रविको बचाउमा प्रचण्ड, गृहमन्त्री रुष्ट
गृहमन्त्री रमेश लेखकले रवि लामिछानेबारे पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको छ । प्रहरी अनुसन्धानमा रहेका आरोपितको पक्षमा बोलेको भन्दै उहाँ प्रचण्डप्रति असन्तुष्ट हुनुभएको हो ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछानेमाथि हिरासतमा अमानवीय व्यवहार गरिएको भन्दै प्रचण्डले हिजो सरकारलाई तत्काल यस्ता काम रोक्न सचेत गराउनुभएको थियो । यसलाई गृहमन्त्री लेखकले जिम्मेवार नेताबाट आएको दुर्भाग्यपूर्ण अभिव्यक्तिको संज्ञा दिनुभयो ।
'कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोलेको कुरा बेठिक हो, यसमा प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झन् दुर्भाग्यपूर्ण हो’, उहाँको गुनासो छ ।
गृहमन्त्री लेखकले लामिछानेलाई हिरासतमा अभद्र व्यवहार नगरेको दावी पनि गर्नुभएको छ । बरु रास्वपाका कार्यकर्ताले न्यायिक प्रक्रिया बिथोल्न खोजेको भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो,‘अनुसन्धान हुँदै गर्दा प्रहरी, वकिल कार्यालय र अदालत घेरा हाल्ने, सडकमा आएर विधिको शासनलाई उल्लंघन गर्ने काम भइरहेको छ । के यो सही हो त ?’
लामिछानेलाई मङ्सिर २० गते राति चितवनबाट पोखरा लैजाँदा प्रहरीले झ्याङ्गलझुङ्गल पारेको रास्वपाका नेताहरुको दावी छ । आफ्ना सभापतिमाथि राज्यले अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार गरेको भन्दै रास्वपाका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीसमेत परेको छ ।
सहकारी ठगीको आरोपमा २ कात्तिकमा पक्राउ परेका लामिछानेविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान चलिरहेको छ । कास्की, काठमाडौं, रुपन्देही र चितवनमा बयान दिइसकेका उनलाई हिजो पर्सा लगिएको छ । त्यहाँस्थित सानोपाइला सहकारी संस्थाको बचत हिनामिनामा मुछिएका लामिछानेको आज जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको छ ।
यता, प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले आज गृहजिल्ला चितवनबाट पनि रविको बचाउमा धारणा राख्नुभएको छ ।
टिप्पणीहरू