किताब काण्डमा लेखकका सपनाको अर्को कोतपर्व

किताब काण्डमा लेखकका सपनाको अर्को कोतपर्व
सुन्नुहोस्

प्रकाशन गृहसँग लेखकहरुको ठूलो सपना जोडिएको हुन्छ । लेखकहरु आफ्नो पुस्तक पाठक र बजारसम्म पुर्याउने रहर बोकेर प्रकाशन गृहको दैलोमा पुगेका हुन्छन् । तर प्रकाशन गृहले सिर्जनामाथि खेलवाड गर्दै लेखकहरुबाट अस्वभाविक रकम असुल गर्न थाले भने हाम्रो पठनीय संस्कृति कस्तो होला ? गम्भीर समीक्षा गर्ने बेला आएको छ । 

हालै चल्तीको एउटा प्रकाशन गृहले एक जना लेखकसँग मोटो रकम हात पारेको विषय सतहमा आएको छ । बुलहिलका सञ्चालक भूपेन्द्र खड्काले लेखक सुनिलकुमार झासँग विभिन्न शर्त राख्दै ६ लाख उठाएका हुन् । 

लेखक झाले गत बैशाखमा आफ्नो पुस्तक ‘देशको पीडा, विदेशको पीर’ प्रकाशनको जिम्मा बुकहिललाई दिएका थिए । त्यतिबेला लेखक झा र बुकहिलका सञ्चालक खड्काबीच कूल पाँच लाख ५० हजारमा पुस्तक प्रकाशन गर्ने सम्झौता भयो । सम्झौताअनुसार झाले शुरुमा ५० प्रतिशत बुझाउने र रकम बुझाएको ४५ दिनभित्र खड्काले पुस्तक प्रकाशन गरिसक्नुपर्ने थियो ।  बाँकी  ५० प्रतिशत पुस्तक प्रकाशन भएपछि बुझाउने सहमति भएको लेखक झाको वक्तव्यमा उल्लेख छ । तर सञ्चालक खड्काले भने ५० प्रतिशत रकम पाएको एक महिनालगत्तै थप ५० हजारसहित पुरा पैसा मागे । खड्काले पुरा पैसा नपाए पुस्तक नछाप्ने अडान लिएको अवगत गराउँदै झाले भनेका छन्, ‘मैले पनि पुस्तक प्रकाशन ढिलो हुने भयले दुई पटक गरेर ६ लाख रुपैयाँको चेक दिएको सत्य हो ।’

खड्काले राम्रो क्वालिटीमा पुस्तक छापिने विश्वास दिलाएपछि आफू उत्साहित भएको झा बताउँछन् । वैशाखको सम्झौताअनुसार साउनसम्ममा पुस्तक हात पर्ने र भदौको पहिलो साता विमोचन गर्ने योजना थियो । अमेरिकामा इन्जिनियरसमेत रहेका झाले योजनामुताबिक पुस्तक विमोचनको लागि धुम्बाराहीस्थित अकामा होटलमा २५ वटा कोठा र हल बुक गरे । तर सञ्चालक खड्काले ४५ दिनमै उपलब्ध गराउनुपर्ने पुस्तक चार महिनासम्म पनि उपलब्ध गराएनन् । त्यसपछि तिहारसम्म भए पनि पुस्तक विमोचन गर्न सकिन्छ कि भनेर झाले सोही होटलमा पुनः कोठा बुकिङ्ग गरे । तर पनि पुस्तक पाएनन् ।  भन्छन्, ‘तिहारमा पनि विमोचन हुने तरिकाले पुस्तक आउनेवाला छैन भन्ने थाहा पाएपछि बुकिङ्ग पुनः क्यान्सिल गरेँ ।’

तिहार सकिएपछि सञ्चालक खड्काले मंसिर पहिलो साता जसरी पनि पुस्तक उपलब्ध गराउने पुनः विश्वास दिलाए । तर लेखक झा पूर्ण विश्वस्त हुन सकेनन् । यद्यपि, मानसिक तनावलाई थाती राख्दै मंसिर १२ गते नेपाल आए र २५ गते पुस्तक विमोचन गर्न तेस्रो पटक तयारी थाले ।  फेरि कोठा बुक गरे । आफ्नो गृह जिल्ला सर्लाही र सिमराबाट आफन्तहरु बोलाए । आफ्ना गुरु,समाजसेवी,साथीभाइ लगायत काठमाडौँ आए । पुस्तक विमोचनकाे संघारमा छाएको उत्साह स्मरण गर्दै भन्छन्, ‘जीवनमा पहिलो पटक मेरा आदर्श व्यक्तित्वको प्रेरणाले लेखिएको किताब निस्कँदै थियो । उक्त पुस्तक मेरो मात्रै होइन, मेरो परिवार र गाउँको अनि साथीभाइहरुको गौरवको विषय थियो ।’

‘धन्न अश्विनी र मुरारी सर साक्षी हुनुहुन्थ्यो र बुकहिलको यो करामत बाहिर आयो । नत्र मैले पैसा लिएकै छैन,कुनै सम्झौता भएकै छैन भनेर लेखक र पाठकलाई मूर्ख बनाउन सक्थे ।’

