उता पेट्रोल खोतल्ने काम धमाधम

उता पेट्रोल खोतल्ने काम धमाधम
सुन्नुहोस्

एकातिर लगानी सम्मेलनको चहलपहल, अर्कोतिर पेट्रोलियम पदार्थको अन्वेषण धमाधम । मुलुकमा लगानी  भित्र्याउनका लागि सरकारले विभिन्न मुलुकबाट पाहुना भित्र्याइरहँदा उता गुपचुप दैलेखमा मुलुकको कायापलट गर्ने भनिएको आयोजनाको कामले तीव्रता लिएको छ ।

कोरोना महामारी, सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहणसम्बन्धी विवादका कारण ‘कछुवा गति’ मा अघि बढेको आयोजनाले बल्ल ‘ट्रयाक’ समातेको छ । अबको केही समयमै ‘ड्रिलिङ’ को काम शुरु हुने सरकारी अधिकारीहरूको भनाइ छ । भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको काम धमाधम अघि बढेको छ । त्यसनिम्ति चीनबाट उच्च तहको प्राविधिक टोली आइसकेको छ । 

केही चिनियाँ ६–७ महिनाअगावै आएर त्यहाँ बसिरहेको खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण प्रमुख दिनेशकुमार नापितले बताए । तिनलाई सघाउन उच्च तहको प्राविधिक टोली केही समयअघि आएको जानकारी दिए । उनका अनुसार सामान पनि लगभग पुगिसकेको छ । 

‘ड्रिलिङ’ का लागि क्याम्प लगाउने, ठाउँ सम्याउने, बाटो निर्माणलगायतका काम भइरहेको छ । अब छिट्टै ‘ड्रिलिङ’ को काम थालिने नापित बताउँछन् । हाल फिल्डमा २१ जना चिनियाँ छन् । इञ्जिनियर, मजदुर र अनुगमन टोली गरेर त्यति पुगेको हो । 
तीन चरणमा सम्पन्न हुने गरी काम अघि बढेको विभागले जनाएको छ । नेपालगञ्जमा लामो समय अड्केर बसेको ‘ड्रिलिङ मेसिन’ बल्लतल्ल अन्वेषणस्थल पुर्‍याइएको विभागले जानकारी दिएको छ ।

कूल ४० जना चिनियाँमध्ये आधा आइसकेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनका अनुसार चार हजार किलोमिटरसम्मको गहिराइमा ड्रिल गरिनेछ । ‘ड्रिल मेसिन इन्स्टल भएर काम अघि बढिसकेको छ । ४० मध्ये आधा चिनियाँ आइसक्नुभएको छ । नेपाली प्राविधिक पनि सपोर्टिभ भूमिकामा हुनुहुन्छ,’ उनले भने । 

त्यस्तै, सो स्थानको सुरक्षाका लागि सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) को कमाण्डमा १५ जनाको टोली खटाइएको उनले जानकारी दिए । छिटोछरितो काम सक्नका लागि आठ वटा प्वाइन्ट बनाइएको छ । गाउँपालिका अध्यक्ष रिताकुमारी शाहीले जग्गाको समस्या समाधान भएर अन्तिम चरणको काम शुरु भएको जनाइन् । भनिन्, ‘यहाँबाट प्लास्टिक पेट्रोल र ग्यासको अन्वेषण हुने भनिएको छ । नेपाल सरकार र चिनियाँ सरकारको साझेदारीमा भएको काम अन्तिम चरणमा पुगेको छ ।’

कसरी शुरु भयो खोजी ? 

विभागले पेट्रोलियम खानीको प्रारम्भिक अन्वेषण थालेको लामो समय भइसकेको छ तर यसबारे विस्तृत अनुसन्धान भने हुन सकेको थिएन । मुलुककै ऐतिहासिक चिनारी दैलेखका शीरस्थान, नाभिस्थान, धुलेश्वर, पादुकालगायत क्षेत्रमा सदिऔंदेखि निरन्तर ज्वाला बलिरहेको छ । विभिन्न स्थानमा पानीमाथि समेत आगो बल्छ । 

त्यहाँका स्थानीयले त्यसलाई दैवी शक्तिको चमत्कार मानेर पुज्दै आएका थिए । यद्यपि, ती दीप प्राकृतिक ग्यासबाट बलेको पुष्टि भइसकेको छ । पानीमाथि पनि आगो बल्ने भएकाले त्यहाँ पेट्रोलियम खानी रहेको हुनसक्ने चिनियाँ प्राविधिक टोलीले जनाएको छ । सदिऔंदेखि निरन्तर अखण्ड दीप बलिरहे पनि त्यतातिर कसैको ध्यान जान सकेको थिएन । जब भारतले नेपालमाथि नाकाबन्दी लगायो, त्यसपछि मात्र पेट्रोलियम पदार्थको खोजी हुन थाल्यो । 

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम ०७६ साल असारदेखि शुरु भएको हो । विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोलीले त्यतिबेलै दैलेख पुगेर अध्ययन गरेको थियो । तर, कोरोना महामारीका कारण बीचमा काम रोकियो ।

हाल काम सुचारु भइसकेको छ । ‘ड्रिलिङ’ को काम सम्पन्न भएपछि मात्रै त्यहाँ पेट्रोल भए–नभएको र भए कति परिमाणमा रहेको भन्ने थाहा हुन्छ । उक्त स्थानमा पेट्रोलियम पदार्थ भेटेमा समग्र मुलुककै अनुहार फेरिने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ खरिदका नाममा बर्सेनि बिदेसिने अर्बौं रकम मुलुकमै रहनेछ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू