‘कमरेडहरु हिजो र आज’

‘कमरेडहरु हिजो र आज’

‘कमरेडहरु हिजो र आज’ पुस्तक विमोचन गरिएको छ । मालेकालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका दोस्रो पुस्ताका नेकपा एमाले नेता जीवन घिमिरेद्वारा लिखित पुस्तक सभामुख देवराज घिमिरेबाट विमोचन गराइएको छ । भूमिगतकालमा संगत गरेका सक्रिय चार सय जना अगुवाहरुको परिचयसमेत लेखिएको पुस्तक दुई सय पृष्ठमा प्रकाशित छ । 

एमालेको मोरङ जिल्ला इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशको पूर्वसामाजिक विकासमन्त्री घिमिरेले पुस्तकमा वि.सं.२०३६ देखि २०४६ सम्मको पञ्चायतविरोधी भूमिगत आन्दोलनको इतिहासलाई सम्झेका छन् । हिजो विराटनगरमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको पुस्तकमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, तत्कालीन मन्त्रीहरु भरतमोहन अधिकारी, वामदेव गौतम, लालबाबु पण्डित, विद्या भण्डारी, लिला सुब्बा, बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यदेखि काँग्रेसी नेताहरु अशोक कोइरालालगायत चार सय जनाले पञ्चायतविरोधी आन्दोलनमा खेलेको भूमिका उल्लेख छ । 

त्यसैगरी, भूमिगतकालमा सक्रिय प्राध्यापक, शिक्षक, साहित्यकार, संस्कृतिकर्मी, सामाजिक अभियन्ता, राजनीतिक दलका नेता र कार्यकर्ताहरुको परिचय पनि दिइएको छ । गहन राजनीतिक चिन्तन बोकेको र हिजोका परिवर्तनको आन्दोलनमा सशक्त भएर लाग्नेहरुको भूमिका र परिचय समेटिएकाले पुस्तक निकै महत्वपूर्ण भएको बताइएको छ । 

लेखकले प्रजातन्त्र एवम् लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा झापा, मोरङ र सुनसरीमा आफूसँग जोडिएका चार सय पात्रहरुको विवरण पुस्तकमा समेटिएको जानकारी दिए । कार्यक्रममा रेडियोकर्मी चन्द्र भण्डारी, निर्मला कोइराला, प्रा.डा. रमेशप्रसाद भट्टराई, विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गरेका थिए ।

सो अवसरमा एमाले उपाध्यक्ष शाक्यसहित पुस्तकमा उल्लेखित एक दर्जन मुख्य पात्रहरुलाई गरिएको थियो । खोटाङमा जन्मिएर झापा हुँदै हाल मोरङमा सक्रिय राजनीति गरिरहेका नेता घिमिरेको ‘कमरेड हिजो र आज’ पहिलो कृति हो ।

टिप्पणीहरू