काँग्रेसी निर्णय : मौखिकमा स्वीकार्य, लिखितमा अस्वीकार्य
नेपाली काँग्रेसले चीनसँग हालै हस्ताक्षर गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को ‘अपरेसन फ्रेमवर्क’ बारे आफ्नो धारणा सार्वजनिक गर्दै पुनः अनुदानमा जोड दिएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीआरआई परियोजना अनुदानमा मात्रै अघि बढाउने अवस्थामा मात्रै आफूहरुलाई मान्य हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
महतले भनेका छन्, ‘बीआरआई अन्तर्गतको परियोजनाहरू सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्विकारिन्छ । एड फाइनान्सिङ भन्नाले ऋणमात्रै नभएर अनुदान समेत हुने भएकाले अनुदानमात्रै स्विकार्ने हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन भएको छैन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको गत साता भएको चीनको औपचारिक भ्रमणको क्रममा बीआरआई कार्यान्वयनबारे सहमति भएको हो । त्यसअघि अनुदानको प्रसंग उठाएको नेपाली काँग्रेसले प्रधानमन्त्रीको भ्रमणपछि बीआरआई कार्यान्वयन सहमतिप्रति सकारात्मक टिप्पणी गरेको थियो ।
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र गृहमन्त्री रमेश लेखकले अस्ति शनिबार नेपाली काँग्रेसको सहमतिमा बीआरआईमा हस्ताक्षर भएको बताउनुभएको थियो । विराटनगरमा आयोजित पार्टीको कार्यक्रममा सभापति शेरबहादुर देउवाले पनि सहमतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको थियो ।
तर, सोही विषयमा काँग्रेसभित्रै फरक धारणा आइरहेको अवस्थामा आजको बैठकले उक्त निर्णय गरेको हो । प्रवक्ता महतले बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ उल्लेख गरिएकाले त्यसभित्र अनुदान हुने बताउनुभयो । भन्नुभयो, ‘बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा पुनः सहमति आवश्यक पर्ने भएकाले त्यसबेला नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्नेछ ।’
टिप्पणीहरू