त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ र निर्वाचन समिति कार्यालयमा ताल्चा
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय र निर्वाचन समिति कार्यालयमा ताल्चा लगाएको छ । विधानबमोजिम प्रतिनिधि छनौट नगरिएको र गैरमतदाताबाट त्रिवि प्राध्यापक संघको निर्वाचन गराउन लागिएको आरोप लगाउँदै तालाबन्दी गरिएको संघले जनाएको छ ।
तालाबन्दी संघका महासचिव राजेन्द्र गौतमको नेतृत्वमा भएको हो । संघले भनेको छ, ‘त्रिवि प्राध्यापक संघको राष्ट्रिय अधिवेशन प्रतिनिधि समानुपातिक सिद्धान्तअनुरुप एकलसंक्रमणीय मत सिद्धान्तका आधारमा निर्वाचन गरी पठाएको सम्बद्ध क्याम्पसको निर्वाचन समितिको पत्र नभएको जवाफ दिएकाले यथास्थितिमा संघको राष्ट्रिय अधिवेशन प्रतिनिधिको वैद्य नामावली र छनौट प्रक्रिया विवादित देखिएकाले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन नसकिने भएकाले त्रिवि प्राध्यापक संघ, निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।’

संघको निर्वाचन भोलि र पर्सि हुने निर्वाचन कार्यतालिका छ । हिजो मात्र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालसहित छ वटा प्राध्यापक संघ संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्राध्यापक संघको निर्वाचनमा सहभागी भई आफ्नो प्रतिनिधि छनौट गर्न सम्पूर्ण प्राध्यापकलाई अपिल गरेका थिए ।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल प्रगतिशील प्राध्यापक संगठन, एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपाल, लोकतान्त्रिक प्राध्यापक संघ, राष्ट्रिय प्राध्यापक संगठन र समाजवादी प्राध्यापक संघले संयुक्त रुपमा विज्ञप्ति निकालेका थिए ।
जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘लोकतान्त्रिक विधि र प्रक्रियामार्फत निर्वाचन होस् र वर्तमान समस्याको समाधान गर्ने नेतृत्व छनौट गर्न सकियोस् भन्ने भावनाका साथ यही असार ७ र ८ गते आयोजना गरिएको त्रिवि प्राध्यापक संघको निर्वाचनमा सक्रिय सहभागिताका साथ आफ्नो प्रतिनिधि छनौट गर्न सम्पूर्ण प्रतिनिधि प्राध्यापकहरुलाई अपिल गर्दछौं ।’
टिप्पणीहरू