मलाई मालपोत हाकिमको कुर्सी किन मन परेन ?

मलाई मालपोत हाकिमको कुर्सी किन मन परेन ?
सुन्नुहोस्

२०७५ सालमा मलाई सरकारले बाराको सिम्रौनगढस्थित मालपोत अधिकृतमा पदस्थापन गर्‍यो । तर, त्यहाँ कार्यालय थिएन । यसरी कार्यालय नै नभएको ठाउँमा सरुवा गरिएपछि रनभुल्लमा परेँ । साथीहरूले भने, ‘रमाना लिएर जानुस्, दुई वर्षको अवधिमा करोड कमाइ हुन्छ ।’ कार्यालय नै नभएको ठाउँमा कहाँ हाजिर हुने भन्दै गुनासो गरेपछि विभागले रोल्पामा ६ महिनाका लागि काज खटायो । त्यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो थियो, देशभर त्रास थियो ।

विभागले रोल्पा पठाएपछि आफ्नो जिल्लामा रहेर सरकारी सेवा गर्न पाउने भएँ भनी मख्ख पर्दै माइक्रो बसको टिकट काटेर बिहानै यात्रा शुरु गरेँ । ०५६ सालमा लोकसेवा पास गरेपछि पहिलो पदस्थापन जिल्ला सिञ्चाइ कार्यालय रसुवामा भएको थियो । त्यस्तै संयोगवश अन्तिम सेवा पनि काठमाडौँ बाहिरको जिल्लामा हुने भयो भनेर सोचेँ । लिबाङस्थित मालपोत कार्यालयमा हाजिर भएको चौथो दिन देशभर लकडाउन शुरु भयो । कार्यालयमा सेवाग्राही नआउने भएपछि म जन्मथलो खुंग्रीस्थित आफ्नै घरमा गएँ । ८४ वर्षीय पिताजीसँग भलाकुसारी गर्दै दिन बिताएँ । तरकारीका लागि चैते बाँको खोज्न वनमा पनि गएँ । भाइसँग गाई चराउन गएँ । प्रकृतिप्रेमी पनि भएको नाताले मलाई गाउँको परिवेश नै बढी मन पर्छ ।

राजधानी काठमाडौँको अत्यासलाग्दो बसाइबाट मुक्ति पाएको महसुस भयो । गाउँले ‘हाम्रै गाउँका मान्छे हाकिम भएर आएकोमा धेरै खुशी लाग्यो’ भने । मलाई पनि गौरव लागेको थियो आफ्नै जिल्लामा रहेर सरकारी सेवा गर्न पाएकोमा । जन्मथलो गाउँकाले मात्र होइन, जिल्लाभरका मानिसले चिन्नथाले । त्यसअघि गाउँकाले समेत चिन्दैनथे । लकडाउनको अवस्था भए पनि मावलीघर जान मन लाग्यो, गएँ । किशोरावस्थामा गाई चराउन गएका वनक्षेत्र खोरिया, मजुवा, पाटेभीरसम्म घुम्न गएँ । वनमा पहिलेझैँ गाई चराउन लैजाने चलन हराइसकेकोमा चिन्ता लागेर आयो । गाई पालेको भए पो गाई चराउनु । अहिले गाउँगाउँमा गाई–भैँसी पाल्न छाडेको देखियो । त्यसमा पनि चिन्तै लाग्यो ।

मापदण्ड पालना गरेर कार्यालय सञ्चालन गर्ने परिपत्र आएपछि जन्मथलो खुंग्रबाट फेरि लागेँ सदरमुकामतिर । बिरामी अवस्थामै थिएँ । भीडभाडमा रहेर कार्य गर्न सक्ने अवस्था थिएन । नासु स्तरका कर्मचारीलाई अधिकार प्रत्यायोजन गरेर स्वास्थ्यको ख्याल गर्दै गएँ । फेरि कार्यालय नै बन्द गर्ने परिपत्र आएपछि धेरै समयसम्म कार्यालय नै खोलिएन । काठमाडौँस्थित अस्पतालमा फलोअपका लागि आउनुपर्ने भयो । कोरोनाको त्रासका बीच सिडिओ कार्यालयको पासका आधारमा एक जना खरिदार साथीले हाँकेको मोटरसाइकलमा लिबाङबाट काठमाडौँ प्रस्थान गरेँ ।

