, आफ्नो इच्छा पूरा गराउन र समाजमा प्रभुत्व जमाउन बढी शक्ति र पैसा खर्च गर्छ । चाहना असीमित हुन्छन्, इच्छाको कुनै सीमा हुँदैन । एउटा पूरा भएपछि अर्को देखिइहाल्छ । ‘अब पुग्यो’ भन्ने विरलै पाइन्छन् । इच्छालाई कुनै उपलब्धिले पनि सन्तोष दिँदैन, लतारिरहन्छ । भित्रबाट खराब भए पनि कसरी राम्रो देखिने ? भन्ने कोसिस गरिरहेका हुन्छन् । त्यसका लागि भाष्यकार तयार गरिन्छ । पापसँग डराएर हैन, जनतालाई भीडमा फेर्न धर्म गरेजस्तो देखिन्छन् !

संसद्को अंकगणितले सबै निर्णयलाई नैतिक वैधता दिन सक्दैन । लोकतन्त्रमा अहंकारको कुनै स्थान हुँदैन । जनताको मत, भावना र उत्तेजनामा खेल्न होइन, देशको मार्गदर्शन गर्नलाई हो । सत्ता टिकाउन छलकपट होइन, आदर्श र नैतिकता मेरो पुस्ताको माग हो । शक्ति र सम्पत्ति सधैं रहँदैनन् तर न्याय, सत्य र इमान्दारीको मूल्य कहिल्यै मेटिँदैन । जनताले कस्तो सम्झनेछन्, त्यो तपाईंको निर्णयमा भर पर्छ । जब देश अधोगतिमा जाँदै थियो, शासकहरू निकम्मा हुँदै थिए । लोकतन्त्र, गणतन्त्रका आवरणमा सबै हुँदै थिए, दलहरू सिद्धान्त र आदर्शहीन थिए... त्यसबेला तँ के गरिरहेको थिइस् ! भनेर मेरा सन्ततीले सोधे भने म मौन थिइनँ भनेर दर्शाउन पनि यो पत्र लेखेको हुँ– सम्माननीय प्रधानमन्त्रीज्यू, इतिहासले तपाईंलाई कसरी सम्झियोस् भन्ने चाहनुहुन्छ ?
 

टिप्पणीहरू