फणीन्द्रको मुद्दा राउत श्रीमानले हेर्ने, चौंथो नम्बरमा पेशी
गण्डकी प्रदेशका पदमुक्त सांसद फणीन्द्र देवकोटाले माओवादी केन्द्रको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट पेशी चढेको छ ।
माओवादी केन्द्रले आफूमाथि गरेको कारबाही बदर गर्न माग गर्दै उनले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको हो । न्यायाधीश राउतको १ नम्बर इजलासमा मुद्दा पेशी सूचिको चौंथो नम्बरमा परेको छ ।
माओवादीको चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका नेता देवकोटाले माओवादीको ह्वीप उल्लंघन गरी गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि कारबाहीमा परेका हुन् । तर, देवकोटाले भने आफू अर्कै पार्टीको नेता भएकाले चुनाव चिन्ह लिँदैमा माओवादीको संसदीय दलको सदस्य नरहने जिकिर गर्दै आएका छन् ।
सो तर्कका आधारमा उनी माओवादीले गरेको कारवाहीको निर्णयविरुद्ध अदालत पुगेका हुन् । देवकोटाले प्रदेशसभा सभामुख कृष्ण धिताल, माओवादी केन्द्र गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमानलगायतलाई विपक्षी बनाएका छन्।
टिप्पणीहरू