‘मोटरसाइकलमा काठमाडौँसम्म जान त गाह्रो हुन्छ’ भनेकै थिए कतिपयले । तर के गर्नु, समयमा अस्पताल पुग्नु नै थियो । बुटवल पुगेदेखि नै मलाई गाह्रो भइसकेको थियो । राति नौ बजे काठमाडौँ पुग्दा ज्यान थिलथिलो भइसकेको थियो । असारको महिना । वर्षादका कारण शीतल महसुस भएको थियो । अस्पतालमा फलोअपको काम सकिएपछि कार्यक्षेत्र रोल्पा फर्किनु नै थियो । मोटरसाइकलमा जाने हिम्मत भएन र एक जना चिनजानको गाडीमा रातारात भालुबाङसम्म गएँ, त्यहाँ पुग्दा बिहान पाँच बजिसकेको थियो । खरिदार साथी म चढेको गाडीको पछिपछि मोटरसाइकलमा कुदिरहनुभएको थियो । भालुबाङमा गाडीबाट ओर्लिएपछि मोटरसाइकलमा बसालेर रोल्पा लैजानुभयो । 

मालपोत मेरो रुचिको कार्यालय थिएन । मेरा कतिपय साथी मालपोतमा सरुवा भएर जान तँछाडमछाड गरेको पाएको थिएँ । मलाईचाहिँ चोखो सरकारी तलबमा सन्तोष लिने बानी परिसकेको थियो । कार्यालयमा एक जना वृद्धले हजारका नोटका बिटो कोटको भित्री खल्तीबाट झिकेर दिन खोज्नुभयो । मैले भनेँ, ‘यस्तो काम नगर्नुस्, प्रक्रिया मिलाएर आउनुस्, काम भैहाल्छ !’ अर्कोपटक कुनै दिन एक जना पैसावाल व्यवसायीले जग्गा रोक्का राखिदिनका लागि फोन गरे । ‘म सिडिओसापसँग कुरा गर्छु, कार्यालय खोलेर काम गरिदिनुपर्‍यो । हजुरको टिमलाई यस्सो हेरुँला ।’ 

कुरा बुझिहालेँ मलाई घुस ख्वाएर काम गराउन खोजे । २०७९ सालसम्म रोल्पा मालपोत लिबाङमै बस्नुपर्ने थियो । तर, आर्थिक प्रलोभनमा परेर काम गर्न मन लागेन । मालपोतको जागिर मन नपरेपछि भूमि व्यवस्थापन विभागमा काज राखिदिन निवेदन पठाएँ । विभागले छ महिना काजमा राख्यो, कामचाहिँ दिइएको थिएन । २०७७ चैतदेखि २०७८ असोजसम्म विभागमा हाजिर गरेर बसेँ । २०७८ असोजमा खेलकुद मन्त्रालयमा सरुवा मागेँ, उक्त मन्त्रालय सबैभन्दा कमजोर मन्त्रालयमा गनिन्छ । प्रशासनले मन्त्रीको निजी सचिवालयमा खटायो, स्वकीय सचिवले मसँग घरिघरि निहुँ मात्र खोज्न थाले । उनले मेरो कुर्सी टेबुल नै कब्जा गरे ।

दुई महिना बिदा बसेँ र २०७९ असार २३ गतेदेखि अनिवार्य अवकाश लिएँ । मलाई मालपोत हाकिमको कुर्सी अप्रिय लाग्नुका कारण त माथि नै उल्लेख गरिसकेँ । नेपालमा कुशासनको अन्त्य हुनेमा शंका नै छ । यहाँ फटाहाहरूको जगजगी छ । लुच्चाहरूको बिगबिगी छ । 

टिप्पणीहरू