बालेन : चमत्कारी कि तानाशाह ?
- वशिष्ठ शर्मा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साँच्चै नै चमत्कारी नै छन् । बहुदलीय प्रजातन्त्रको अभ्यासमा काठमाडौं जस्तो राजनीतिको चरम भड्खालोमा स्वतन्त्र रुपमा निर्वाचित भए । आफूलाई ठूलो दल भन्नेहरुको हैसियत देखाइदिन जनताले पनि युवा पुस्तालाई नै रोजे । त्यसैको परिणाम बालेनको रजगज काठमाडौंमा जारी छ ।
मुलुकको प्रधानमन्त्री र एउटा स्थानीय तहको मेयरबीच सामाजिक सञ्जालमा टकराव हुने गरेको छ । उनै प्रधानमन्त्रीको दलका उपप्रमुखसहित धेरैजसो अध्यक्ष बालेनको नेतृत्वमा काम गरिरहेका छन् । तर ती सबैलाई निरीह बनाउन सफल भएका छन् बालेन । त्यसकारण पनि उनी चमत्कारी देखिएका हुन् ।
काठमाडौ महानगरपालिकाका वर्तमान मेयर निर्दल एकातिर र काँग्रेस–एमालेबाट निर्वाचित जनप्रतिनिधि (बहुदलीय) अर्कातिर हुन्छन् भन्ने धेरैको अनुमानलाई बालेनले विफल तुल्याइदिएका छन् ।
चाहे त्यो कार्यपालिकाको वैठकमा होस् वा नगरसभा बैठकदेखि १६ औ अधिवेशनसम्म पनि बालेनले दलबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निरीह जनप्रतिनिधिका रुपमा प्रमाणित गरिदिएका छन् ।
उपमेयरदेखि अन्य जनप्रतिनिधिहरुलाई बालेनले यसरी निरीह बनाइदिएकि उनले जस्तो प्रस्ताव राखे पनि मौन रुपमा सर्वसम्मत निर्णय हुने गरेको छ । त्यस्तो चमत्कारी काम गर्न मेयरको महत्वपूर्ण कडी भनेको बैठकलाई सामाजिक सञ्जाल मार्फत् प्रत्यक्ष प्रशारण गर्नु नै हो ।
महानगरपालिकाले बैठकमा उठाएका विषयहरु आमनागरिकसमक्ष पारदर्शी रुपमा प्रस्तुत गर्न प्रत्यक्ष प्रशारण महत्वपूर्ण हुन्छ । तर अन्य जनप्रतिनिधिले बाहिर चर्का कुरा गरे पनि नगरसभा वा कार्यपालिका बैठकमा टुलुटुलु हेरेर ताली ठोक्ने काम मात्रै गरेको प्रत्यक्ष प्रशारणमा देख्न सकिन्छ ।
हिजो काठमाडौं महानगरपालिकाले १६ औं अधिवेशन करिब डेढ घण्टामा सकिएको थियो । विगतको अभ्यासलाई हेर्दा अधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रस्तावहरु छलफलपछि स्वीकृत हुन्थे । तर यस पटकको अधिवेशन ऐतिहासिक भयो । नगरसभा सदस्यहरुले अधिवेशनमा संशोधनका लागि प्रस्तावित विषयहरुमा आफ्ना भनाई राखेपछि विना संशोधन नै पास भएको जस्तै देखियो ।
बालेनले प्रस्ताव पेश गरे, बजेटको संशोधिन विषय उपमेयरले बढेर सुनाइन् । अधिवेशनको अध्यक्ष समेत रहेका मेयरले प्रस्ताव स्वीकृतिका लागि नियमानुसार हुन्छ, हुन्न र तटस्थ भनेर सोधे । हुन्छ, हुन्न, तटस्थमा कुनै आवाज सुनिएन । तर, सम्पूर्ण प्रस्तावमाथि अत्यधिक मतले हुन्छ भन्ने आवाज आएकाले प्रस्ताव स्वीकृत भएको घोषणा उनैले गरे । त्यसपछि सभा बिसर्जन गरेर फुत्तै निस्किए ।
न नगरसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ मेयरले दिए, न जनप्रतिनिधिहरुले आफ्ना मेयरसँग दोहोरो सम्वाद नै गर्न पाए । २६ अर्ब रुपैयाँ बजेट भएको काठमाडौं महानगरपालिकाको सशोधित बजेट विना छलफल बालेनले नगरसभाबाट पास गराइदिए । मानौं उनले जादुको छडी नै देखाइदिए । त्यसैले उनी चमत्कारीका रुपमा स्थापित भए । यस्तो अवस्थामा बालेनलाई चमत्कारी मान्ने की तानाशाह ?
टिप्पणीहरू