८ कक्षाकाे नतिजामा नगरपालिकाका हाकिमको चलखेल

८ कक्षाकाे नतिजामा नगरपालिकाका हाकिमको चलखेल
सुन्नुहोस्

बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा शाखाद्वारा सञ्चालित कक्षा ८ को नतिजा प्रकाशनमा चलखेल भएको पाइएको छ । शाखाका प्रमुखसहितको संलग्नतामा अनियमितता भएको तथ्य खुलेको छ । 

नगरपालिकाले गठन गरेको छानबिन समितिले उक्त खुलासा गरेको छ । अनियमितता गर्नेमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । योसँगै नतिजा प्रकाशनमा चलखेल गर्ने कर्मचारी, निजी विद्यालयका सञ्चालक, शिक्षकहरु कारबाहीमा पर्ने बताइएको छ ।

शिक्षा शाखाका प्रमुख रामबहादुर हमाल, परीक्षा शाखा अधिकृत रविलाल मिजारसहितका कर्मचारीलाई कारबाही गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार उनीहरुले मिलेमतोमा नतिजामा गडबडी गरेको पाइएको हो । 

उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढिसकेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए । समितिले अस्ति सोमबार छानबिन तथा जाँचबुझ समितिको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन सार्वजनिकरणमा नगरप्रमुख आचार्यसहित उपप्रमुख संगीता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललगायत उपस्थित थिए । 

नगरपालिकाले गत चैत २ देखि ९ गतेसम्म आठ कक्षाको परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा सहभागी हुन सामुदायिक र संस्थागत गरी ५२ वटा विद्यालयका दुई हजार ८६४ विद्यार्थीले फारम भरेका थिए । गत चैत २३ गते परीक्षाको नतिजा सार्वजनिक गरियो । 
एक हजार ७८ विद्यार्थी उत्तीर्ण भएकामध्ये संस्थागततर्फ ६९ दशमलव ८७ र सामुदायिकतर्फ १४ दशमलव ८० प्रतिशत रहेको बताइएको छ । उक्त नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले सार्वजनिक रुपमै विरोध जनाएका थिए । 

त्यसपछि नगरपालिकाले गत चैत २५ गते वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ एवम् छानबिन समिति गठन गरेको हो । सदस्यमा नेपाल शिक्षक महासंघ, कोहलपुरका प्रतिनिधि रामप्रसाद आचार्य, क्रिसा कोहलपुरका प्रतिनिधि बिएल भारती, ज्ञानज्योति मावि चप्परगौडीका प्रधानाध्यापक सुमित्रा न्यौपाने र सदस्य सचिवको रुपमा नगर प्रहरी प्रमुख वीरबहादुर थापा थिए । 

उक्त समितिले १३ दिन लगाएर प्रतिवेदन तयार पारेको हो । वैशाख ७ गते प्रतिवेदन बुझाइएको छ । समितिले दिएका तथ्यहरु, छानबिनका क्रममा भेटिएका त्रुटिसहित प्राप्त रायको आधारमा नगरपालिकाको बोर्ड बैठकले अनियमिततामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।  

प्रतिवेदनमा शिक्षा शाखा प्रमुख हमाल, अधिकृत मिजार, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिकाइ सहजकर्ता रोमिना खत्री, नगर शिक्षा प्राविधिक सहायक कर्मचारी बलबहादुर नेपाली, कार्यालय सहयोगी भरत थारुले आफ्नो पदीय जिम्मेवारीअनुसार काम नगरेको भन्दै कारबाही गर्न सुझाइएको छ । 

त्यसैगरी, कोहलपुर सिटी एकेडेमीका सञ्चालक प्रशान्त रिजाल, शिक्षक डम्बरबहादुर खत्री, पञ्चमुखी इङ्गलिस मिडियम स्कुलकी शिक्षिका आशा देवकोटा र रबिन बम, ब्राइट लाइट एकेडेमीका शिक्षक कुवर ढकाल, वेष्टर्न इङ्गलिस मिडियम सेकेण्डरी स्कुलका शिक्षक उमेश केसीले प्रचलित कानुन, शिक्षा ऐन र नियमावलीविपरीत काम गरेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा एकेडेमीका सञ्चालक रिजालको निर्देशन र नगरपालिकाको परीक्षा शाखा प्रमुखको मिलेमतोमा नगर शिक्षा शाखाबाट आफ्नो विद्यालयका चार जना विद्यार्थीको छ थान उत्तरपुस्तिका लगेको भनिएको छ । उक्त सक्कल उत्तरपुस्तिका हटाएर नक्कली उत्तरपुस्तिका तयार पारिएको समितिको ठहर छ ।  

यस कार्यमा एकेडेमीका रिजालसहित आभासविक्रम क्षेत्री, शिक्षण सहजकर्ता रोमिना खत्री, बालविकास शिक्षिका राधिका मल्ल, तारा चन्द, कोहलपुर सिटीका शिक्षक हिरा केसीलगायत दोषी देखिएका छन् ।

टिप्पणीहरू