भक्तपुरमा पाँच दिने महोत्सव

भक्तपुरमा पाँच दिने महोत्सव

भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्धेश्यले पाँच दिने महोत्सव आयोजना गरिने भएको छ । 

भक्तपुर नगरपालिकाले मङ्सिर २८ देखि पुस २ गतेसम्म महोत्सव गर्न लागेको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी नगरको आर्थिक विकासमा योगदान पुर्याउनु महोत्सवको प्रमुख उद्देश्य रहेको जानकारी दिएको छ ।

महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न डेढ करोड बजेट विनियोजन गरेको जानकारी दिदैँ मेयर सुनिल प्रजापतिले ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताए । महोत्सवमार्फत भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार, जीवनशैलीबारे प्रचारप्रसार गरी व्यवसायीकरणका लागि आवश्यक सहजीकरण गर्ने योजना रहेको उनको भनाइ छ । 

नगरपालिकाले २०५४ सालदेखि भक्तपुर महोत्सव आयोजना गर्दै आएको छ । तर, २०७६ मा आएको कोरोना महामारीले आर्थिक संकट निम्तिएको भन्दै त्यसयता स्थगित हुँदै आएको महोत्सव यस वर्ष सञ्चालन गर्न लागिएको हो । 

महोत्सवको लोगो र स्टिकर नेपाल भाषा, नेपाली भाषा र अंग्रेजी गरी तीन वटा भाषामा प्रकाशन गरिएको छ । यस्तै, ३२ वटा विधामा नगर क्षेत्रभित्रका ८० स्थानमा महोत्सव सञ्चालन हुने नगरपालिकाले जानकारी दिएको छ ।
 

टिप्पणीहरू