झडपपछि वार्ता र संवादको आग्रह

झडपपछि वार्ता र संवादको आग्रह

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिजोको झडपप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको जनाएको छ । 

पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने विषयलाई लिएर हिजो अपरान्ह विरोधी समूह र सुरक्षाकर्मीहरुबीच भएको भिडन्तमा डेढ दर्जन घाइते भएका छन् । झडपमा १३ जना सुरक्षाकर्मी र पाँच जना स्थानीय घाइते भएको प्रशासनको दाबी छ ।  

पाथीभरामा निर्माणाधीन केबलकारको मुक्लुमलुङ संघर्ष समिति र केबलकार खारेजी संघर्ष समितिलगायतले विरोध गर्दै आएका छन् । उनीहरुले केबलकार निर्माण कार्य रोक्न केही दिनअघि मानव अधिकार आयोगलाई ज्ञापनपत्र समेत बुझाएका थिए । 

आयोगले घटनाको कोशी प्रदेश कार्यालयले अनुगमन गरिरहेको जानकारी गराउँदै यसअघि मंसिर २ गतेदेखि ८ गतेसम्म स्थलगत अनुगमन गरी वार्ता र सहमतिपश्चात मात्र निर्माण काम थाल्न सुझाव दिएको पनि स्मरण गराएको छ । 

विकासको अधिकारसँगै नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय अधिकारको संरक्षण र सम्वद्र्धन सुनिश्चिता गर्नु राज्यको दायित्व रहेकाले यसप्रति संवेदनशील हुन ध्यानाकर्षण गराइएको छ । 

‘विकास निर्माणको क्रममा आउनसक्ने यस प्रकारका असहमति र विवादको समयमै पहिचान र सम्बोधन गर्न, विकासमा मानव अधिकारमुखी पद्धतिको अवलम्बन गर्न, झडपको क्रममा घाइते व्यक्तिहरुको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न, एक आपसमा देखिएका विवाद र असहमतिहरुलाई सार्थक वार्ता र संवादको माध्यमबाट समाधान गर्न आयोग नेपाल सरकारलगायत सम्बन्धित पक्षलाई आग्रह गर्दछ । साथै, प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई समेत अनुरोध गर्दछ,’ आयोगले भनेको छ ।

टिप्पणीहरू