शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन भर्ने म्याद एक महिना

शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन भर्ने म्याद एक महिना
सुन्नुहोस्

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकहरुलाई कार्यसम्पादन मूल्याङ्कन फाराम भरेर बुझाउन निर्देशन दिएको छ । शैक्षिक सत्र शुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरेर पठाउनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै आयोगले फाराम सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउन भनेको छ ।

सम्पूर्ण सामुदायिक विद्यालयलाई गरिएको परिपत्रमा आयोगले सबै शिक्षकलाई अनिवार्य कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न आग्रह गरेको छ । कार्यसम्पादन मूल्याङ्कन शिक्षकको वृत्तिविकासको वस्तुगत आधार भएको आयोगले जनाएको छ । 

‘शिक्षकले कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने काम आफ्नो कार्यसम्पादनको स्तर मापन गर्ने विषय मात्र नभई सम्बन्धित विद्यालय तथा शैक्षिक निकायका लागि बढुवा तथा तालिमलगायतका शिक्षकको अन्य वृत्तिविकासका लागि सम्बन्धमा निर्णय गर्ने वस्तुगत आधार पनि हो’, पत्रमा भनिएको छ, ‘त्यसैले कार्यसम्पादन फाराममा विवरण भरी समयमै विद्यालयमा दर्ता गरी सुपरीवेक्षकसमक्ष पेश गर्ने दायित्व सम्बन्धित जिम्मेवार पदाधिकारीको पनि हुन्छ ।’

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २८ मा शिक्षकको कार्यसम्पादनमा आधारित बढुवाका लागि बढीमा एक सय अंक प्राप्त गर्ने आधारहरु निर्धारित छन् । जसमा कार्यसम्पादन मूल्याङ्नबापत ३५ अंक दिइने गरिएको छ ।

टिप्पणीहरू