नेताको नजर परेपछि मन्त्री हुने चलन बसेकोमा चिन्ता
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री बन्न कुनै अनुभव र योग्यता नचाहिने गलत परम्परा स्थापित भएको बताउनुभएको छ ।
चलचित्रकर्मी परिचयपत्र वितरण गर्न काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । नेताको नजरमा परेपछि योग्यताबिनै मन्त्री बनाउने प्रवृत्तिले सही पात्र छनोट हुन नसकेको र त्यसले देश विकासमा बाधा पुर्याएको मन्त्री गुरुङको भनाई छ ।
'हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईंहरुले जिताइदिएपछि पुगिहाल्यो । मन्त्रालय चलाउन यति क्वालिफिकेशन,अनुभव, योग्यता चाहिन्छ भन्ने कुरा केही पनि छैन', असन्तुष्टि जनाउँदै भन्नुभयो, 'चुनाव जितेर आएपछि पार्टी र नेताले मन पराए भइहाल्यो । हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन ।'
त्यस्तै, उहाँले लोकरिझ्याँईको राजनीति पनि गलत भएको बताउनुभएको छ । समाज ढोंगी बनिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले जे बोल्दा तत्काल ताली बज्छ त्यही बोल्नेक्रम विकास हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ जस्ता लोकरिझ्याईका अभिव्यक्ति दिनु नहुनेमा उहाँले जोड दिनुभयो ।
टिप्पणीहरू