तर जब सबै पाहुना होटलमा आएर बसे,तब थाहा भयो- पुस्तक त प्रकाशन भएकै छैन । उनको पीडा छ, ‘कार्यक्रमको सबै तयारी पूरा भइसकेको,गाउँ र जिल्लाबाट पाहुना आइसक्नुभएकाले मलाई खपिनसक्नु मानसिक पीडा भयो । वैशाखमा छाप्न दिएको किताब मङ्सिर २५ गते पनि प्राप्त गर्न नसक्ने भएपछि रातभर निद्रा लागेन ।’

पहिलो पुस्तक छाप्ने रहर र प्रकाशन गृहको धोकाधडीले झा बैचन भए । अब के गर्ने, कसो गर्ने भन्ने तनावका बीच आफन्तले सल्लाह दिए, ‘दुई तीन दिनमा पुस्तक छाप्न सकिन्छ’ । त्यसपछि झिनो आशासहित थप आफ्नै खर्चमा रातारात पुस्तक छापे । र,मंसिर २८ गते विमोचन गरे । 

बुकहिलका सञ्चालक खड्काले सम्झौताअनुसार ४५ दिनमा उपलब्ध गराउनुपर्ने पुस्तक झण्डै ८ महिनासम्म पनि उपलब्ध गराएनन् । यसपछि लेखक झाले आफूले भोगेको समस्या साहित्यसम्बन्धी अनलाइन पत्रिका साहित्य पोष्टलाई सुनाए । साहित्य पोष्टले पनि झाले भोग्नुपरेको पीडा अन्य लेखकले भोग्नु नपरोस् भन्ने आशयसहित एउटा संक्षिप्त समाचार प्रकाशित गर्यो । तर सञ्चालक खड्का भने आफ्नो बदमाशी लुकाउन साहित्यपोस्टकै कार्यालयमा धम्की दिन पुगे । 

स्मरण रहोस्, सञ्चालक खड्का आफै पनि गीतकार तथा पुराना सञ्चारकर्मी हुन् । तर आफ्नो पृष्ठभूमिलाई समेत लत्याएर साहित्यपोष्टका कर्मचारीमाथि आक्रामक शैलीमा प्रस्तुत भए । उक्त अनलाइन पत्रिकाका प्रधान सम्पादक अश्विनी कोइराला भन्छन्, ‘त्यो दिन म बाहिर एउटा कार्यक्रममा थिएँ, उहाँ (खड्का) हाम्रो कार्यालयमा गएर मेरा कर्मचारीलाई धम्क्याउनु भएछ ।’

अझ रोचक के छ भने, गत बैशाखमा सञ्चालक खड्का र लेखक झाबीच पुस्तक प्रकाशन गर्ने सम्झौता हुँदा आर्थिक लेनदेनको दुई जना साक्षी थिए । एक- उनै प्रधानसम्पादक कोइराला र अर्को वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी । यदि कोइराला र भण्डारी साक्षी नभइदिएको भए सञ्चालक खड्काकाे यो बदमाशी बाहिर नआउने कतिपयको विश्लेषण छ । एक वरिष्ठ साहित्यकार भन्छन्, ‘धन्न अश्विनी र मुरारी सर साक्षी हुनुहुन्थ्यो र बुकहिलको यो करामत बाहिर आयो । नत्र मैले पैसा लिएकै छैन,कुनै सम्झौता भएकै छैन भनेर लेखक र पाठकलाई मूर्ख बनाउन सक्थे ।’

त्यस्तै अर्को रोचक, यो विषय मिडियामा आएको भोलिपल्टै बुकहिलका सञ्चालक खड्काले लेखक झाको आफन्तलाई पुस्तक उपलब्ध गराएको बताइन्छ । तर आठ महिनासम्म नआएको पुस्तक सञ्चालक खड्काले एक दिनमै कसरी-कहाँबाट ल्याए ? कतै पुस्तक गोदाममा थन्क्याएर लेखकसँग थप रकम असुल्ने योजना त होइन ? पाठकमा प्रश्न उठेको छ । एक चर्चित साहित्यकारको तर्क छ, ‘प्रकाशन संस्थाहरुले पुस्तक तयार भए पनि काम भएको छैन भन्दै पैसा असुल्न यस्तो उपाय अपनाउँछन् ।’

खड्का निकट मानिने अर्का साहित्यकारको तर्क पनि उस्तै छ । भन्छन्, ‘यो बदमाशी अहिले बाहिर आएर राम्रो भयो । बुकहिलले एउटा लेखकलाई मात्रै होइन,दर्जनौँ लेखकलाई लगभग डेढ करोड बुझाउनुपर्ने छ । उसले अहिले नयाँ लेखकहरुलाई लुट्ने धन्दा चलाएको हो । मलाई थाहा भएअनुसार मोहन मैनाली,नवराज लम्साल, सौरभलगायतका केही अग्रज लेखकबाहेक चल्तीका धेरै लेखकलाई पनि उसले बुझाउनुपर्ने रोयल्टी तिरेको छैन । त्यस्ता पीडित लेखकहरु को को हुन्,जान्न इच्छुकले मसँग सम्पर्क राख्नुहोला । बेलिविस्तार लगाइदिन्छु ।’

टिप्पणीहरू